Headline

दुई खेलमा देशको प्रतिनिधित्व गर्ने १० क्रिकेट खेलाडी

Published

on

कुनै पनि खेलाडीलाई आफ्नो देशको लागि प्रतिनिधित्व गर्ने सपना र रहर हुन्छ । कतिपय खेलाडीहरू राष्ट्रिय स्तरमै सिमित हुन्छन् भने कतिपयले अन्तर्राष्ट्रिय स्तरमा पनि देशको लागि खेल्ने सौभाग्य प्राप्त गर्दछन् । धेरै खेलाडीहरूले एकै समयमा दुई खेल खेले पनि एउटालाई प्राथमिकता दिने गर्दछन् भने अर्कोलाई हबीका रुपमा लिन्छन् । तर यस्ता पनि खेलाडी हुन्छन् जो दुबै खेलमा उत्तिकै उत्कृष्ट हुनुको साथै देशका लागि दुबै खेल खेलका छन् ।

आज हामी यस्तै १० क्रिकेट खेलाडीको चर्चा गर्दैछौ जो क्रिकेटको साथसाथै अन्य खेल खेल्दै आफ्नो देशको प्रतिनिधित्व गर्न सफल भएका थिए ।

१. कपिल देव (भारत)

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान कपिल देवले सन् १९८३ मा भारतलाई पहिलो विश्वकप जिताएका थिए । उनले क्रिकेटबाट सन्यास लिए पछि गल्फ खेल्न शुरु गरे र भारतको प्रतिनिधित्व गर्दै सन् २०१८ को एसिया प्यासिफिक गल्फमा सहभागित जनाएका थिए । तर उनको गल्फ करिअर भने धेरै लामो जान सकेन, कारण थियो क्रिकेटमै भिजेका कपिल देव क्रिकेट पण्डित र कमेन्टेटेरको रुपमा टिभिमा बढी देखिएका थिए ।

२. विभ रिचर्ड्स (वेस्ट इन्डिज)

विव रिचर्ड्स विश्व क्रिकेटले पाएको उत्कृष्ट ब्याट्सम्यान मध्ये एक हुन् । उनी मात्र यस्ता खेलाडी हुन् जसले क्रिकेट र फुटबलको विश्वकपमा आफ्नो देशको लागि खेलेका छन् । टेस्ट र एकदिवसीय गरेर आफ्नो देशको लागि १५ हजार भन्दा धेरै रन हानेका रिचार्ड्सले एन्टिगा एण्ड बार्बुडा (हाल एन्टिगा मात्रै) को तर्फबाट सन् १९७४ को विश्वकप फुटबलको छनोट खेल खेलेका थिए ।

३. डब्लुजी ग्रेस (इङ्गल्याण्ड)

डब्लुजी ग्रेस पेसाले डाक्टर हुन् । उनी अमेच्योर क्रिकेट खेलाडी हुन् । उनले ४४ वर्ष लामो आफ्नो क्रिकेट जीवनमा ८७० प्रथम श्रेणीको क्रिकेट खेल्दै ५४ हजार रन बनाउनुको साथै २८ सय विकेट पनि लिएका थिए । त्यस्तै उनले इङ्गल्याण्डको लागि २२ टेस्ट खेल्दै एक हजार रनका साथै ९ विकेट पनि हात पारेका थिए । त्यति मात्र हैन उनले कमनवेल्थ गेम्सको पहिलो संस्करणमा इङ्गल्याण्डको हाल आधिकारिक नरहेको बल्स पनि खेलेका थिए ।

४. युज्भेन्द्र चाहल (भारत)

