Headline

प्रिमियर लिगमा फर्किएको लिड्स र जासुस बिएल्साको ‘स्पाइगेट’ काण्ड

Published

on

लिड्स युनाइटेड १६ बर्षपछि इङ्गलिस प्रिमियर लिगमा फर्किएको छ । यसै सिजन इङ्गलिस च्याम्पियनसिपको उपाधि जित्नु अघि नै लिड्सले इङ्गल्याण्डको टप फ्लाइट फुटबलमा आफ्नो स्थान पक्का गरिसकेको थियो । अघिल्लो सिजन नै प्रिमियर लिगमा उक्लनु पर्ने लिड्स थोरैले मात्र चुकेको थियो ।

एक पछि अर्को व्यवस्थापक परिवर्तन गर्दै हर सम्भव प्रयास गरेको कुनै समयको बलियो टोली लिड्सलाई अर्जेन्टिनी प्रशिक्षक मार्सेलो बिएल्साले उकासेका हुन् । लिड्स र इङ्गलिस फुटबलमा बिएल्सा भने यो उपलब्धिले मात्र लोकप्रिय छैनन् । २०१९ मा लिड्स नकारात्मक रुपले नै भएपनि चर्चामा रह्यो र त्यसको केन्द्रमा थिए बिएल्सा ।

बिएल्साको स्पाइगेट काण्डले इङ्गलिस फुटबल र मिडिया निकै तातियो । यसले अर्जेन्टिनी प्रशिक्षकको नकारात्मक चर्चा भएपनि मिडियामा उनी लामो समय नै छाइरहे । अहिले लिड्सलाई प्रथम श्रेणीमा उकासेका बिएल्सा झनै चर्चाको शिखरमा पुगेका छन् ।

के हो स्पाइगेट काण्ड ?

२०१९ को जनवरीमा च्याम्पियनसिप म्याचका दौरान हाल चेल्सीका व्यवस्थापक फ्रांक लाम्पार्डले सम्हालेको डर्बि काउन्टिको प्रशिक्षणमा बिएल्साले जासुसी गरेपछि लिड्स युनाइटेड चर्चाको शिखरमा पुग्यो । घट्नाले यति ठूलो रुप लिन पुग्यो कि बिएल्सालाई हलिउडको प्रख्यात जासुस पात्र जेम्स बण्डको रुपमा चित्रण गर्न थालिएको थियो ।

लिड्ससँगको म्याचको लागि तयारी चलिरहदा बिएल्साका एक स्टाफ डर्बिको प्रशिक्षण मैदान नियालिरहेको स्थितिमा सार्वजनिक फुटपाथमा समातिए । त्यसपछि बिल्साले जासुसी गर्दै फाइदा लिन खोजेको आरोपको खण्डमा ७० मिनेटको प्रेस कन्फेरेन्स दिए । यस क्रममा बिएल्साले एउटा पावर पोइन्ट प्रस्तुति दिदै आफ्ना स्टाफहरु कुनै पनि खेलेको तयारीमा कुन हदसम्म जाने गरेका छन् भनेर बिस्तृत रुपमा खण्डन गर्दै गए ।

बिल्साले उक्त पावर पोइन्ट प्रस्तुतिमा टिमहरुको भिडियो, तथ्यांकको बिवरण र अन्य थुप्रै तरिकाहरुको उदाहरण दिएका थिए । लिड्सले त्यो सिजन खेलेका हरेक बिपक्षी टोलीको प्रशिक्षणलाई नियालेको स्विकारेका बिएल्साले यस्तो अभ्यास बिदेशमा सामान्य रहेको र आफूले फाइदा उठाउन भन्दा पनि चिन्ता कम गर्न खोजेका बताएका थिए ।

“मैले लिड्सले खेल्ने हरेक बिपक्षीको निरिक्षण गर्नुका साथै उनीहरुको अभ्यास सत्र पनि नियालेको थिए । आफूलाई चाहे जतिको जानकारी म बिपक्षीको अभ्यास नहेरि लिने गर्थे । मैले तैपनि किन अरु कसैलाई पठाए त ? मलाई कुनै आचार संहिता तोडेको जस्तो लागेको थिएन । मैले अन्य कुनै माध्यमबाट जानकारीहरु लिने प्रयास गरेको हु,” बिएल्साले भनेका थिए ।

पर्याप्त काम नगर्दा हामीलाई निकै ग्लानी हुने गर्छ । बिपक्षीको अभ्यास हेर्दा चिन्ता कम हुन्छ र मेरो केसमा यस्तो गर्न दिनु मुर्खता थियो, आफूले गरेको कार्य गैरकानुनी नभएको तर इङ्गलिस फुटबल संघ र इङ्गलिस फुटबल लिगले कुनै कारवाही गरे स्विकार्ने बताउदै बिएल्साले भनेका थिए ।

परिणामस्वरुप के भयो त ?

