Headline

कतार (पिएसजी) भर्सेस रेड बुल (लाइपजिग): २१ औं शताब्दीको च्याम्पियन्स लिग सेमिफाइनल

Published

on

मङ्गलवार पेरिस सेन्ट जर्माइन (पिएसजी) अथवा आरबी लाइपजिग इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्नेछन् तर यी दुई टोली सेमिफाइनलमा भिड्दा धेरै फुटबल समर्थकहरुका लागि चासोको बिषय नबन्न सक्छ ।

गत साता युरोपियन फुटबलको सबैभन्दा ठूलो प्रतिस्पर्धा (च्याम्पियन्स लिग) को भविष्य बारे बोल्दा युएफा अध्यक्ष एलेक्जेण्डर केफेरिनले फुटबल दुई दशक अघि त धेरै परको कुरा हो पछिल्लो एक दशकमै पूर्ण रुपमा फरक पाएको बताए । उनले बिशेषगरि म्यानचेस्टर सिटीले आफूमाथि लागेको दुई बर्षे प्रतिबन्धको बिरुद्ध जितेको अपिलका कारण फाइनान्सियल फेयर प्ले नियम परिवर्तन गर्नुपर्नेमा बोल्दै थिए ।

तर केफेरिनले भन्न चाहेको कुरा फाइनान्सियल फेयर प्लेको नियम परिवर्तन बाहेक अरु पनि केही थियो ।

१० बर्ष अघि इन्टर मिलानले बायर्न म्युनिखलाई फाइनलमा हराउदै च्याम्पियन्स लिगको उपाधि जितेको थियो । बायर्नले सेमिफाइनलमा फ्रेञ्च क्लब लायोनलाई हराएको थियो । यी दुई टोली एक पटक फेरि सेमिफाइनलमा भिड्दैछन् ।

यस क्रममा लायोनले म्यानचेस्टर सिटीलाई स्तब्ध पारेको थियो । अबु धाबीको कम्पनिले क्लब टेक ओभर गरेको १२ बर्ष भइसक्दा पनि सिटी फाइनल प्रवेश गर्न असफल भएको छ ।

१० बर्षअघि नै पिएसजीले फ्रेञ्च कप जित्यो तर फ्रान्सको प्रथम श्रेणीको फुटबल लिग वानमा भने १३ औं भएको थियो । उनीहरु कतै नगइरहेको जस्तो देखिन्थ्यो । त्यही समय लाइपजिग जर्मनीको चौथो श्रेणीमा बढुवा भयो ।

२०११ मा कतार स्पोर्ट्स इन्भेस्टमेन्ट्सले टेक ओभर गरेपछि पिएसजीले फ्रान्सको हरेक प्रतिस्पर्धालाई झण्डै एकतर्फि बनाएको छ । पछिल्लो ८ बर्षमा पिएसजीले सात पटक लिग वानको उपाधि जितिसकेको छ ।

बिश्व किर्तिमानी ट्रान्सफर

पिएसजीले नेमार र किलियन एमबाप्पेलाई बिश्व किर्तिमानी ट्रान्सफर रकममा २०१७ मा क्लब भित्र्यायो तर यति गर्दा पनि उनीहरुलाई च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गर्न यत्रो समय लाग्नु अचम्म नै हो । पिएसजी २५ बर्षपछि पहिलो पटक सेमिफाइनल खेल्न गइरहेको छ ।

“यो हाम्रो लागि निकै बिशेष छ । हामी पहिलो पटक सेमिफाइनल खेल्न गइरहेको छौं र यो क्लबको लागि इतिहास हो,” एट्लान्टालाई क्वार्टर–फाइनलमा हराएपछि पिएसजीका अध्यक्ष नासेर अल–खिलाफीले भने । उनले पहिलो पटक भन्दा १९९५ को सेमिफाइनलमा हारेको पिएसजी अर्कै थियो भन्ने आभाष दिन्छ ।

धेरै मानेमा यो हो पनि ।

डेलाइट्स फुटबल मनि लिगका अनुसार पिएसजी अहिले संसारकै पाचौं धनी फुटबल क्लब हो । २०१८–१९ मा उनीहरुको राजस्व ७ सय ५३ मिलियन डलर रहेको थियो ।

१९७० मा मात्र स्थापना भएकोले पारम्परिक बन्न नसकेको भन्दै अन्य क्लबका समर्थहरुले पिएसजीलाई उडाउने पनि गर्दछन् । यद्दपि पिएसजी लाइपजिग भन्दा पुरानो क्लब रहेको तथ्य नकार्न सकिदैन ।

