Headline

इटालियन सिरी आ को यो सिजनको मुख्य हाइलाइट्स

Published

on

११ महिने इटालियन सिरी आ आइतबार समाप्त भयो । युभेन्टसले किर्तीमानी नवौं पटक उपाधि जित्दै इटालीमा आफूलाई कसैले उछिन्न नसक्ने एक पटक फेरि प्रष्ट पार्यो । तर के यो सिजन के उतार चढाव देखियो त इटालीको प्रथम श्रेणीको लिगमा ?

युभेन्टसको पछिल्लो १० बर्षकै खराब प्रदर्शन

त्रिष्चियानो रोनाल्डोको दोश्रो सिजनमा लगातार नवौं उपाधि जितेपनि यो सिजन युभेन्टसको सबैभन्दा खराब प्रदर्शनको रुपमा रहनेछ । ३६ औं पटक लिग उपाधि जित्ने क्रममा युभेन्टसले पछिल्लो १० बर्षमा सबैभन्दा कम अंक लिएको हो । ८३ अंक बटुलेको मरिजियो सारीको टोलीले बेहोरेको ७ पराजय सबैभन्दा बढी हो । एएस रोमासँग ३–१ ले हारेको युभेन्टस अन्तिम ८ खेलमा मात्र दुईमा जित हात पार्न सकेको थियो ।

युभेन्टस अप्रिल २०१८ यता खेलिएका ४० घरेलु खेलमा पहिलो पटक पराजित भएको थियो । यसअघि ८ उपाधि जित्दा युभेन्टसले यो सिजनमा खाएको ४३ गोल सबैभन्दा बढी हुन पुग्यो । यो सिजन जति पनि समस्याहरुको सामना गर्नुपर्यो, त्यसको तुलनामा उपाधि जितेको मा हामी खुशी नै हुनुपर्छ, सारीले भने । यो यस्तो सिजन थियो जहा सबैभन्दा बलियो टोली नै हार्न सक्थ्यो ।

इन्टरका चिनिया मालिक प्रति कोन्टेको आक्रोश

एन्टोनियो कोन्टेको इन्टर मिलान लिग समाप्त हुदा युभेन्टसभन्दा मात्र एक अंकले पछि पर्यो । यो इन्टरको २०१०–११ पछि कै सबैभन्दा उत्कृष्ट प्रदर्शन थियो । तर एट्लान्टालाई अन्तिम खेलमा २–० हराएपछि भएको पत्रकार सम्मेलनमा कोन्टे क्लबका चिनिया मालिकहरु प्रति खनिदा उनको जागिर नै धरापमा परेको छ ।

युभेन्टस, चेल्सी र इटालीका प्रशिक्षक रहिसकेका उनी र उनको टोलीमाथि भएको आलोचनाले क्रुद्ध बनेका थिए । “व्यक्तिगत रुपमा हेर्ने हो भने यो बर्ष निकै, निकै कठिन थियो । हामीले महिनौ जे पायो त्यही खानु पर्यो र क्लबले पनि हाम्रो सुरक्षामा वास्ता गरेन,” कोन्टेले भने ।

“अब क्लब अध्यक्ष (स्टिभन जाङ) सँग एक चरण वार्ता गर्न आवश्यक छ तर उनी अहिले चिनमा छन् । म पहिलो बर्ष त सहन सकुला तर तपाई गल्ती गरेर पनि केही सिक्नुहन्न भने म पागल बन्नेछु,” कोन्टेले थपे ।

एट्लान्टाको उचाई

टिमको घरेलु शहर बेर्गामो कोरोना भाइरसको एपिसेन्टर बनेपनि एट्लान्टा तीन महिने लकडाउन पछि अझै सशक्त भएर आएको थियो । जियान पिएरो ग्यास्परिनीको टोलीले ९८ गोल गरेको थियो जसमध्ये ३५ लकडाउन खुलेपछि लिग सुचारु हुदा भयो । कोलम्बियन लुईस मुरिएल र दुभन जपाटाले समान १८ गोल गरे भने योसिप इलिचिचले १५ गोल गरेका थिए ।

