अन्तर्राष्ट्रिय

पाकिस्तान फलोअनमा, इंग्ल्यान्ड जित तर्फ उन्मुख

Published

on

पाकिस्तान विरुद्धको तेश्रो तथा अन्तिम टेस्टको तेश्रो दिनको खेलको समाप्तीमा इंग्ल्यान्ड जित तर्फ उन्मुख भएको छ ।

इंग्ल्यान्डले पहिलो पारीमा बनाएको ५८३ रन पक्ष्याएको पाकिस्तानले आफ्नो पहिलो पारीमा सबै विकेट गुमाएर मात्र २७३ रन बनाउन सक्यो र अझै इंग्ल्यान्ड भन्दा ३१० रनले पछि रहेको छ ।

इंग्ल्यान्डले पाकिस्तानलाई फलोअनका लागि भने पनि तेश्रो दिनको समाप्तीमा पाकिस्तानले खराब प्रकाशका कारण दोश्रो पारी सुरु गर्न सकेन । पाकिस्तानले अब टेस्ट ड्र गर्नका लागि कम्तीमा पनि दुई दिन ब्याटिङ गर्न पर्ने हुन्छ ।

तेश्रो दिनको खेल तीन विकेटको नोक्सानीमा २४ रनबाट सुरु गरेको पाकिस्तानले २४९ रन जोड्दै आफ्नो बाँकी सात विकेट गुमायो ।

तेश्रो दिनको खेलमा पनि खराब ब्याटिङ जारी रक्दै पाकिस्तानले ७५ रनको अवस्थामा पाँच विकेट गुमाए पनि कप्तान अजर अली र विकेट किपर मोहम्मद रिजवानले छैठौं विकेटका लागि १३८ रन जोड्दै पारी सम्हाल्ने प्रयास गरे । तर ११३ बलको सामना गर्दै ५३ रन बनाएका रिजवान क्रिस वक्सको सिकार भए ।

सुरुवात देखि नै एक छोडबाट लगातार रुपमा पाकिस्तानी ब्याट्सम्यानहरु आउट भए पनि कप्तान अजर अलीले अर्को छोड सम्हालेर राखिरहे । २७२ बलको सामना गर्दै २१ चौकाको मद्धतमा अविजित १४१ रन बनाए पनि कप्तान अजर अलीले आफ्नो टोलीलाई फलोअनबाट भने जोगाउन सकेनन् ।

पाकिस्तानको पारी ध्वस्त बनाउने क्रममा जेम्स एन्डरसनले सर्वाधिक पाँच विकेट लिए भने स्टुवार्ट ब्रोडले पनि आफ्नो नाममा दुई विकेट हात पारे । २३ ओभर बलिङ गरेका एन्डरसनले ५६ रन खर्चिए ।

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले आठ विकेटको नोक्सानीमा ५८३ रन बनाएर आफ्नो पारी सकिएको घोषणा गरेको थियो ।

पहिलो दिनको खेलको समाप्तीमा ९० ओभर खेल्दै चार विकेटको नोक्सानीमा ३३२ रन बनाएको इंग्ल्यान्डले दोश्रो दिन ६४ दशमलब चार ओभर खेल्दै २५१ रन जोडेको हो ।

खराब सुरुवात गरे पनि इंग्ल्यान्डको पारी सम्हाल्दै क्रली र बटलरले पाँचौं विकेटका लागि ३५९ रनको साझेदारी गरे र इंग्ल्यान्डलाई बलियो अवस्थामा पनि पुर्याए । क्रलीले ३९३ बलको सामना गर्दै ३४ चौका र एक छक्काको मद्धतमा सर्वाधिक २६७ रन जोडे भने बटलरले पनि ३११ बलमा १३ चौका र दुई छक्काको मद्धतमा १५२ रनको विशाल पारी खेले ।

छ रन बनाएका ओपनर रोरी बर्न्सलाई शाहिन शाह अफ्रिदीले आउट पार्दै पाकिस्तानको लागि राम्रो सुरुवात दिएका थिए । त्यस पछि अर्का ओपनर डोम सिब्ली (२२ रन) र ओली पप (तीन रन) को विकेट याशिर शाह तथा २९ रन बनाएका कप्तान जो रुटको नसिम शाहको शिकार भए पछि इंग्ल्यान्डले खराब सुरुवात गर्यो ।

पाकिस्तानका याशिर शाह, शाहिन शाह अफ्रिदी र फवाद आलमले समान २-२ विकेट हात पारे ।

तीन टेस्ट म्याचको शृंखलामा इंग्ल्यान्ड १-० ले अघि रहेको छ । पहिलो टेस्ट इंग्ल्यान्डले तीन विकेटले जितेको थियो भने दोश्रो टेस्टमा बर्षा बाधक हुँदा खेल बराबरीमा सकिएको थियो ।

Click to comment

Trending