Headline

स्पेन र रियलले धुत्कारेका लोपेतेगी सेभियाका युरोपियन च्याम्पियन

Published

on

२०१८ रसिया विश्वकप शुरु हुनु केही दिन अघि युलियन लोपेतेगीलाई स्पेनको राष्ट्रिय टोलीबाट बर्खास्त गरिएको थियो । तर त्यसको दुई बर्ष नबित्दै उनले सेभियालाई छैटौ युरोपा लिगको उपाधि जिताउदै आफ्नो प्रतिष्ठालाई फर्काएका छन् ।

सेभियाको यो सफलता युरोपको दोश्रो स्तरको प्रतियोगितामा नौलो होइन । तर २०१६ पछि फेरी युरोपा लिग जित्ने क्रममा सेभियाले ला लिगामा तीन  सिजन लगातार शिर्ष चारमा सक्काएको छ। यसको मुख्य हकदार लोपेतेगी नै हुन् । लोपेतेगी यस्ता प्रशिक्षक हुन्

जसलाई दुई बर्ष अघि एक महिनाको निकै सकसपूर्ण समयबाट गुज्रन पर्दा उनको प्रशिक्षण जीवन सक्किएको सबैले अनुमान लगाएका थिए । पुर्व रियल म्याड्रिड र बार्सिलोनाका गोलरक्षकको काँधमा रुसमा भएको २०१८ को विश्वकप अगाडि स्पेनलाई २००८ देखी २०१२ सम्म तीन प्रतियोगिता जिताएको ‘गोल्डेन जेनेरेसन’ पछि अर्को सुनौलो पुस्ता बनाउने जिम्मेवारी रहेको थियो ।

लोपेतेगीले त्यो छनक नदेखाएका होइनन् । अर्जेन्टिना, इटाली, बेल्जियम र फ्रान्स माथिको प्रभावशाली जित सहित लोपेतेगीको स्पेन लगातार २० खेलमा अपराजित रहेको थियो ।

तर विश्वकपको केही दिन अघि रियल म्याड्रिडमा जिदानको स्थानका लागि आएको प्रस्तव उनले स्वीकार गरे । उनी आफैले गरेको एक निर्णय र स्पेनिस फुटबलको राजनीतिको चेपुवामा पर्दा उनले ठुलो मुल्य चुकाउनु पर्‍यो। उनी बर्खास्तीमा परे।

स्पेनको विश्वकपमा पोर्चुगल बिरुद्धको पहिलो खेलको दुई दिन अगाडि रिसाएका स्पेनिस फेडेरेशनका अध्यक्ष लुइस रुबिएल्सले उनलाई बर्खास्त गरे । यो निर्णयले कुनै पक्षलाई फाईदा भएन, न लोपेतेगीलाई न त स्पेनिस टोलीलाई नै ।

रुसले स्पेनलाई अन्तिम १६ मा पेनाल्टीमा हराएको एक दिन पछि सान्टियागो बर्नेबेउमा रियलले लोपेतेगीलाई  प्रस्तुत गरेको थियो । कारण थियो लोपेतेगी स्पेनमा खलनायकको रुपमा हेरिन थालिएका थिए । उनले म्याड्रिडको बागडोर सम्हाल्न लिएको निर्णयले झनै गलत दिशा लिन पुग्यो ।

१४ खेलमा मात्र रियल म्याड्रिडको ‘टच-लाइन’ मा बसेका लोपेतेगीलाई अक्टोबरको अन्तिम साता फेरी बर्खास्त गरियो । उनले पाँच महिनामा दोश्रो पटक जागिर गुमाएका थिए ।

 

उनलाई सेभियाले विश्वासका साथ नयाँ कामको प्रस्ताव गर्‍यो । त्यसमा पनि ठुलो जोखिम थियो । सेभियाका खेल निर्देशकका रुपमा पुनरागमन गरेका पुर्व स्पेनिस फुटबलर मोन्ची क्लबमा परिवर्तन ल्याउने संघारमा थिए। मोन्चीको परिवर्तनकारी हतियार भए लोपेतेगी र शुरु भयो सिजनको अन्त्यमा खेलाडी र कर्मचारीहरुको कारोबार ।

सेभियाले २०१९ को सिजन १७ नयाँ खेलाडी भित्र्याएको थियो भने २८ जनालाई बेचेको थियो ।

क्लब छोडेर जानेहरु मध्ये थिए सेभियाका शिर्ष गोलकर्ता विसम बेन येडर र पाब्लो साराबिया । उनीहरुको स्थानमा लुकास ओकमपोस र मुनिर अल हद्ददी आए । र यि दुवै खेलाडीले यस सिजन गोल संख्यामा दोहोरो अंक छोएर आफुलाई साबित गरे ।

लोपेतेगीले सेभियालाई निकै बलियो बनाएका छन् । कोरोना भाईरसका कारण फुटबल ठप्प हुनु अघि सेभियाले खेलेको २० खेलमा कुनैमा पनि हार बेहोरेको थिएन । ला लिगामा यस सिजन अन्य टोलीमा रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडले मात्र राम्रो डेफेन्सिभ रेकर्ड राखेका छन् ।

सेभियाले युरोपाको नकआउट चरणमा एक गोल मात्र खाएको थियो । सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडले पेनाल्टीमार्फत सेभिया बिरुद्ध गोल गरेको थियो। जर्मनी आइपुगेदेखि रोमा, उल्भ्स र म्यानचेस्टर युनाइटेड बिरूद्ध तीन नाकआउट खेलमा एक गोल मात्र खादा सेभियाले सबै खेल जितेको थियो ।

“तपाईले प्रशिक्षकलाई राम्ररि नचिन्दासम्म सधै शंका हुने गर्छ,” मोन्चीले भने । “लोपेतेगीले मलाई खुशी मात्र होइन आश्चर्यचकित पनि परेका छन् । सबैले उनी धेरै राम्रा प्रशिक्षक हुन भन्ने गर्थे र उनले मलाई त्यो कुरा देखाइ सकेका  छन् । त्यसैले म उनीसँग काम गर्न पाउँदा खुसी छु।”

लोपेतेगीको टोली युरोपा लिगमा निकै बलियो देखिएको थियो । सेमिफाइनलमा पनि ठुलो बजेटको टोली म्यानचेस्टर युनाइटेडले सेभियालाई हराउन सकेन । लगातार तीन सेमिफाइनल र सेभियासँग २-१ ले पराजित हुँदै युनाइटेड घर फर्कियो ।

जर्मनीको कोलोनको खाली रङशालामा दर्शक नभए पनि सेभियालाई निकै ठुलो समर्थन थियो । खेलको पुरै समय मौन रहेको म्यानचेस्टर युनाइटेडको बेन्च र बैकल्पिक खेलाडी, निर्देशकहरू र कर्मचारीहरूले भरिएको सेभियाको बेन्चमा उत्साहको फरक थियो ।

फाइनलमा पनि इन्टरलाई ३-२ ले हराउदा सेभियाको बेन्च कहिले शान्त भएन। सेभियामा निकै उर्जा देखिन्थ्यो ।

“हामीलाई थाहा छ कि हामीले आफ्नै बलियो र ठूलो समर्थन सृजना गरेका छौं,” खेलाडीले दिएको प्रोत्साहनको बारे लोपेतेगिले भने ।

“यो सिजन हाम्रो लागि गार्हो थियो तर सुन्दर पनि ।”

Click to comment

Trending