अन्तर्राष्ट्रिय

स्टोक्स चम्कदा वेस्ट इण्डिज बिरुद्ध इंग्ल्यान्डको रोमान्चक जीत

Published

on

वेस्ट इण्डिज बिरुद्धको दोश्रो टेस्टमा घरेलु टोली इंग्ल्यान्डले रोमान्चक जीत हात पारेको छ । तेश्रो दिनको खेलमा बर्षा बाधक बनेता पनि इंग्ल्यान्डले वेस्ट इण्डिजलाई ११३ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यस जीतसँगै इंग्ल्यान्डले तीन खेलको शृंखला १-१ को बराबरीमा पुर्याएको छ ।

इंग्ल्यान्डले दिएको तीन सय १२ रनको लक्ष्य लिएर ब्याटिंङमा आएको वेस्ट इण्डिजले ७० दशमलब एक ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र एक सय ९८ रन बनाउन सक्यो । वेस्ट इण्डिजका शामर्ह ब्रूक्सले सर्वाधिक ६२ तथा जेर्मैन ब्ल्याकउडले ५५ रन जोडे पनि आफ्नो टोलीलाई हारबाट बचाउन सकेनन् ।

इंग्ल्यान्डको जीतमा दोश्रो पारीमा स्टुवार्ट बोर्डले सर्वाधिक तीन विकेट लिए भने क्रिस वोक्स, डोम बेस र बेन स्टोक्सले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

इंग्ल्यान्डको जीतमा नायक रहे उपकप्तान बेन स्टोक्स । पहिलो पारीमा तीन सय ५६ बलको सामना गर्दै एक सय ७६ रनको पारी खेलेका स्टोक्सले दोश्रो पारीमा ओपनिङमा ब्याटिंङ गर्दै ५७ बलमा आक्रमक अविजित ७८ रन बनाए । उनको आक्रमक पारीको मद्दतमा इंग्ल्यान्डले तीन विकेटको नोक्सानीमा १२९ रन बनाएर पारी सकिएको घोषणा गरेको थियो ।

खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको इंग्ल्यान्ड आफ्नो पहिलो पारीमा चार सय ६९ रनको विशाल योगफल बनायो भने वेस्ट इण्डिजलाई मात्र २८७ रनमा रोक्न सफल भयो ।

वेस्ट इण्डिजले चौथों दिनको खेल एक विकेटको नोक्सानीमा मात्र ३२ रनको अवस्थाबाट सुरु गरेको थियो भने उसले दुई सय ५५ रन जोड्दै आफ्नो बाँकी नौं विकेट गुमाएको हो ।

वेस्ट इण्डिजको तर्फबाट ओपनर क्रेग ब्राथवेटले सर्वाधिक ७५ रन जोडे भने शामर्ह ब्रूक्सले ६८ तथा रोस्टन चेजले पनि ५१ रनको योगदान दिए ।

वेस्ट इण्डिजलाई सस्तैमा रोक्ने क्रममा स्टुवार्ट बोर्ड र क्रिस वोक्सले समान तीन तीन विकेट लिए भने साम कुर्रानले पनि दुई विकेट हात पारे ।

यस अघि ओपनर डोम सिब्ली र बेन स्टोक्सले शतक प्रहार गरेसँगै इंग्ल्यान्डले नौं विकेटको नोक्सानीमा चार सय ६९ रन बनाएर आफ्नो पहिलो पारी सकिएको घोषणा गरेको थियो । स्टोक्सले सर्वाधिक एक सय ७६ रन बनाए भने सिब्लीले पनि १२० रनको पारी खेले ।

वेस्ट इण्डिजका रोस्टन चेजले पहिलो पारीमा सर्वाधिक पाँच विकेट हात पारे भने किमार रोचले पनि दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

साउथह्याम्टनमा भएको पहिलो टेस्टमा वेस्ट इण्डिजले चार विकेटको रोमान्चक जीत हात पारेको थियो । अन्तिम तथा निर्णायक टेस्ट जुलाई २४ मा म्यानचेस्टरमा नै आयोजना हुनेछ ।

Click to comment

Trending