युज्भेन्द्र चाहललाई हामीले लेग स्पिनरका रुपमा चिन्छौ । तर उनले भारतको तर्फबाट चेस पनि खेलेका थिए भन्दा अचम्म लाग्न सक्छ । चाहलले भारतको प्रतिनिधित्व गर्दै बिश्व युथ चेस च्याम्पियनसिपमा पनि भाग लिएका थिए । उनले क्रिकेट भन्दा पहिले चेस खेल्न सुरु गरेका हुन् । तर चेसमा स्पोन्सर पाउन मुस्किल परे पछि उनले चेस छाडेर क्रिकेटलाई आफ्नो पेसा बनाएका हुन् ।

५. जोन्टी रोड्स (दक्षिण अफ्रिका)

विश्वका सबैभन्दा उत्कृष्ट फिल्डर हुन् जोन्टी रोड्स । रोड्सले ब्याटिङबाट मात्र हैन आफ्नो उत्कृष्ट फिल्डिङ मद्दतमा दक्षिण अफ्रिकालाई धेरै खेलमा जित दिलाएका थिए । रोड्स क्रिकेट मात्र हैन हक्की पनि उत्तिकै राम्रो खेल्ने गर्दथे । सन् १९९२ मा आयोजना भएको ओलम्पिक्स छनोट खेल्ने दक्षिण अफ्रिकी टोलीमा रोड्स पनि थिए । तर दुर्भाग्य दक्षिण अफ्रिकाले ओलम्पिक्सको टिकट काट्न सकेन ।

६. आशान्था डि मेल (श्रीलंका)

आशान्था डि मेल श्रीलंका क्रिकेट टोलीका पूर्व तिब्र गतिका बलर हुन् । उनले श्रीलंकाको लागि क्रमश १७ र ५७ टेस्ट र एकदिवसीय खेल खेल्दै समान ५९ विकेट हात परेका थिए । उनले श्रीलंकालाई प्रतिनिधित्व गर्दै कमनवेल्थ खेलमा बृज खेल खेलेका थिए ।

७. रुडी भान वूरेन (नामिबिया)

रुडी भान वूरेन पेसाले डाक्टर हुन् । तर उनले आफ्नो देशको लागि दुई खेल (क्रिकेट र रग्बी) को विश्वकप खेलेका थिए त्यो पनि एकै बर्षमा । उनले सन् २००३ मा नामिबियाको लागि दुबै विश्वकप खेलेका हुन् ।

८. कोटर रामास्वामी (भारत)

कोटर रामास्वामीले ४० बर्षको उमेरमा भारतको लागि टेस्टमा डेब्यु गरेका थिए । तर टेस्टमा डेब्यु गर्नु पहिले उनी टेनिस खेलाडी थिए । उनले पुरुष डबल्समा भारतको लागि डेभिस कप खेल्दै रोमानिया र स्पेनलाई पनि पराजित गरेका थिए । उक्त प्रतियोगितामा उनको साथी डाक्टर हसन अली फैजी रहेका थिए ।

९. आसिफ इकबाल (केन्या)

केन्या टोलीका पूर्व बायाँ हाते स्पिनर आसिफ इकबाल क्रिकेट मात्र नभएर टेनिस खेलाडी पनि हुन् । सबैभन्दा अचम्म के छ भने उनले केन्या क्रिकेट टोली र डेभिस कप खेल्ने टेनिस टोली दुबैको कप्तानीको जिम्मेवारी पनि सम्हालेका थिए ।

१०. सुजी बेट्स (न्युजिल्याण्ड)

सुजी बेट्स एक मात्र महिला क्रिकेट खेलाडी हुन् जसले न्युजिल्याण्डको तर्फबाट ओलम्पिक्समा पनि सहभागिता जनाएकी छिन् । उनले सन् २००८ मा आयोजना भएको बेइजिङ्ग ओलम्पिक्समा न्युजिल्याण्डको तर्फबाट बास्केटबल खेलेकी थिइन् । त्यस्तै उनले सन् २०११ मा न्युजिल्याण्ड महिला क्रिकेट टोलीको पनि कप्तानी सम्हालेकी थिइन् ।

 

Click to comment

Trending