Headline

नयाँ प्रशिक्षक पिर्लोको युभेन्टस यात्राः ‘माइस्ट्रो बाट मिस्टर’

Published

on

माउरिजियो सारीलाई बर्खास्त गरेको केही घण्टामै ९ पटकको इटालियन सिरी आ बिजेता युभेन्टसले बिश्व फुटबलमा नयाँ अध्यायको बाचाका साथ पुर्व इटाली र आफ्नै क्लब लेजेण्ड आन्द्रे पिर्लोलाई प्रशिक्षक नियुक्त गर्यो । इटालियन महारथी युभेन्टस फ्रेञ्च क्लब लायोनसँग अवे गोलका आधारमा पछि पर्दै च्याम्पियन्स लिगको प्रि क्वार्टरफाइनलबाटै बाहिरिएपछि क्लब व्यवस्थापनले ६१ बर्षिय सारीलाई बर्खास्त गरेको थियो ।

यसअघि माथिल्लो स्तरमा कुनै पनि अनुभव नरहेका ४१ बर्षिय पिर्लो युभेन्टसको अण्डर–२३ टोली छोड्दै दुई बर्षको सम्झौतामा सिनियर टोलीको बागडोर सम्हाल्न आइपुगेका छन् ।

“बेञ्चमा आफ्नो डेब्युदेखि नै नेतृत्व गर्ने क्षमता भएको बिश्वासका कारण नै पिर्लोलाई रोजिएको हो । युभेन्टसको ‘एक्सपर्ट’ र प्रतिभावान टोलीले नयाँ उचाई छुन मद्दत गर्नेछ । आज, उनको बिश्व फुटबलको करिअरमा नयाँ अध्यायको शुरुवात हुदैछ । उनी ‘माइस्ट्रोबाट मिस्टर’ बन्दैछन्, युभेन्टसले उनको नियुक्ति पछि भनेको छ ।

चेल्सीलाई युरोपा लिग जिताएका सारी गत सिजन तीन बर्षको सम्झौतामा टुरिन पुगेका थिए । तर मैदानमा उनले बाचा गरिए अनुरुपको खेल्ने शैलिमा क्रान्ति भने ल्याउन सकेनन् ।

युभेन्टसको इटालीमा दबदबा कायम राख्ने क्रममा सारी लगातार नवौं उपाधिको हिस्सा रहेपनि यो सिजन उसको पछिल्लो १० बर्षकै खराब प्रदर्शन थियो । दुई खेल बाकी हुदै उपाधि जितेको युभेन्टस सिजन समाप्त हुँदा सम्म मात्र एक अंकले शिर्ष स्थानमा रहेको थियो ।

खेलाडीको रुपमा युभेन्टसमा चार बर्ष बिताएका पिर्लोसँग प्रशिक्षको कुनै अनुभव छैन

लिगमा युभेन्टसले ७ खेलमा पराजय बेहोर्दा उसले ९ उपाधि जित्दाको सबैभन्दा बढी खेल हारेको सिजन पनि बन्न पुगेको थियो । ३८ खेलमा युभेन्टसले ४३ गोल खान पुगेको थियो भने च्याम्पियन्स लिगबाट बाहिरिएपछि क्लब व्यवस्थापनसँग सारीलाई निकाल्न एउटा राम्रो कारण रहेको थियो ।

समय खेर नफालेरै पिर्लोलाई प्रशिक्षक नियुक्त गर्नु युभेन्टस अध्यक्ष आन्द्रे एग्नेलीका लागि पनि एउटा ‘बोल्ड मुभ’ हो ।

जिनेदिन जिदान, फ्रांक लाम्पार्ड र जेनारो गाट्टुसो जस्ता पुर्व खेलाडीहरु पनि प्रशिक्षक बनेका छन् तर पिर्लो कुनै अनुभव बिनै यो स्थानमा आइपुगेका छन् । युभेन्टसले उनको लिगेसीलाई सम्मान गरेको स्पष्ट देखिन्छ । २०११ देखि २०१५ सम्म क्लबमा प्रभाव जमाएका पुर्व मिडफिल्डर पिर्लोलाई युभेन्टस र उसको खेलाडीहरुको बारेमा भने राम्रो ज्ञान छ ।