इङ्गलिस फुटबल लिगले गुड फेथ (बिश्वास) नियम मिचेको आरोपमा लिड्सलाई २ लाख पाउण्ड जरिवाना गरेको थियो । बिएल्सा आफैले सबै रकम तिरेका थिए । यो काण्डपछि इङ्गलिस फुटबल लिगले ७२ घण्टा अगाडीसम्म आफूले खेल्ने कुनै पनि बिपक्षिको अभ्यास हेर्न नपाउने नयाँ नियम नै लागु गरिदियो ।

बिएल्साको लिगेसी

बिभिन्न धारणा अगाडी आएपनि यो अध्यायपछि बिएल्साको लिगेसी अझै बलियो बन्दै गयो । मुख्य प्रशिक्षकको रुपमा बिएल्साले फुटबल टोलीको खेलमा पार्ने गरेको सकारात्मक प्रभावको बिश्वभरि नै तारिफ गर्ने गरिन्छ । स्पाइगेट काण्डपछि यसलाई केहीले नकारेपनि अन्य भने बिएल्सा र उनको स्टाफले खेल अघि बिपक्षीका बारे जानकारी बटुल्नका गरेको अभ्यासले चकित भएका छन् । स्पाइगेट काण्डले वेष्ट योर्कसायरमा बिएल्साको प्रसिद्धीलाई अर्को उचाइ दिएको छ ।

चेल्सी आउनुअघि लाम्पार्डले डर्बी काउन्टी एक सिजन सम्हालेका थिए

स्पाइगेटबारे अन्य व्यवस्थापकहरुले के भनेका थिए ?

यो एउटा सरप्राइज हो । हामीले खेलको अखण्डतालाई बताइ राख्न आवश्यक छ । म फेयर प्ले र सम्मानमा बिश्वास राख्ने मध्ये पर्छु । मलाई लाग्छ लिड्सले यसमा दायरा नाघेको छ । धन्न यो काण्डमा मेरो टिम परेन । मैले यो महसुस गर्न परेको छैन तर मैले फ्रांक (लाम्पार्ड) को लागि भने केही महसुस गरेको थिए । फुटबलमा कुनै पनि तरिकाले फाइदा उठाउने तर्फ सोच्नु सामान्य हो । आफ्नो टिम, रणनीति र योजनाको संरक्षण गर्ने तर्फ सोच्नुपर्छ । तर अरुको प्रशिक्षण मैदानमा आफ्नो मान्छे पठाउनु उचित होइन । – स्टेभन जेरार्ड (रेन्जर्स)

मेरो प्रस्तुति हेर्ने हो भने हामी पनि बिश्लेषण गर्ने गर्छौ । मैले यो देखेको होइन, सुनेको हु । यो हास्यास्पद भएकोले यस बिषयमा म धेरै बोल्न चाहन्न । उनले (बिएल्साले) आफू के हु भनेर देखाएका छन् । मैले यस्तो काम न पेप ग्वार्डियोलाले गरेको देखे न योर्गेन क्लोपले न त माउरिसियो पोचेटिन्होले नै । यो समर्थकहरुका लागि आखा खोल्ने अवसर हो किनभने धेरै जसो कुराहरु गोप्य रुपमा गरिएको छ । – फ्रांक लाम्पार्ड (डर्बि काउन्टी, हाल चेल्सी)

उनी फरक (फुटबल) संस्कृतिबाट आएका हुन् र हामीले बिदेशी प्रशिक्षक र व्यवस्थापकहरुलाई स्वागत गरेका छौं । उनी फरक नियम रहेको स्थानबाट आएका हुन् । यो नैतिक छ ? छैन । के हामी यो गर्छौं ? गर्दैनौं । तर खेलका अन्य पक्षहरु प्नि छन् जसले हामीलाई उदास बनाउने गर्छ, ती पक्षहरु राम्ररी सम्बोधन गरिएका हुदैनन् । हामीले फुटबल नाम दिने गरेको यो दुनियामा उनले यो (जासुसी) काम गरिदिएका छन् । – क्रिस वाइल्डर (सेफिल्ड युनाइटेड)

Click to comment

Trending