Headline

वान डेमा सबैभन्दा बढी ४ सय भन्दा बढी रन बनाउने टिमहरु

Published

on

दक्षिण अफ्रिका र अष्ट्रेलियाबीचको त्यो ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय कसले बिर्सन सक्छ र ? दक्षिण अफ्रिकामै भएको खेलमा अष्ट्रलियाले घरेलु टोलीलाई स्तब्ध पार्दै ४ सय ३४ रनको योगफल बनायो । दोश्रो इनिङ्गस शुरु हुनु अघि नै घरेलु टोली पराजित भइसकेको आंकलन गर्नेहरु धेरै थिए । अष्ट्रेलियाले पनि खेल जितिसकेको सोचेको थियो ।

तर दक्षिण अफ्रिकाले बिश्व क्रिकेटलाई नै एउटा ठूलो पाठ सिकाइदियो । ४ सय ३४ रन बनाउन सकिन्छ भने त्यसलाई पछ्याउन पनि सकिन्छ भन्दै दक्षिण अफ्रिकाले जितेर देखाइदियो । त्यो खेल यता एकदिवसीयमा टन्न ४ सय रन भन्दा बढी बन्न थालेका छन् । आधुनिक क्रिकेटले मारेको छलाङ्ग भनेकै ४ सय को आंकडा सामान्य बन्नु हो ।

कुनै जमाना थियो जब एकदिवसीय क्रिकेट ६० ओभरको हुन्थ्यो र टिमहरुलाई ३ सय रन बनाउन पनि धौं–धौं पथ्र्यो । २ सय ५० बिजयी योगफल हुने गथ्र्यो । तर समयसँगै क्रिकेट पनि परिवर्तन भएको छ । हेरौं अहिलेसम्म कुन टिमले सबैभन्दा बढी ४ रन नगाएका छन् ।

५. श्रीलंका (दुई पटक)

सनथ जयसुर्याको सन्याससँगै आक्रमक क्रिकेट खेल्ने राष्ट्रहरुको सुचिबाट बाहिरिएको श्रीलंकाले दुई पटक ४ सयको योगफल नघाएको छ । र दुवै पटक टिममा थिए आक्रमक जयसुर्या । श्रीलंकाको पहिलो ४ सयको योगफल नेदरल्याण्ड्सबिरुद्ध पुरा गरेको थियो ।

एम्स्टलभिनमा भएको खेलमा श्रीलंकाले ९ विकेटको क्षतिमा ४ सय ४३ रन बनाएको थियो । यस क्रममा आक्रमक जयसुर्याले १ सय ४ बलमा १ सय ५७ रन बनाएका थिए भने तिलकरत्ने दिल्शानले ७८ बलमा १ सय १७ रन जोडेका थिए । २००६ मा बनेको यो योगफलको किर्तिमान एक दशकसम्म कसैले तोड्न सकेको थिएन । खेलमा श्रीलंका १ सय ८५ रनले बिजयी भएको थियो ।

अर्को ४ सयको योगफल भने श्रीलंकाले भारतबिरुद्ध बनाएको थियो तर खेल भने हार्न पुगेको थियो । २००९ मा भारतको राजकोटमा भएको खेलमा भारतले पहिलो ब्याटिङ्ग गर्दै ४ सय १४ रन बनायो । यस क्रममा विरेन्दर सहवागले १ सय २ बलमा १ सय ४६ रन बनाए भने सचिन तेन्दुल्कर र कप्तान महेन्द्र सिँह धोनीले आक्रमक अद्र्धशतक पुरा गरेका थिए ।

श्रीलंका यो खेलमा ४ सय ११ रनमा रोकिएको थियो । दिल्शानले १ सय २४ बलमा १ सय ६० रन बनाएका थिए भने कप्तान कुमार साँगाकाराले ९० रन बनाएपनि यो पर्याप्त रहेन । यो खेलमा चौथो नम्बरमा ब्याटिङ्ग गर्न आएका जयसुर्याले मात्र पाँच रन बनाएका थिए ।

४. अष्ट्रेलिया (दुई पटक)

अचम्म लाग्छ, एकदिवसीय क्रिकेटमा पहिलो पटक ऐतिहासिक ४ सय रनको आंकडा पार गर्ने टोली अष्ट्रेलिया नै हो तर अष्ट्रेलिया आफैले भने दुई पटक मात्र यो योगफल कटाएको छ । तर यसमा अष्ट्रेलियाको ठूलो मैदानको भुमिका पनि अहम छ । निकै ठूलो बाउण्डरी हुने गरेकाले अष्ट्रेलियामा ठूलो योगफल बनाउन निकै हम्मे–हम्मे पर्छ ।

