Headline

केटा जस्तै खेल्ने केटी

Published

on

१३ औं दक्षिण एसियाली खेलकुदको महिला बास्केटबल सेमिफाइनलमा नेपाल नयाँ इतिहासको संघारमा थियो । तेश्रो क्वार्टरको समाप्तिसम्ममा १७ अंकको फराकिलो अन्तरको अग्रता बनाएपनि मालदिभ्स अन्तिम क्वार्टरमा खेलमा फर्किएको थियो ।

मालदिभ्सले तीन मिनेटभन्दा कम समय बाकी रहदा नेपालको अग्रतालाई ६ अंंकमा झारिदिदा बेञ्चमा माहौल तनावपूर्ण भयो । त्यसपछि शुरु भयो अनुशा मल्लको खेल । त्रिपुरेश्वरको कभर्ड हलमा सेमिफाइनलको अन्तिम क्षण आफ्नो नियन्त्रणमा लिदै उनले नेपालको जितको आधार तयार पारिन् ।

नेपालले खेल ६८–५५ ले जित्यो । अन्तर्राष्ट्रिय महिला बास्केटबलमा त्यो नेपालको लागि पहिलो रजत पदक पक्का भएको थियो । निकै बेर खुशीयाली बनाएको नेपाली टोलीका खेलाडीहरुले आशु बगाएका थिए । लामो समयदेखि गर्दै आएको मिहिनेतको महत्व ती आशुका थोपाहरुमा थिए ।

मालदिभ्सबिरुद्धको खेलमा प्रतिक्षा मगरले पनि राम्रो योगदान दिएकी थिइन् तर नेपालको खेललाई अनुशाले चलाएकी थिइन् । आफूले गरेको १८ मध्ये १० अंक अनुशाले अन्तिम क्वार्टरमै गरेकी थिइन् । उनले त्यसअघि भुटानबिरुद्धको महत्वपूर्ण खेलमा पनि २२ अकको योगदान दिएकी थिइन् ।

तर अनुशाको खेललाई रिङ्गमा छिरेका स्कोरहरुले बयान गर्दैन ।

कोर्टमा जब तपाईं अनुशाको बल ह्यान्डलिङ्ग हेर्नु हुन्छ तपाईंलाई सबैभन्दा पहिले त उनको आत्मबिश्वासले भरिएको ड्रिब्लिङ्गले फ्यान बनाउनेछ । उनी बास्केटबलको लागि नै बनेको आभाष हुन्छ ।

अनुशाको त्यो “स्मुद ड्रिब्लिङ्ग” नेपाली महिला बास्केटबलमा बिरलै देख्न पाइन्छ । उनका प्रशिक्षक बिकास शाही त झन उनको जस्तो बल ह्याण्डिलङ्ग र ड्रिब्लिङ्ग क्षमता नेपाली महिला बास्केटबलमै नभएको मान्छन् । यस्तो लाग्छ महिला टिममा कोही केटा मिसिएर खेलिरहेको छ ।

“अनुशाले केटा जसरी नै खेल्छिन् । अनुशा भनेको नेपाली महिला बास्केटबलको इन्जिन नै हो । हामीले कुनै पनि म्याचमा रणनीति बनाउनु पर्दा अनुशाकै वरिपरि बनाउनु पर्छ । मैले नेपालमा उ जस्तो राम्रो बल ह्याण्ड्लिङ्ग र ड्रिब्लिङ्ग स्किल भएको अर्को कोही पनि देखेकै छैन,” पुर्व राष्ट्रिय खेलाडी शाही भन्छन् ।

१७ बर्षको कलिलो उमेरमै राष्ट्रिय टोलीमा स्थान बनाउन सफल अनुशाको खेल राता–रात खारिएको होइन् । यसमा उनको मिहिनेत र खेलप्रतिको लगावले उत्तिकै महत्व राखेको छ । “स्कुल पढ्दाको उमेर देखी नै बास्केटबल सिक्न थालेको थिए । सिनियर दाईहरुले खेलेको हेर्दै ड्रिब्लिङ्ग सिके । म्याचहरु भन्दा पनि म आफूलाई बल ह्यान्डलिङ्गमा पोख्त बनाउन एक्लै अभ्यासहरु गरिरहेको हुन्थे,” अनुशा सम्झिन्छिन् ।