घृणित लाइपजिग

लाइपजिग जर्मनीमा २००९ मा स्थापना भएको क्लब हो । बिश्व प्रशिद्ध एनर्जी ड्रिंक रेड बुलले पाचौं श्रेणीको सानो टोली एसएसभी मारक्रनस्टाडको लाइसन्स किनेपछि त्यसलाई राजेनबलस्पोर्ट लाइपजिग नामाकरण गरिएको थियो ।

‘राजेनबलस्पोर्ट’ लन बल खेलकुदको जर्मन नाम हो । यो खेल कुनै समय ओलम्पिक्समा पनि समावेश हुने गथ्र्यो । क्लबको नामसँग स्पोन्सरको नाम जोड्न नपाउने जर्मन फुटबल लिग (डिएफएल) को नियम रहेकाले यो नाम रोजिएको हो । राजेनको ‘आर’ र बलको ‘बी’ मात्र प्रयोग गर्दा यसले रेड बुललाई इंगित गर्ने देखिन्छ ।

रेड बुलको लागोमा जस्तै दुई साँढे जुधेको चित्र लाइपजिगको लोगोमा रहेकोले ‘आरबी’ ले रेडबुल नै भन्न खोजेको छ ।

एक मात्र संस्था वा व्यक्तिले कुनै पनि क्लबको सबै शेयर आफ्नो नियन्त्रणमा राख्न नपाउने डिएफएलको ‘फिफ्टी प्लस वान’ नियम अनुसार चल्न नै रेड बुलले अनेक उपाय अपनाएको छ । अष्ट्रियन अरबपति डाइट्रिख मेस्सिजले स्थापना गरेको रेड बुलको नाममा लाइपजिगको ४९ प्रतिशत शेयर रहेको छ भने बाकी ५१ प्रतिशत कम्पनीको कर्मचारीहरुको नाममा रहेको छ ।

२०१६ मा बुन्डेसलिगामा आफ्नो डेब्यु गर्नु अघि नै लाइपजिगलाई अन्य क्लबका समर्थकहरुले घृणा गर्ने गर्थे । एक म्याचका दौरान डाइनामो ड्रेस्डेनका समर्थकहरुले काटिएको साँढेको टाउको फाल्दै लाइपजिगप्रति निकै निम्न स्तरमा आफ्नो घृणा व्यक्त गरेका थिए । यो घट्नापछि ड्रेस्डेनलाई ६० हजार युरोको जरिवाना समेत तिराइएको थियो ।

क्लबमा स्वामित्वको संरचनाको बिरोध गर्दै बोरुसिया डर्टमण्डका समर्थकहरुले लाइपजिगबिरुद्धका खेलहरु पनि बहिस्कार गर्ने गरेका थिए ।

पिएसजी बिपरित लाइपजिगको फुटबल मोडलले भने नयाँ खेलाडी भित्र्याउने र युवा खेलाडीहरुको बिकासमा जोड दिदै आएको छ । एक जर्मन फुटबल म्यागजिनले भने लाइपजिगको एट्लेटिको म्याड्रिड माथिको क्वार्टर फाइनल जितले सेमिफाइनल प्रवेशलाई महत्व नदिने सम्म लेखिदिएको थियो ।

आरबी लाइपजिग बिशुद्ध मार्केटिङ्ग प्रोजेक्ट हो । यसको स्थापनाको एक मात्र कारण रेड बुल ब्राण्डलाई बलियो बनाउनु हो, क्लबलाई देखाउने दात भन्दै उक्त म्यागजिनले लेखेको थियो ।

रेड बुलको स्वामित्वमा यसै सिजन च्याम्पियन्स लिग खेलेको अष्ट्रियन क्लब साल्जबर्ग, अमेरिकाको मेजर लिग सकरको न्युयोर्क रेड बुल्स र रेड बुल ब्रागान्टिनो रहेको छ । ब्रागान्टिनो यसै सिजन ब्राजिलको माथिल्लो श्रेणीमा बढुवा भएको फुटबल क्लब हो ।

तर आरबीले कम्तिमा भएपनि लाइपजिगको फुटबलमा प्राप्त सफलताहरुलाई फेरि व्युताइदिएको छ । पुरानो इस्ट जर्मनीको ठूलो क्लब लोकोमोटिभ लाइपजिग १९७४ को च्याम्पियन्स लिग सेमिफाइनलिस्ट थियो भने १९८७ मा विनर्स कपको उपबिजेता पनि रहेको थियो ।

पिएसजी र लाइपजिग च्याम्पियन्स लिगको फाइनलबाट मात्र एक कदमको दुरीमा रहेका छन् तर मैदानमा भने तटस्थ समर्थकहरु निकै न्युन रहनेछन ।

Click to comment

Trending