Headline

आर्सनलको दुर्गतिः न च्याम्पियन्स लिग, न युरोपा लिग

Published

on

म्यानचेस्टर युनाइटेड र लिभरपुलपछि सबैभन्दा बढी इङ्गलिस प्रिमियर लिगको उपाधि जित्ने टोली आर्सनल हो । डिभजन वानपछि प्रिमियर लिगको रुपमा २० टोलीसहित १९९२ देखि नयाँ संरचनामा शुरु भएयता आर्सनलले तीन पटक उपाधि जितेको छ ।

सन् १९९७–९८ देखि २००४–०५ सम्मका सिजनहरु आर्सनलका लागि आधुनिक प्रिमियर लिगको स्वर्णिम काल थियो । फ्रान्स फुटबल लिजेण्ड थिएरी हेन्री त्यो सफलताको केन्द्रमा रहदा आर्सनल तीन पटक उपाधि जित्न सफल भएको थियो भने कुनै पनि सिजन दोश्रो स्थान भन्दा तर गएको थिएन । आर्सनलले नयाँ पुस्ताको समर्थकहरु कमाउनुको प्रमुख कारण १९९८ मा फ्रान्सलाई बिश्वकप दिलाउने मध्येका प्रमुख खेलाडी हेन्री पनि थिए ।

लगातार ७ सिजन आर्सनलको सर्वाधिक गोलकर्ता बनेका हेन्रीले क्लब छोड्दा उनले लेजेण्डको स्टेटस पाइसकेका थिए । हेन्रीसँग आर्सनलमा डेनिस बर्गक्याम्प, सेस्क फाब्रेगास, रोबिन भान पर्सि, प्याट्रिक भिएरा, रोबर्ट पिरेज, फेडी लन्बग र एस्ली कोल त्यो स्वर्णिम कालका नायकहरु थिए ।

आर्सनल समर्थकहरुलाई आफू गनर्स भएकोमा गर्व त अहिले पनि हुन्छ नै तर त्यो दशकको गनर्स हुनु र अहिले गनर्स हुनुमा आकाश जमिनको फरक छ । त्यति खेर आर्सनलका समर्थकलाई घमण्ड थियो, इङ्गल्याण्डमा उत्कृष्ट फुटबल खेल्न सकेकोमा र यो जायज पनि थियो ।

यो सिजन अघि सम्म लिभरपुल जस्तै आर्सनल समर्थकका लागि पनि प्रिमियर लिग उपाधि इतिहास बनिसकेको छ

आर्सनलको समर्थकसँग जुध्नु अघि सोचेर बोल्नुपर्ने स्थिति हुने थियो, अहिले उनीहरु बिचरा भएका छन् । अहिले आर्सनलका समर्थकहरु बितेका दिनहरुलाई लिएर पनि घमण्ड गर्न सक्ने अवस्थामा छैनन् । किनभने क्लबको प्रदर्शन निरन्तर ओरालो लाग्दै गइरहेको छ र बोल्ने कुनै ठाँउ पनि बाकी रहेको छैन ।

तीन दशकको खडेरी तोड्दै लिभरपुलले यो सिजन १९ औं उपाधि जित्दा आर्सनल भने पछिल्लो २५ बर्षकै सबैभन्दा खराब प्रदर्शन गर्न पुग्यो । आर्सनलले यो सिजन आठौं स्थानमा सक्कायो र १९९५–१६ मा युरोपियन क्लब फुटबल प्रतियोगितामा उपस्थिति जनाउन चुकेको छ ।

उनाई एमेरीको स्थानमा आफ्नै पुर्व खेलाडी मिकेल आर्टेटालाई व्यवस्थापक नियुक्त गर्नु अघि आर्सनल १७ खेलबाट २३ अंक सहित नवौं स्थानमा रहेको थियो । शुरुवाती केही खेलहरुमा आर्टेटाले केही परिवर्तन ल्याएपनि उसले बाकी रहेको २१ खेलबाट ३३ अंकमात्र बटुल्न सक्यो ।

आउने सिजन आर्सनलले न च्याम्पियन्स लिग खेल्नेछ न त युरोपा लिग नै ।

आर्सनलको समस्या ठूलो टिमसँग हार्नु मात्र होइन सानो टिमसँग पनि नराम्ररी पराजित हुनु पनि हो । आइतबार प्रिमियर लिगको अन्तिम दिन रेलिगेसनमा परेको वाट्फोर्डले कडा टक्कर दिएपनि आर्सनल ३–२ ले बिजयी भएको थियो । तर जितको हकदार भने वाट्फोर्ड नै थियो ।

आर्टेटा आए, खेलाए, आफै निराश भए

हुन त आर्सनलले पछिल्लो केही बर्ष ट्रान्सफर मार्केटमा दिल खोलेर पैसा बगाएको छैन । आर्सन वेँगरको लामो व्यवस्थापनमा उनले क्लबलाई थुप्रै उपलब्धि त दिलाए नै तर सँगसँगै क्लब व्यवस्थापनमा एउटा दर्शन नै स्थापित गरिदिए । आफ्ना एकेडेमी उत्पादनलाई राम्रो मुल्यमा बेच्दै औषत खेलाडी मात्र भित्र्याउने । वेँगरको यो दर्शन क्लबको लागि फलिफाप नै साबित भयो ।

ठूला नाम रहेका खेलाडीहरु नरहेपनि आर्सनलले लगातार च्याम्पियन्स लिगमा सहभागिता जनाउदै आयो, र त्योसँगै आयो स्पोन्सरसिपनको प्रशस्त रकम पनि ।

तर फुटबलमा पैसा सब थोक बन्दै जादा वेँगरको यो दर्शन कति समय नै चल्थ्यो र ?

पछिल्लो दुई सिजन आर्सनल च्याम्पियन्स लिगबाट बञ्चित हुनु यसको उदाहरण हो र आउने सिजनका लागि त उसले युरोपा लिग पनि गुमाएको छ । ठूलो इतिहास बोकेको आर्सनलको लागि यो सिजनको परिणामले क्लबलाई अब वेँगरको त्यो दर्शन बोझा बन्न थालेको स्पष्ट भइसकेको छ ।

आगामी सिजन ट्रान्सफर मार्केटमा उत्पात नमच्चाउने हो भने आर्सनल अझै खस्किदै गएपनि कुनै अनौठो हुने छैन ।

Click to comment

Trending