Headline

बार्साले ला लिगा गुमाएपनि मेस्सीको नाममा किर्तिमान नै किर्तिमान

Published

on

स्पेनिस ला लिगामा लियोनल मेस्सीले आलाभेसबिरुद्धको खेलमा दुई गोल गरेपछि सातौं पटक गोल्डेन बुट जितेका छन् । आइतबारको खेलमा बार्सिलोनाले आलाभेसलाई ५–० ले हरायो ।

लगातार चौथो पटक गोल्डेन बुट जित्ने क्रममा मेस्सीले यो सिजन समाप्त हुँदा २५ गोल गरे । उनी रियल म्याड्रिडका करिम बेन्जेमा भन्दा चार गोलले अघि रहे । ला लिगामा १२ बर्षपछि कुनै पनि सर्वाधिक गोलकर्ताले ३० भन्दा कम गोल गरेको यो पहिलो पटक हो । मायोर्काका ड्यानियल गुइजाले २००७–०८ को सिजनमा २७ गोल गर्दै सर्वाधिक गोलकता बनेका थिए ।

मेस्सीले ला लिगामा सबैभन्दा बढी असिस्टको किर्तिमान पनि कायम गरेका थिए । अन्सु फातीलाई पहिलो गोलका लागि पास मिलाउदै २१ औ असिस्ट गरे । यस क्रममा उनले बार्सिलोनाकै जाभी हर्नान्डेजको किर्तिमान तोडेका हुन् ।

गत साता रियल भालाडोलिडबिरुद्धको खेलमा आर्टुरो भिडालको गोलमा असिस्ट गर्ने क्रममा जाभाीको किर्तिमानको बराबरी गरेका थिए । पुर्व बार्सा कप्तान जाभीले २००८–०९ को सिजनमा यो किर्तिमान कायम गरेका थिए ।

मेस्सी एकै सिजन ला लिगामा २० भन्दा बढी गोल र असिस्ट गर्ने खेलाडी पनि बनेका हुन् । आलाभेसबिरुद्धको फराकिलो जितमा लुईस सुवारेज र नेल्सन सेमेडोले पनि १–१ गोल गरेका थिए । रिकी पुइग, मेस्सी र भिडालको प्रहार पोस्टमा लागेपछि फातिले २४ औं मिनेटमा गोल गरेका थिए ।

बार्साले यसअघि नै ला लिगाको उपाधि रियल म्याड्रिडलाई सुम्पिसकेको थियो । आफ्नो अन्तिम खेलमा रियल आइतबार लेगानेससँग २–२ गोलको बराबरी खेलेको थियो । रियलको जितमा कप्तान सर्जियो रामोस र मार्को एसेन्सियोले गोल गरेका थिए ।

बराबरीपछि लेगानेस दोश्रो डिभिजिनमा झर्न पुग्यो । ३६ अंकमा लिग समाप्त गरेको लेगानेसलाई रेलिगेसन बचाउन जित आवश्यक रहेको थियो । मायोर्का र इस्पान्योल यसअघि नै रेलिगेट भइसकेका थिए । १७ औं स्थानको सेल्टा भिगोले इस्पान्योलसँग बराबरी खेलेपछि रेलिगेसन बचाएको थियो ।

अंक तालिकाको माथिल्लो तीन स्थानमा रियलको ८७ अंक रह्यो भने बार्साको ८२ र एट्लेटिको म्याड्रिड र सेभिया समान ७० अंकमा रहे । एट्लेटिको हेड–टु–हेडमा तेश्रो स्थानमा रह्यो । दुवै टोलीले च्याम्पियन्स लिगमा स्थान बनाएका छन् । एट्लेटिकोले आइतबार सातौं स्थानको रियल सोसिडाडसँग १–१ को बराबरी खेलेको थियो ।

६० अंक साथ पाचौं स्थानको भिलारियालले आइबारलाई ४–० ले हरायो । भिलारियाल र सोसिडाडले युरोपा लिग खेल्नेछन् । सोसिडाडले समान ५६ अंक रहेपनि हेड–टु–हेडमा ग्रानडालाई युरोपा लिग छनोटमा पछि पारेको हो ।

Click to comment

Trending