केटा जस्तो “बडी मुभमेन्ट” र ड्रिब्लिङमा पोख्त हुनुको रहस्य भने उनले आत्मबिश्वास र प्रशिक्षण नै भएको बताउछिन् । बास्केटबलसँगै हुर्किएकी अनुशाले नेपालका लागि खेलेको पनि आठ बर्ष भईसकेको छ । सन् २०१२ मा चिनको शहर हायाङमा भएको एसियन बिच गेम्समा थ्री बाइ थ्री बास्केटबलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी उनले त्यस्पछिका दिनहरुमा भने राष्ट्रिय टोलीमा आफ्नो स्थानमा नियमित रुपमा बनाउदै आएकी छिन् ।

चिनमा भएको एसियाली बिच खेलकुद, १७ औँ एसियाली खेलकुद, १८ औ एसियाली खेलकुद र १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपालका लागि अनुशाले खेलिसकेकी छिन् ।

अहिले उनी बिनाको राष्ट्रिय टोली कल्पना बाहिरको कुरा भइसकेको छ । पोइन्ट गार्ड पोजिसनमा खेल्ने अनुशा आफैले पनि अब बास्केटबलबिना आफ्नो अस्तित्व सोच्न सक्दिनन् । “मेरो लागि बास्केटबल जीवन हो वा भनौ जीवन जिउने एक माध्यम,” अनुशाको यो भनाई उनले कुनै पनि म्याचमा देखाएको गम्भिर्यताले नै स्पष्ट हुन्छ ।

“अनुशाको बास्केटबल स्किल अरु भन्दा निकै फरक छ,” नेपाली महिला बस्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठ पनि अनुशा निकै राम्रो खेलाडी भएको मान्छिन्ः “उनी हाम्रो टोलीको प्रमुख खेलाडी हुन् । उनको खेलकै कुरा गर्ने हो भने उनको जस्तो गति भएको खेल निकै कम खेलाडीको देख्न पाईन्छ ।”

दक्षिण एसियाली खेलकुदमा मालदिभ्सबिरुद्ध खेलिएकै खेल अनुशाको लागि सम्झनलायक खेल हो । नेपाली बास्केटबल तुलनात्मक रुपमा सुधारिएको एउटा प्रमुख कारण रहेकी अनुशालाई देशका लागि खेल्दा निकै दवाब हुने मान्छिन् । “राष्ट्रिय टोलीमा छनोट हुनु निकै गर्वको कुरा हो तर मलाई नेपालको लागि खेल्दा निकै दवाब हुने गर्छ,” उनी भन्छिन् ।

नेपाली बास्केटबलको लागि भने अनुशाको उपस्थिति एउटा ठूलो चुनौति हो । नेपालले ऐतिहासिक रजत पदकका लागि फाइनमा स्थान बनाउदा भारतसँग भने नराम्ररी पराजित भएको थियो ।

शारिरिक रुपमा निकै सशक्त रहेको भारतले १२७–४६ को फराकिलो जित हात पारेको थियो । लामो तपस्यापछि प्राप्त रजत पदकलाई अब स्वर्ण पदक गर्ने हो भने नेपालको लागि एक अनुशाको उपस्थितिले मात्र पर्याप्त हुने छैन । नेपालमा घरेलु प्रतियोगिताहरु नै लगभग शुन्यको स्थितिमा छ भने उमेन्स नेपाल बास्केटबल लिग पनि एक हप्ता मात्रै सञ्चालन हुने गरेको छ ।

कलेजस्तरीय प्रतियोगिताहरुमा राष्ट्रिय टोलीका खेलाडी खेल्न नपाउने नियमका कारण पनि महिला खेलाडीहरुले आफ्नै घरमा पनि पर्याप्त खेल्ने अवसर मिलेको छैन । नेपाली राष्ट्रिय महिला टोलीको लागि आफूले गर्ने गरेका अभ्यास, राष्ट्रिय टोलीको प्रशिक्षण र अन्तर्राष्ट्रिय सहभागिता नै आफूलाई एक्सपोजर दिने माध्यम बनेको छ । धन्न खेलाडीहरु बास्केटबलमा लागेर पछुताएका छैनन् ।

“मलाई बास्केटबलमा आफ्नो जीवन बिताएकोमा कुनै पछुतो छैन । तर कहिले काही यहाँको व्यवस्थापन र प्रतियोगिता नै नहुने परम्परा ले भने निकै निराश बनाउछ,” अनुशा भन्छिन् ।

स्नातक पढ्दै गरेकी अनुशा कलेजको अनलाइन क्लास बाहेक बिहान बेलुका नजिकैको गोल्फुटार कोर्टमा पुग्छिन् । अन्तर्राष्ट्रिय खेलाडी भएकाले उनलाई आफू फिट रहनुको महत्व राम्ररी थाहा छ । अनुशालाई आशा छ कुनै समय खेलका लागि उनले आफै अग्रसरता लिनुपर्ने छैन ।

Click to comment

Trending