Headline

ड्रग माफियासँग जोडिएको कोलम्बियाको १९९४ बिश्वकपको भयानक कथा

Published

on

बिश्व फुटबल लेजेण्ड पेलेका लागि १९९४ विश्वकपको प्रमुख दाबेदार कोलम्बिया थियो । धेरै फुटबल प्रेमीहरुका लागि पनि । ९० को दशकमा फार्क बिद्रोहीका कारण देश गृहयुद्धमा होमिए पनि कोलम्बियन फुटबल टोलीलाई राष्ट्रिय प्रतिकको रुपमा लिने गरिन्थ्यो ।

कोलम्बियाका तत्कालिन प्रशिक्षक फ्रान्सिस्को मातुरानालाई पनि यो कुरा राम्रोसँग थाहा थियो । “फुटबल कुनै द्विपमा सिमित छैन, यो सामाजिक र सांस्कृतिक रुपमा नै गढिएर बस्ने गर्छ,” मातुरना भन्ने गर्थे ।

पुरै कोलम्बियामा लागुपदार्थ हिंसा र संगठित अपराधले बिध्वंस मच्चाइरहदा फुटबलले धेरैलाई ती सबै कुरा बिर्साउन मद्दत गरिरहेको थियो ।

दक्षिण अमेरिकाको प्रतिष्ठित क्लब प्रतियोगिता कोपा लिबेर्टाडोरेसमा कोलम्बियन टोली एथ्लेटिको नेसनललाई १९८९ मा च्याम्पियन बनाउदा प्रशिक्षक मातुराना नै थिए । मातुरानाले १९९४ मा विश्वकपका लागि बनाएको राष्ट्रिय टोलीमा पनि अधिकांश खेलाडीहरु नेसनलकै थिए ।

सबैभन्दा चर्चित थिए गोलकिपर रेने हिगिता, डिफेण्डर आन्द्रेस एस्कोबार र मिडफिल्डर कार्लोस भाल्डेरामा । एथ्लेटिको नेसनलका खेलाडीहरुको बाहुल्यता रहेको कोलम्बियाले सोचे भन्दा राम्रो विश्वकप छनोट खेल्दै अमेरिकामा हुने १९९४ विश्वकपको लागि टिकट काट्यो ।

कोलम्बियाको छनोटको मुख्य आकर्षण थियो अर्जेन्टिनाबिरुद्ध ५–० को फराकिलो अन्तरको जित । कोलम्बियाले त्यो समयकै उत्कृष्ट एट्याकिङ फुटबल खेल्दै अर्जेन्टिनालाई ब्युनोस आयर्समा नराम्रो हार चखाएको थियो र जितमा नायक थिए भाल्डेरामा ।

तर सबैले आशा गरेको कोलम्बियन टोली समुह चरण समेत पार गर्न सकेन । पुरै कोलम्बिया नै शुन्य भयो ।

के भयो त कोलम्बियालाई ?

यो सबै उत्तरका लागि फर्कनु पर्नेछ विश्व लागुपदार्थ बजारका राजा पाब्लो एस्कोबार तर्फ ।

कोलम्बियन ड्रग लर्ड एस्कोबार एक्लैले कोलम्बिया चलाउथे । प्रहरी, सरकार, न्यायलय र त्यहाँको फुटबल सबै एस्कोबारको नियन्त्रणमा थियो । जो उनको बिरुद्धमा हुन्थे, ती मारिन्थे ।

पाब्लो एस्कोबार कोलम्बियन सरकारको लागि टाउको दुखाई भएपनि उनी फुटबलमा मसिहा थिए

एस्कोबार फुटबलका कट्टर समर्थक थिए । कोपा लिबेर्टाडोरेस जित्ने पहिलो कोलम्बियन टोली एथ्लेटिको नेसनलमा पनि एस्कोबारको लगानी थियो ।

लागुपदार्थ युद्धले पनि नराम्ररी गाँजेको कोलम्बियामा द्वन्द र हिंशा कुनै नौलो कुरा थिएन । जब कोलम्बियाले आर्जेन्टिनालाई छनोटमा हराएको थियो जितको खुशीयाली मनाउने क्रममै १० जना मारिएका थिए भने १ सय बढी घाइते भएका थिए ।

