अन्तर्राष्ट्रिय

१० बर्ष पछि इंग्ल्यान्डलाई पाकिस्तान विरुद्धको टेस्ट शृंखला 

Published

on

इंग्ल्यान्डले १० बर्ष पछि पाकिस्तान विरुद्धको टेस्ट शृंखला माथि कब्जा जमाएको छ । तेश्रो टेस्ट बराबरीमा सकिए पछि इंग्ल्यान्डले तीन टेस्टको शृंखला १-० ले हात पारेको हो । इंग्ल्यान्डले पछिल्लो पटक सन् २०१० मा पाकिस्तान विरुद्धको टेस्ट शृंखला जितेको थियो ।

पहिलो टेस्टमा तीन विकेटको रोमान्चक जित दर्ता गराएको इंग्ल्यान्डले तेश्रो टेस्ट पनि जित्ने अवसर हुँदाहुँदै वर्षा बाधक बन्दा ड्रमा सकिएको हो । दुई देश बीचको दोश्रो टेस्ट पनि बराबरीमा टुंगिएको थियो ।

अन्तिम दिनको खेलमा इंग्ल्यान्डलाई जित निकाल्न आठ विकेट आवस्यक रहे पनि लगातारको वर्षाका कारण पुरै दिनको खेल हुन सकेन जसका कारण खेल बराबरीमा सकिन गयो ।

दुई विकेटको नोक्सानीमा १०० रनको अवस्थाबाट अन्तिम दिनको खेल सुरु गरेको पाकिस्तानले चार विकेटको नोक्सानीमा १८७ रन बनाएको अवस्थामा खेल रोकिन पुगेको हो ।

पाकिस्तानको दोश्रो पारीमा बाबर आजमले अविजित रहँदै ६३ रन बनाए भने कप्तान अजर अली ३१ तथा अशद शफिक २१ रनमा पेभेलियन फर्किए । त्यस्तै ओपनरद्वय शान मसूद र अबिद अली क्रमश १८ र ४२ रन बनाएर आउट भए ।

इंग्ल्यान्डका जेम्स एन्डरसनले दुई विकेट हात पारे । यससँगै एन्डरसन टेस्ट क्रिकेटमा ६०० विकेट पुरा गर्ने पहिलो तिब्र गतिका बलर पनि बन्न सफल भए ।

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले आठ विकेटको नोक्सानीमा ५८३ रन बनाएर आफ्नो पारी सकिएको घोषणा गरेको थियो ।

खराब सुरुवात गरे पनि इंग्ल्यान्डको पारी सम्हाल्दै क्रली र बटलरले पाँचौं विकेटका लागि ३५९ रनको साझेदारी गरे र इंग्ल्यान्डलाई बलियो अवस्थामा पनि पुर्याए । क्रलीले ३९३ बलको सामना गर्दै ३४ चौका र एक छक्काको मद्धतमा सर्वाधिक २६७ रन जोडे भने बटलरले पनि ३११ बलमा १३ चौका र दुई छक्काको मद्धतमा १५२ रनको विशाल पारी खेले ।

छ रन बनाएका ओपनर रोरी बर्न्सलाई शाहिन शाह अफ्रिदीले आउट पार्दै पाकिस्तानको लागि राम्रो सुरुवात दिएका थिए । त्यस पछि अर्का ओपनर डोम सिब्ली (२२ रन) र ओली पप (तीन रन) को विकेट याशिर शाह तथा २९ रन बनाएका कप्तान जो रुटको नसिम शाहको शिकार भए पछि इंग्ल्यान्डले खराब सुरुवात गर्यो ।

पाकिस्तानका याशिर शाह, शाहिन शाह अफ्रिदी र फवाद आलमले समान २-२ विकेट हात पारे ।

इंग्ल्यान्डले पहिलो पारीमा बनाएको ५८३ रन पक्ष्याएको पाकिस्तानले आफ्नो पहिलो पारीमा सबै विकेट गुमाएर मात्र २७३ रन बनाउन सक्यो भने इंग्ल्यान्ड भन्दा ३१० रनले पछि रह्यो ।

पाकिस्तानको लागि कप्तान अजर अली र विकेट किपर मोहम्मद रिजवानले छैठौं विकेटका लागि १३८ रन जोड्दै पारी सम्हाल्ने प्रयास गरे । तर ११३ बलको सामना गर्दै ५३ रन बनाएका रिजवान क्रिस वक्सको सिकार भए ।

सुरुवात देखि नै एक छोडबाट लगातार रुपमा पाकिस्तानी ब्याट्सम्यानहरु आउट भए पनि कप्तान अजर अलीले अर्को छोड सम्हालेर राखिरहे । २७२ बलको सामना गर्दै २१ चौकाको मद्धतमा अविजित १४१ रन बनाए पनि कप्तान अजर अलीले आफ्नो टोलीलाई फलोअनबाट भने जोगाउन सकेनन् ।

पाकिस्तानको पारी ध्वस्त बनाउने क्रममा जेम्स एन्डरसनले सर्वाधिक पाँच विकेट लिए भने स्टुवार्ट ब्रोडले पनि आफ्नो नाममा दुई विकेट हात पारे । २३ ओभर बलिङ गरेका एन्डरसनले ५६ रन खर्चिए ।

एन्डरसन टेस्टमा ६ सय विकेट लिने पहिलो फास्ट बलर

इंग्ल्यान्डका तिब्र गतिका बलर जेम्स एन्डरसन टेस्ट क्रिकेटमा छ सय विकेट लिने पहिलो फास्ट बलर बनेका छन् ।
पाकिस्तान विरुद्ध जारी तेश्रो टेस्टको दोश्रो पारीमा कप्तान अजर अलीको विकेट लिंदै आफ्नो छ सयौं विकेट लिएका हुन् ।

यस अघि अघि ५९३ विकेटमा रहेका एन्डरसनले पहिलो पारीमा पाँच विकेट र दोश्रो पारीमा दुई विकेट हात पार्दै टेस्टमा ६००औं विकेट पुरा गरे । एन्डरसनले आफ्नो १५६औं टेस्टमा ६०० विकेट पुरा गरेका हुन् ।

३८ बर्षिया एन्डरसन टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने बलरहरुमा भने चौथों स्थानमा रहेका छन् । एन्डरसन भन्दा अघि श्रीलंकाका अफ स्पिनर मुथैया मुरलिथरन, अस्ट्रेलियाका लेग स्पिनर शेन वार्न र भारतका लेग स्पिनर अनिल कुम्बले ।

टेस्ट क्रिकेट सबैभन्दा धेरै विकेट लिने बलर हुन् मुरलिथरन । मुरलिथरन १३३ टेस्टमा ८०० विकेट लिएका छन् भने वार्नले १४५ टेस्टमा ७०८ विकेट हात पारेका छन् । त्यस्तै एन्डरसन भन्दा १९ विकेटले अघि रहेका कुम्बलेको नाममा १३२ टेस्टमा ६१९ विकेट छ ।

यस्तै पहिलो पारीमा पाँच विकेट लिए पछि एन्डरसनले तिब्र गतिका बलरहरु मध्य सर्वाधिक पाँच विकेट हल लिने किर्तिमानको पनि बराबरी गरेका छन् । एन्डरसन र अस्ट्रेलियाका पुर्व तिब्र गतिका बलर ग्लेन मेग्रा दुबैले २९-२९ पटक टेस्टको एक पारीमा पाँच विकेट लिएका छन् ।

Click to comment

Trending