Headline

एडिडास भर्सेस पुमाः पारिवारिक युद्धले खेलकुद बजारमा ल्याएको क्रान्ति

Published

on

एडिडास र पुमा बिनाको बिश्व खेलकुद अहिले कल्पना गर्न सकिदैन । अमेरिकाको डालासदेखि नेपालको डोल्पासम्म यी दुई कम्पनीको सामग्री बजारमा स्थापित भएका छन् ।

आज पनि एडिडास र पुमा विश्वमा क्रमशः दोस्रो र तेस्रो ठूलो स्पोर्टसवेयर उत्पादक हुन् । पहिलो त नाइकी छदै छ ।

जर्मन डासलर भाईहरु एडोल्फ र रुडोल्फले जर्मनीको हेर्जोगनउरखमा विश्व खेलकुदको चर्चित ब्राण्ड एडिडास र पुमालाई जन्म दिएका थिए । हेर्जोगनउरख विश्व खेलकुदको त्यही ईतिहास बोकेको ठाउँ हो जहाँ एडोल्फ र रुडोल्फले १९२० को शुरुवातमै डासलर जुत्ता कारखना खोलेका थिए ।

व्यापारमा कोही आफ्नो हुँदैन भने झै डासलर भाईहरुमा फुट भयो र हेर्जोगनउरखमाको दुई शहर हेट्सिग र ओल्गा छुट्टाउने नदी अउराखलाई सिमा बनाउदै आफ्नो व्यापार छुट्टो–छुट्टै रुपमा बढाउदै गए । दुवै कम्पनीको मुख्यालय अहिले त्यही छ ।

जन्म, पारिवारिक द्वन्द र आजको बजार

पहिलो विश्वयुद्धमा स्वेच्छिक रुपमा सेनामा लागेपछि फर्किएका एडोल्फले आफ्नै आमाको लण्ड्री भित्र पहिलो जुत्ता बनाए । विश्वयुद्धले अर्थतन्त्रमा नराम्रो प्रभाव पार्दा जर्मनहरुले फोहोर कपडा लगाए पनि राम्रो जुत्ता लगाउने सोख राख्थे । जुत्ताको माग धेरै भएपछि आफ्ना जेठा दाई रुडोल्फलाई पनि यसैमा लगाएका एडोल्फले निकै आकर्षक जुत्ता बनाउन थाले । भाई एडोल्फ जुत्ता बनाउथे भने दाई रुडोल्फ व्यापार व्यवस्थापन हेर्थे ।

डासलर दाजुभाईले त्यसपछि निकै राम्रो आम्दानी गर्न थाले ।

‘डासलर ब्रदर्स लेदर सु फ्याक्ट्री’ नाम दिदै बनाएको यो कम्पनीको छालाको फुटबल बुट र ‘ट्रयाक एण्ड फिल्ड’ जुत्ता एथ्लिटहरु माझ निकै लोकप्रिय हुन पुग्यो । तर १९३२ मा कम्पनीमा नयाँ सदस्य थपिन पुगिन् र उनी थिइन एडोल्फकी १६ बर्षिया प्रेमिका क्याटी । जर्मनीको नाम चलेको व्यवसायीकी छोरी क्याटीसँग एडोल्फले बिवाह पनि गरे । क्याटीको आगमनसँगै डासलर भाईहरु बिच खटपट हुन थाल्यो ।

रुडोल्फ आफ्नो भाईको श्रीमतीसँग धेरै खुशी थिएनन् । “मेरो भाईसँगको मेरो सम्बन्ध १९२४ देखी १९३३ सम्म निकै राम्रो थियो,” रुडोल्फले स्निकर्स वार्स’ पुस्तकमा भनेका थिए । त्यसपछि उनकी श्रीमतीले हाम्रो व्यवसायमा हस्तक्षेप गर्न थालिन्, कुनै अनुभव बिना १६ बर्षको उमेरमै ।”

क्याटीको हस्तक्षेप पछि शुरु भएको पारिवारिक युद्धले एडोल्फ र रुडोल्फको छुट्टा–छुट्टै जुत्ता कम्पनीलाई जन्म दियो । दुवै कम्पनीको उत्पादन उनीहरुकै नाममा बजारमा जाने गथ्र्यो ।

व्यापारका लागि नाजीको सहयोग

उनीहरु छुट्टिएको समय १९३६ मा बर्लिनमा ओलम्पिक गेम्स शुरु हुन गइरहेको थियो । जर्मन तानाशाह एडोल्फ हिट्लरको अगुवाइमा भएको ओलम्पिक्स वास्तबमै जर्मनीको खस्कदो अर्थतन्त्र र छुट्टिएका डासलर भाईहरुको नयाँ कम्पनीलाई बलियो बनाउने सुवर्ण अवसर थियो । दुवै भाईहरुले आफ्नो व्यवसायलाई बलियो बनाउन नाजी पार्टीको सदस्यता लिएका थिए । नाजीको समर्थन पाएपछि डासलर दाजु भाईको बजारमा एक छत्र राज भयो । बर्लिन ओलम्पिक्स मार्फत जर्मनीमा मात्र नभएर बिश्व बजारमा फैलिने अवसर उनीहरुसँग थियो ।

