अन्तर्राष्ट्रिय

अन्तिम टेस्टमा २६९ रनको फराकिलो जित निकाल्दै वेस्ट इन्डिज विरुद्धको टेस्ट शृङ्खला इङ्ग्ल्यान्डलाई

Published

on

पाहुना टोली वेस्ट इन्डिजलाई तेश्रो तथा अन्तिम टेस्ट खेलमा दुई सय ६९ रनको फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्यान्डले टेस्ट शृंखला आफ्नो पक्ष्यमा पारेको छ । पहिलो टेस्ट गुमाएको इङ्ग्ल्यान्डले दोश्रो र तेश्रो टेस्ट जित्दै शृङ्खला २-१ ले कब्जा जमाएको हो ।

चौथो दिनको खेल वर्षाले प्रभावित भए पछि अन्तिम दिनको खेलमा तीन सय ९९ रनको लक्ष्य लिएर ब्याटिङमा आएको वेस्ट इन्डिजले आफ्ना सबै विकेट गुमाएर मात्र एक सय २९ रन बनाउन सक्यो । टेस्ट शृङ्खला बचाउनका लागि वेस्ट इन्डिजले आजको दिन पुरै खेले पुग्ने थियो तर क्रिस वक्स र स्टुवार्ट ब्रोडको घातक बलिङ अघि टिक्न सकेन ।

चौथो दिनको खेल वेस्ट इन्डिजले दुई विकेटको नोक्सानीमा मात्र १० रन सुरु गरेको थियो भने जितका लागि तीन सय ८९ रन जोड्न पर्ने थियो ।

वेस्ट इन्डिजको तर्फबाट मध्यक्रमका ब्याट्सम्यान शे होपले सर्वाधिक ३१ रन जोडे भने अन्य खेलाडीले उल्लेख्य योगदान दिन सकेनन् ।

वेस्ट इन्डिजको पारी धराशायी बनाउने क्रममा क्रिस वक्सले सर्वाधिक पाँच विकेट लिए भने स्टुवार्ट ब्रोडले पनि चार विकेट हात पारे । वक्सले ११ ओभरमा ५० रन खर्चिए भने ब्रोडले आठ दशमलब एक ओभरमा ३६ रन दिए ।

पहिलो पारीमा छ विकेट लिएका ब्रोडले दोश्रोमा चार विकेट लिँदै कुल १० विकेट हात पारे । एकै टेस्टमा उनले १० विकेट लिएको यो तेश्रो अवसर हो । त्यस्तै आजको खेलमा क्रेग ब्राथवेटको विकेट निकाल्दै उनले टेस्टमा आफ्नो पाँच सयौँ विकेट पनि हात पारे । ब्रोड टेस्ट क्रिकेटमा पाँच सय विकेट लिने सातौँ बलर हुन् ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्ड आफ्नो पहिलो पारीमा तीन सय ६९ रन बनायो भने जबाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले मात्र एक सय ९७ रन बनाउन सक्यो । पहिलो परिमा एक सय ७२ रनको फराकिलो लिड लिएको इङ्ग्ल्यान्डले आफ्नो दोश्रो पारीमा दुई विकेट गुमाएर दुई सय २६ रन बनाए पछि पारी सकिएको घोषणा गरेको हो ।

तेश्रो दिनको खेल छ विकेटको नोक्सानीमा एक सय ३७ रनको अवस्थाबाट सुरु गरेको वेस्ट इन्डिजले ६० रन जोड्दै आफ्ना सबै विकेट गुमाएको हो । वेस्ट इन्डिजका कप्तान जेसन होल्डर र विकेट किपर ब्याट्सम्यान शेन दाउरिच क्रमशः ४६ रन ३७ रन जोडे पनि आफ्नो टोलीलाई ठुलो योगफल सम्म पुर्याउन सकेनन् ।

वेस्ट इन्डिजको पारी धोस्त पार्ने क्रममा इङ्ग्ल्यान्डका स्टुवार्ट ब्रोडले सर्वाधिक छ विकेट लिए भने जेम्स एन्डरसनले पनि दुई विकेट आफ्नो नाममा दर्ता गराए । ब्रोडले १४ ओभर बलिङ गर्दै मात्र ३१ रन खर्चिए ।

इङ्ग्ल्यान्डको दोश्रो पारीमा ओपनर रोरी बर्न्सले सर्वाधिक ९० रन बनाए भने अर्का ओपनर डोम सिब्लीले पनि ५६ रनको पारी खेले । त्यस्तै कप्तान जो रुट ६८ रनमा अविजित रहे ।

यस अघि इङ्ग्ल्यान्डको लागि पहिलो पारीमा ओल्ली पोपले सर्वाधिक ९१ रन जोडे भने विकेट किपर ब्याट्सम्यान जस बटलरले पनि ६७ रनको पारी खेले । त्यस्तै रोरी बर्न्सले ५७ रन जोडे भने १० औं नम्बरमा ब्याटिङ गर्न आएका बोर्डले तुफानी पारी खेल्दै ४५ बलमा ६२ रन जोड्दै इङ्ग्ल्यान्डलाई राम्रो योगफल तर्फ लग्न सफल भए ।

पहिलो पारीमा वेस्ट इन्डिजका किमा रोचले सर्वाधिक चार विकेट लिए भने रोस्टन चेज र शन्नोन ग्याब्रियलले पनि समान २-२ विकेट हात पारे ।

पहिलो टेस्टमा वेस्ट इन्डिजले चार विकेटको रोमान्चक जित हात पारेको थियो भने दोश्रो टेस्टमा इङ्ग्ल्यान्डले वेस्ट इन्डिजलाई ११३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

Click to comment

Trending