अन्तर्राष्ट्रिय

इंग्ल्यान्ड माथि पाकिस्तानको पाँच रनको रोमान्चक जित

Published

on

तेश्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी खेलमा घरेलु टोली इंग्ल्यान्ड माथि पाँच रनको रोमान्चक जित दर्ता गर्दै पाकिस्तानले शृंखला बराबरी गरेको छ ।

शृंखलामा १-० ले पछि रहेको पाकिस्तानले आजको खेलमा जित दर्ता गरेसँगै शृंखला १-१ को बराबरीमा सकिएको हो । पहिलो खेल वर्षाले प्रभावित भएको थियो भने दोश्रो खेलमा इंग्ल्यान्डले पाँच विकेटको जित दर्ता गरेको थियो ।

जितका लागि १९१ रनको विशाल लक्ष्य लिएर ब्याटिङमा आएको इंग्ल्यान्डले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा मात्र १८५ रन बनाउन सक्यो ।

इंग्ल्यान्डको तर्फबाट मोइन अलीले ३३ बलमा समान ४-४ चौका र छक्का प्रहार गर्दै सर्वाधिक ६१ रन बनाए भने ओपनर टम बान्टनले ३१ बलमा ४६ रनको पारी खेले ।

अलिले पाँचौं विकेटका लागि साम बिलिङ्ग्ससँग मिलेर ३९ बलमा ५७ तथा लेविस ग्रेगोरीसँग मिलेर छैठौं विकेटका लागि २१ बलमा ४४ रन जोड्दै इंग्ल्यान्डलाई जित नजिक पुर्याए । तर आठ बलको अन्तरालमा अली सहित तीन विकेट गुमाए पछि इंग्ल्यान्ड जितबाट बन्चित भएको हो ।

पाकिस्तानको तर्फबाट वाहब रियाज र शाहिन शाह अफ्रिदीले समान २-२ विकेट हात पारे ।

यस अघि खेलमा टस हरेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १९० रन बनायो ।

पाकिस्तानको तर्फबाट चौथों नम्बरमा ब्याटिङ गर्न आएका हफिजले आक्रमक पारी खेल्दै ५२ बलमा अविजित ८६ रन बनाए । यस क्रममा उनले चार चौका र छ छक्का प्रहार गरे ।हफिजको जारी शृंखलामा लगातार दोश्रो अर्धशतक हो । उनले दोश्रो खेलमा ३६ बलमा ६९ रनको तुफानी पारी खेलेका थिए । हफिज खेलको म्यान अफ द म्याचका साथ साथै प्लेयर अफ द सिरिज पनि चुनिए ।

पाकिस्तानले ओपनरद्वय फकार जमान (तीन बलमा एक रन) र बाबर आजम (१८ बलमा २१ रन) लाई गुमाएर खराब सुरुवात गर्यो । तर त्यस पछि आएका हैदर अली र मोहम्मद हफिजले १० दशमलब एक ओभरमा १०० रनको साझेदारी गर्दै पाकिस्तानको पारी सम्हाले ।

आजको खेलमा ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलमा डेब्यु गरेका हैदर अलीले पनि ५४ रनको पारी खेले । क्रिस जोर्डनको बलमा आउट हुनु अघि तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका हैदर अलीले ३३ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । त्यस्तै शदाब खानले पनि १५ रनको पारी खेले भने इमाद वासिम छ रनमा अविजित रहे ।

Click to comment

Trending