ओलम्पिक्सको मुख्य आकर्षण ट्रयाक एण्ड फिल्ड इभेन्टमार्फत बजारमा दह्रो उपस्थिति देखाउने मौकाको पूर्ण सदुपयोग एडोल्फले गरे । त्यो समयका प्रख्यात अमेरिकि धावक जेसे ओवेन्सलाई उनले आफ्नो कम्पनीको जुत्ता लगाउन प्रस्ताव राखे ।

अफ्रिकन–अमेरिकनले जर्मन जुत्ता लगाएर दौडिनु राजनीतिक रुपमा आलोचनात्मक बिषय भएपनि एडोल्फले बनाएको बिशेष जुत्ताले ओवेन्सलाई आकर्षित गरेको थियो । ओवेन्सलाई जुत्ता यति मन परेको थियो कि उनले त्यो जुत्ता लगाउन नदिए खाली खुट्टा नै प्रतिस्पर्धा गरिदिने धम्की दिए ।

ओवेन्सले त्यही जुत्ता लगाएर १ सय मिटर र ३ सय मिटरमा दोहोरो स्वर्ण जिते । यो जित एडोल्फको पनि थियो । उनले खेलकुद बजारमा अचुक अस्त्र प्रहार गरिसकेका थिए । एडोल्फले बनाएको जुत्तामा ओवेन्स ओलम्पिक स्टार हुन पुगे । दाई रुडोल्फले पनि निकै राम्रा खेलाडीहरुलाई आफ्नो जुत्ता दिदै ब्राण्ड स्थापित गरेका थिए ।

बर्लिन ओलम्पिक्स र दोश्रो विश्वयुद्धपछि ओवेन्सले लगाएको एडोल्फको जुत्ताले विश्वभर समाचार बनाएपछि उनलाई स्थापित गरिसकेको थियो । दाई रुडोल्फ भने भाईको राजनीतिक चालका कारण खेलकुदको साटो जर्मन सैनिकहरुका लागि जुत्ता बनाउन पुगे ।

जब रुडल्फ बिश्वयुद्धपछि आफ्नो घर हेर्जोगनउरख फर्किए उनीहरुबीच अझै दरार बढ्न थाल्यो । भाई एडोल्फले आफ्नै दाईलाई अमेरिकिको संज्ञा दिदै खेलकुद सामग्रीहरुको साटो युद्दका लागि जुत्ता बनाउन नाजी नेताहरुमार्फत चाल चले । एडोल्फ र क्याटीले उनलाई पक्राउ गर्न लगाएर रुडोल्फको जुत्ता कारखानामा पनि आफ्नो हक जमाउन खोजेपछि उनी आक्रोषित भएका थिए ।

दाजुभाइको दुश्मनीपछि एडिडास र पुमा

भाई एडोल्फले आफ्नो नामबाट एडी र डासलर थर बाट डास  निकाल्दै एडिडास बनाए भने दाई रुडोल्फले बनाए पुमा । उनीहरु हेर्जोगनउरखको दुई शहर हेट्सिग ओल्गा छुट्टाउने नदी अउराखलाई सिमा बनाउदै आ–आफ्नो कम्पनी खडा गरे । यहीबाट सुरु भयो एडिडास र पुमाबीच बिश्व खेलकुद बजारमा द्वन्द ।

खोलेको केही समयमै एडिडासलाई जर्मनीको राष्ट्रिय जुत्ता मानिन थालियो भने पुमा पनि राम्रो व्यापार गर्दै थियो । तर जब जर्मनीले १९५४ मा सबै एडिडासले बनेको लुगा र बुटमा विश्वकप जित्न पुग्यो त्यहाबाट बिश्व खेलकुद बजारमा एडिडासको नामले आकाश छुन थाल्यो । जर्मनीले पहिलो विश्वकप उपाधि जिते देखि नै एडिडास जर्मन टोलीको हिस्सा बन्दै आएको छ ।

एडिडास आफ्नो स्थापना देखि निकै चर्चामा रहन पुग्यो । पुमा भने एडिडसको राजनीतिले गर्दा जर्मनीमा पनि बजार पाउन संघर्ष गरिरहेको थियो । तर पुमाले आज सम्म गरेको यो काम निकै प्रशंसा योग्य छ । आजको दिन सम्म एक लाख जर्मनलाई रोजगार दिएका यी कम्पनीहरु विश्व बजारमा अहिलेसम्म ने सकृय छन् ।

अहिले पनि एडिडासलाई दोस्रो स्थानको चुनौती दिने एक मात्र कम्पनी पुमा हो । यी दुई बिच अहिले पनि कलह कायमै रहेको छ । १९७४ मा पुमाका संस्थापक रुडोल्फको निधन हुँदा एडोल्फ अन्त्येष्टिमा समेत गएनन् ।

जर्मनीको घरेलु फुटबलमा नै हेर्ने हो भने बायर्न म्युनिख र बोरुसिया डर्टमण्डबीचको खेललाई एडिडास र पुमाको प्रतिस्पर्धाको रुपमा पनि लिइने गरिन्छ ।

बायर्नको प्रायोजक एडिडास हो भने डर्टमण्डको पुमा ।

एडिडास र पुमाले फुटबलमा प्रायोजन गर्दा प्रमुख प्रतिद्वन्दीलाई लक्ष्य गर्ने गरेका छन् । यसले गर्दा यी दुईबीचको प्रतिस्पर्धा पहिले पारिवारिक र राजनीतिक भएपनि अहिले नितान्त व्यापारिक रहेको छ ।

Click to comment

Trending