लगातार दोश्रो सिजन तेश्रो स्थानमा लिग सक्काएको एट्लान्टाको यो अल टाइम बेस्ट प्रदर्शन हो । एट्लान्टाको लागि अझ धेरै बाकी नै छ । च्याम्पियन्स लिगमा डेब्यु गरेको एट्लान्टाले यो सिजनको क्वार्टर फाइनलमा फ्रेञ्च महारथी पेरिस सेन्ट जर्माइनको सामना गर्न गइरहेको छ ।

इमोबिलेको उपलब्धि तर चुकेको लाजियो

सिरो इमोबिलले एकै सिजन सबैभन्दा बढी गोल गर्ने किर्तिमानको बराबरी त गरे तर उनको टोली लाजियो भने दुई दशकमा पहिलो पटक उपाधि जित्नबाट चुक्न पुग्यो । सिजनको आधा भन्दा बढी युभेन्टसलाई कडा टक्कर दिएको लाजियो अन्त्यमा चौथो स्थानमा सिमित रहन पुग्यो ।

यद्दपि लाजियोले २००७ पछि पहिलो पटक च्याम्पियन्स लिग खेल्ने भएको छ । ३० बर्षिय इटालयन स्ट्राइकर इमोबिलेले सिजनको अन्तिम खेलमा नापोलीसँग ३–१ ले पराजित हुदा पनि गोल गरेपछि उनले गोन्जालो हिग्वेनले बनाएको ३६ गोलको किर्तिमानको बराबरी गरेका थिए । हिग्वेनले नापोलीका लागि २०१५–१६ को सिजनमा उक्त किर्तिमान कायम गरेका हुन् ।

“गोल्डेन बुट जित्नु गर्वको कुरा हो । यो इतिहासमा लेखिनेछ,” अन्तिम पाँच खेलमा एक ह्याट्रिक सहित ७ गोल गरेका इमोबिलेले भने ।

समय फर्काएका ज्लाटन

स्विडिस लेजेण्ड ज्लाटन इब्राहिमोभिच सिरी आ सिजनमा १० गोल गर्ने सबैभन्दा पाका खेलाडी बन्दा उनको टोली इन्टर मिलान लगातार १२ खेलमा अपराजित रहदै छैटौं स्थानमा रहन पुग्यो । मिलान तीन दशकमा पहिलो पटक लगातार १२ खेलमा अपराजित रहेको हो । जनवरीमा मिलान आएका ३८ बर्षिय ज्लाटनले काग्लियारीबिरुद्ध पहिलो गोल गरेका थिए भने त्यही टोलीबिरुद्ध नै अन्तिम पनि ।

सात पटकको च्याम्पियन्स लिग बिजेता एसि मिलान जनवरीमा ११ औं स्थानमा रहे पनि सिजनको अन्तिममा छेटौं स्थानमा समाप्त गर्दै युरोपा लिगका लागि छनोट भएको हो ।

रँगभेद चर्कदा बालोटेली सुपर फ्लप

मारियो बालोटेली आफ्नो घरेलु क्लब ब्रेसिया त फर्किए तर उनको केही सिप चलेन । बालोटेली उल्टै रँगभेदको शिकार बन्न पुगे । पुर्व म्यानचेस्टर सिटी र लिभरपुलका २९ बर्षिय स्ट्राइकर बालोटेलीमाथि लाजियो र भेरोनामा रँगभेदी टिप्पणी भएपछि उनले बिरोधमा खेल छोड्ने धम्की समेत दिएका थिए ।

शुरुवातमा भेरोनालाई एक खेल आंशिक रुपमा खाली रँगशालामा खेल्ने सजाय दिइएपनि त्यसलाई पछि खारेज गरिएको थियो । लाजियोले यसका लागि २० हजार युरो जरिवाना पनि तिर्नु परेको थियो । बालोटेलीले पाँच गोल मात्र गर्दा ब्रेसिया एक सिजनपछि नै सिरी बी मा रेलिगेट हुन पुगेको थियो ।

Click to comment

Trending