एस्कोबार कोलम्बियन फुटबलमा यति सकृय थिए नियमित गोलकिपर हिगिता बेपत्ता हुदै विश्वकप कै लागि अनुपस्थित हुनमा पनि उनकै हात थियो । अनुसन्धान गर्दै जादा एस्कोबारको ग्याँगले गरेको अपहरणमा हिगिताले मध्यस्तता गर्दै पैसा उठाएको खुलाशा भएको थियो ।

हिगिताले यो आरोपमा ६ महिने जेल सजाय पनि काटे तर उनले अहिले पनि आफ्नो त्यसमा संलग्नता नरहेको बताउदै आएका छन् ।

हिगिता बिना विश्वकपमा उत्रिएको कोलम्बिया रोमानियाविरुद्ध खेल्दै थियो । सबै समर्थकहरु कोलम्बियाले रोमानियालाई हराउनेमा बिश्वस्त थिए । तर रोमानियाले पहिलो खेलमै ३–१ को जित हात पार्दै कोलम्बियन समर्थकहरुलाई धरातलमा पुर्यायो ।

त्यो समयका नियमित गोलकिपर हिगिता जसको स्कोर्पियन सेभ अहिले पनि युट्यबमा निकै चर्चित छ

अर्जेन्टिनाको कमजोर टोलीलाई हराएर कोलम्बियाले नचाहिदो चर्चा पाएको कुरा फैलिन थाल्यो । युरोपियन लिगहरुमा बोकेको चोटका कारण बिस्तारै ठिक हुदै फर्किएका आस्प्रिया र भाल्डेरामा जस्ता मुख्य खेलाडी आफ्नो नियमित फर्ममा नरहेको बताउन थालियो ।

जित्नै पर्ने खेलमा अमेरिकाको सामना गरिरहेको कोलम्बियालाई जित्नै पर्ने व्यापक थियो । खेलको ३५ औं मिनेटमा कोलम्बियाको लागि नसोचेको हुन पुग्यो । आन्द्रेस एस्कोबारले क्लियर गरेको बल आफ्नै पोस्टको दिशा लिदै गोल हुन पुग्यो । त्यही गोलले कोलम्बिया समुह चरणबाटै बहिरियो ।

“हाम्रो टोली बलियो थियो र हामी माथि जानेमा बिश्वस्त थियौं तर सोचे अनुरुप हुन सकेन,” भाल्डेरामाले हारपछि भनेका थिए । खतराको आभाष हुन थालेपछि एसि मिलानको नजरमा परेका एस्कोबारलाई घर नफर्किएर अमेरिकामै केही समय बस्न आग्रह गरियो । तर उनले मानेनन् ।

कोलम्बिया फर्किएको पाँच दिन भएको थियो । एस्कोबार साथीहरुसँग घुम्न निस्किए । एक लोकल बारमा फुटबलको बिषयमा बिवाद भएपछि एस्कोबार बाहिर निस्किए । उनी आफ्नो कारको ढोकासम्मा के पुगेका थिए अज्ञात बन्दुकधारीहरुले उनको टाउकोमा ६ र ढाँडमा १ गोली हान्दै उनको त्यही हत्या गरिदिए ।

कोलम्बियन फुटबलका हिरोको कथा निभेषभरमै समाप्त भयो ।

एस्कोबारको हत्या गरिएको केही दिन पछी त्यहाका कुख्यात गुण्डा नाइके हम्बर्टो कास्ट्रो जुनियर समातिए । अनुसन्धान अगाडी बढ्दै गर्दा त्यहाका ड्रग लर्ड मानिने गाजोन ब्रदर्शले उनलको हत्या गर्न लगाएको पत्ता लागेको थियो ।

गाजोन ब्रदर्शले बिश्वकप दौरान कोलम्बियाको जितमा निकै ठूलो रकम बाजी थापेका थिए । बाजीको रकम गुमाएको रिसमा उनीहरुले एस्कोबारको हत्या गरेका थिए । कारण बाहिर आउदा पुरै कोलम्बिया स्तब्ध बनेको थियो ।

लागु पदार्थ हिंसाको वरिपरि घुमेको १९९४ को त्यो विश्वकप सहभागिता कोलम्बियाले अहिले पनि भुल्न सकेको छैन ।

Click to comment

Trending