“खेलाडीको रुपमा पिर्लोको करिअर लेजेण्डरी थियो । युभेन्टसमा रहदा नै उनले चार लिग उपाधि, कोप्पा इटालिया र दुई इटालियन सुपर कप जितेका थिए,” युभेन्टसले भनेको छ । पिर्लोले एसि मिलानका लागि दुई च्याम्पियन्स लिग र दुई इटालियन सिरी आ पनि जितेका थिए ।

१९९६ यता च्याम्पियन्स लिग जित्न नसकेको दुई पटकको बिजेता युभेन्टसको लामो समयदेखिको असफलताको मुल्य पुर्व नापोली प्रशिक्षक सारीले चुकाउन पुगेका हुन् । यसै सिजन क्लब इटालियन कप र इटालियन सुपर कपको फाइनलमा पराजित भएको थियो ।

“च्याम्पियन्स लिग पहिले हाम्रो लागि सपना थियो भने अहिले लक्ष्य । यसरी बाहिरिनु पर्दा हामी, खेलाडी र समर्थकहरु सबैजना निराश छौं । अब हामीले गहन बिश्लेषण गर्न आवश्यक छ । नयाँ शुरुवात गर्दा हामीले त्यही उत्साह र जितको भोक कायम राख्नु पर्नेछ,” एग्नेलीले भने ।

१९९५ मा घरेलु क्लब ब्रेसियाबाट व्यवसायिक करिअर शुरु गरेका पिर्लोले इन्टर मिलान, एसि मिलान र युभेन्टसका लागि खेल्दै इटालीमै लामो समय बिताएका थिए । करिअरको अन्त्य गर्ने क्रममा उनले अमेरिकन मेजर लिग सकर क्लब न्युयोर्क सिटी एफसीमा दुई सिजन खेले ।

युभेन्टस गोलकिपर बुफोन पिर्लो भन्दा एक बर्ष पाका छन्

इटालीले सन् २००६ को बिश्वकप जित्दा मुख्य भुमिकामा रहेका पिर्लोले देशका लागि १ सय १६ खेल खेलेका छन् । २०१७ मा खेलाडी जीवन समाप्त गरेपछि फुटबलको दुनियामा बाहिर नदेखिएका उनले टेलिभिजन पण्डितको रुपमा काम गर्दै आइरहेका थिए । उनको उत्साहको कमिका कारण नै ‘पिर्लो इज नट इम्प्रेस्ड’ (पिर्लो प्रभावित हुन सकेनन्) भन्ने नारा इन्टरनेटमा निकै प्रख्यात हुदै आइरहेको थियो ।

युभेन्टसमा अब पिर्लो युवा खेलाडीहरुसँगै आफ्ना समकक्षीहरुलाई पनि प्रशिक्षण दिइरहेको हुनेछन् । ती मध्ये एक हुन उनी भन्दा एक बर्ष ठूलो गोलकिपर जियानलुईगी बुफोन । “त्यसो भए मैले अब तिमीलाई मिस्टर भन्नु पर्ने भयो ? नयाँ चुनौतिका लागि शुभकामना आन्द्रे,” बुफोनले आफ्नो ट्विटरमा लेखेका छन् ।

पिर्लोले दुई बर्षअघि १ सय १५ मिलियन डलरमा युभेन्टस आएका पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डोलाई पनि सम्हाल्नु पर्नेछ । ३५ बर्षिय रोनाल्डोले शुक्रबार दुई गोल गरेपनि युभेन्टसलाई आफ्नै देश पोर्चुगलमा हुने च्याम्पियन्स लिग क्वार्टर–फाइनलसम्म डोर्याउन असफल भएका थिए ।

Click to comment

Trending