अन्तर्राष्ट्रिय

खराब सुरुवातका बाबजुत पहिलो दिन इंग्ल्यान्डको पकडमा

Published

on

ओल्ली पोप र जस बटलरको शतकीय साझेदारीमा वेस्ट इण्डिज बिरुद्धको तेश्रो तथा अन्तिम टेस्टको पहिलो दिन खराब सुरुवातका बाबजुत इंग्ल्यान्डले आफ्नो पकडमा पार्न सफल भएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको इंग्ल्यान्डले पहिलो दिनको खेलको समाप्तीमा ८५ दशमलब चार ओभर खेल्दै चार विकेटको नोक्सानीमा दुई सय ५८ रन बनाएको छ ।

इंग्ल्यान्डका ओपनर डोम सिब्ली पहिलो ओभरमा नै शुन्य रनमा आउट भए । त्यस पछि आएका कप्तान जो रुटले पनि १७ रन मात्र जोड्न सके । बेन स्टोक्स पनि २० रन जोड्दै आउट भए । ५७ रन जोडेका ओपनर रोरी बर्न्स पनि आउट भए पछि इंग्ल्यान्ड १२२ रनको अवस्थामा चार विकेट बनाएर खुम्चिन पुग्यो ।

तर त्यस पछि ब्याटिंङमा आएका ओल्ली पोप र विकेट किपर ब्याट्सम्यान जस बटलरको उत्कृस्ट साझेदारीमा इंग्ल्यान्डले पहिलो दिनको खेलको समाप्तीमा राम्रो प्रदर्शन गर्न सकेको हो । पोप र बटलरले पाँचौं विकेटका लागि ३८ ओभर खेल्दै अविजित १३६ रन जोड्न सफल भएका छन् ।

दिनको खेलको समाप्तीमा पोप एक सय ४२ बलको सामना गर्दै ९१ रनमा तथा बटलर एक सय २० बल खेल्दै ५६ रनमा अविजित रहेका छन् ।

वेस्ट इण्डिजका किमा रोचले सर्वाधिक दुई तथा रोस्टन चेजले एक विकेट हात पारेका छन् ।

तीन खेलको शृंखला १-१ को स्थितीमा रहेको छ । पहिलो टेस्टमा वेस्ट इण्डिजले चार विकेटको रोमान्चक जीत हात पारेको थियो भने दोश्रो टेस्टमा इंग्ल्यान्डले वेस्ट इण्डिजलाई ११३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

Click to comment

Trending