Headline

एक पुस्ताको अन्तरः लेवान्डोस्की र एमबाप्पे आमने–सामने

Published

on

किलियन एमबाप्पेले आफ्नो करिअर शुरु गर्दा रोबर्ट लेवान्डोस्कीले खेलेको एक दशक नाघिसकेको थियो । युवा फ्रेञ्च खेलाडीले डेब्यु गर्दा बायर्न म्युनिख तथा पोल्याण्ड स्ट्राइकर लेवान्डोस्कीले १ सय भन्दा बढी गोल गरिसकेका थिए । लेवान्डोस्कीले पाँच वटा जर्मन बुन्डेसलिगाको उपाधि उचाल्दा एमबाप्पे मोनाकोबाट आफ्नो पहिलो व्यवसायिक लिगको उपाधि चुम्दै थिए ।

३२ बर्षिय लेवान्डोस्की र २१ बर्षिय पेरिस सेन्ट जर्माइन (पिएसजी) बीच एक पुस्ताको अन्तर रहेको छ तर आइतबार यी दुई खेलाडी च्याम्पियन्स लिगको उपाधिका लागि एक आपसमा भिड्दैछन् । फाइनलमा दुवैको लक्ष्य एकै हुनेछ –– पहिलो पटक युरोपको सबैभन्दा प्रतिष्ठित क्बल फुटबल प्रतियोगिताको उपाधि जित्ने ।

उपाधि जितेको खण्डमा लेवान्डोस्की आफ्नो नवौं प्रयासमा सफल हुनेछन् भने एमबाप्पे चौथोमा ।

आइतबार रातिको खेलमा लेवान्डोस्कीलाई अर्को मौका पनि छ –– पोर्चुगिज सुपर स्टार क्रिष्चियानो रोनाल्डोले २०१३–२०१४ सिजनमा च्याम्पियन्स लिगमा सर्वाधिक १७ गोलको किर्तिमान तोड्ने । आइतबार फाइनल शुरु हुनुअघि लेवान्डोस्की ९ खेलमा १५ गोलमा हुनेछन् । उनलाई ह्याट्रिकको आवश्यकता छ ।

“लेवान्डोस्की पेनाल्टी एरियामा सबैको लागि खतरा रहेको भन्ने तथ्य यो सिजन मात्र थाहा भएको होइन । मेरो लागि उनी बिश्वकै उत्कृष्ट सेन्टर फर्वार्ड हुन्,” बायर्न प्रशिक्षक ह्यान्सी फ्लिकले भने । “म फाइनलमा के हुन गइरहेको छ भनेर हेर्नको लागि निकै आतुर छु र आशा गर्छु उनले पेरिसबिरुद्ध पनि गोल गर्नेछन् ।”

रोनाल्डो र डच फर्वार्ड रुड भान निस्टलरोयपछि लेवान्डोस्की लगातार ९ च्याम्यिन्स लिग खेलहरुमा गोल गर्ने तेश्रो खेलाडी हुन् । समुह चरणमा सर्बियन क्लब रेड स्टार बेलग्रेडबिरुद्ध उनले १५ मिनेटको अन्तरमा गरेको चार गोल च्याम्पियन्स लिग इतिहासमै सबैभन्दा छिटो गरिएको चार गोल हो ।

बायर्नको लागि ५० सहित च्याम्पियन्स लिगमा कुल ६८ गोल गरेका लेवान्डोस्की रोनाल्डो (१३०), लियोनल मेस्सी (११५) र राउल गोन्जालेज (७१) भन्दा पछाडी रहेका छन् । २०१३ को फाइनलमा बायर्न म्युनिखसँगको च्याम्पियन्स लिग फाइनलमा २–१ ले पराजित हुदा लेवान्डोस्की अर्को जर्मन क्लब बोरुसिया डर्टमण्डबाट खेल्ने गर्थे । उनले त्यही सिजज सेमिफाइनलमा चार गोल गर्दै प्रतियोगिताको इतिहासमा त्यसो गर्ने पहिलो खेलाडी भएका थिए ।

बायर्नले २०१३ यता च्याम्पियन्स लिगको उपाधि जितेको छैन । २०१४ मा बायर्न आएपछि उनले तीन पटक सेमिफाइनल खेलेका हुन् तर जर्मन महारथीसँग पहिलो पटक फाइनल खेलिरहेका छन् ।

२०१६–१७ को सिजनमा फ्रेञ्च क्लब मोनाकोले अचम्मको प्रदर्शन गर्दा एमबाप्पेले सेमिफाइनल खेलेका थिए । त्यसपछि पिएसजी आए पछिको लगातार दुई सिजन उनको टोली अन्तिम १६ बाटै बाहिरिएको थियो । यो महिना क्वार्टर–फाइनल खेल्ने क्रममा उनी घुँडाको चोटबाट पूर्ण रुपमा मुक्त भइसकेका थिएनन्, र अहिले फिट छन् । पाँच गोलसहित एमबाप्पे माउरो इकाडीसँगै टोलीको संयुक्त सर्वाधिक गोल स्कोरर हुन् ।

तर एमबाप्पेमात्रै नभएर अन्य कुनै पनि फर्वार्ड लेवान्डोस्कीको नजिक पनि पुग्न सकेका छैनन् । च्याम्पियन्स लिगको प्रत्येक खेलमा पाँच सटको औषत राखेका लेवान्डोस्कीले हरेक तेश्रो सटमा गोल गरेका छन् । यसबाहेक उनले हरेक खेलमा दुईको औषतमा गोल गर्ने अवसर बनाएका छन् ।

तर लेवान्डोस्की र एमबाप्पेका लागि आइतबारको भिडन्त आफ्नो क्लबको लागि जित्नेसँग मात्र मतलब हुनेछ ।

Click to comment

Trending