अष्ट्रेलियाले दक्षिण अफ्रिकाबिरुद्ध जोहानेसवर्गको वान्डररर्समा पहिलो पटक ४ सय को योगफल नघाएको थियो । २००६ मा भएको पाँच म्याचको एकदिवसीय श्रृंखालको अन्तिम तथा निर्णायक खेलमा कप्तान रिकी पोन्टिङ्गले १ सय ५ बलमा १ सय ६४ र माइक हस्सीले ५१ ब्लमा ८१ रन प्रहार गरेपछि अष्ट्रेलियाले चार विकेटको क्षतिमा ४ सय ३४ रन बनायो । जवाफमा हर्सेल गिब्सले १ सय ११ बलमा १ सय ७५ र कप्तान ग्रेम स्मिथले ५५ बलमा ९० रन बनाएपछि दक्षिण अफ्रिकाले एक बल बाकी छँदा ९ विकेट गुमाउदै ४ सय ३८ रन बनाएको थियो ।

अष्ट्रेलियाको अर्को ४ सय को योगफल २०१५ को बिश्वकपमा अफगानिस्तानबिरुद्ध घरेलु मैदानमै रहेको थियो । पर्थमा डेविड वार्नरले १ सय ३३ बलमा १ सय ७८, स्टिभ स्मिथले ९५ र ग्लेन म्याक्सवेलले ८८ रन बनाएपछि अष्ट्रेलियाले ४ सय १७ रन बनायो । १ सय ४२ रनमै अल आउट भएको अफगानिस्तान २ सय ७५ रनको फराकिलो अन्तरले पराजित हुन पुगेको थियो ।

३. इङ्गल्याण्ड (चार पटक)

२०१५ को बिश्वकपमा लज्जास्पद प्रदर्शन गर्दै समुह चरणबाटै बाहिरिएपछि इङ्गल्याण्डले बिश्व क्रिकेटमा आफ्नो ब्याटिङ्गमा क्रान्ति नै ल्याएको छ । उसले चार पटक ४ रनको आंकडा नाघेको छ र सबै २०१५ को बिश्वकपछि नै सम्भव भएको छ । उसले श्रीलंकाको ४ सय ४३ रनको एक दशकदेखि किर्तिमान भँग मात्र गरेको छैन, ५० ओभरमा ५ सय रनको असम्झव जस्तो लाग्ने योगफल सबैभन्दा नजिक पनि पुगिसकेको छ ।

इङ्गल्याण्डले पहिलो ४ सय रन न्युजिल्याण्डबिरुद्ध घरेलु श्रंखलामा बनाएको थियो । २०१५ जुलाईमा भएको पहिलो एकदिवसीयमा इङ्गल्याण्डले जो रुट र जोस बट्लरले शतक प्रहार गरेपछि इङ्गल्याण्डले ९ विकेटको क्षतिमा ४ सय ८ रन बनाएको थियो । शतक प्रहार गर्ने दुवै खेलाडीले आक्रमक ब्याटिङ्ग गरेपनि इङ्गल्याण्डको लागि ४ रनको आंकडा कटाउने काम भने स्पिनर अदिल रशिदले गरेका थिए ।

रशिदले ५० बलमा ६९ रन हानेका थिए । त्यो उनको करिअरको अहिलेसम्मकै एक मात्र अद्र्धशतक हो । जवाफी ब्याटिङ्गमा न्युजिल्याण्ड ३१ दशमलव १ ओभरमा १ सय ९८ रनमै समेटिएको थियो ।

२०१६ मा इङ्गल्याण्डले पाहुना टोली पाकिस्तानबिरुद्धको श्रृंखलामा श्रीलंकाको ४ सय ४३ रनको किर्तिमान तोड्यो । एलेक्स हेल्सले १ सय २२ बलमा १ सय ७१ रन बनाउनुका साथै जोस बट्लर (९०), जो रुट (८५) र कप्तान ओइन मोर्गन (५७) ले पनि आक्रमक खेलेपछि इङ्गल्याण्डले ४ सय ४४ रन बनायो । पाकिस्तान २ सय ७५ रनमै समेटिएको थियो ।

त्यसपछि आयो नयाँ बिश्व किर्तिमान । कप्तान स्टिभन स्मिथ, डेभिड वार्नर र क्यमरोन ब्यांक्रफ्ट बल ट्याम्परिङ्ग काण्डमा मुछिएको केही समय अष्ट्रेलिया निकै कमजोर टोली बनिसकेको थियो । २०१८ मा मार्चमा दक्षिण अफ्रिकाको सिरिजमा भएको त्यो काण्डपछि तीनै खेलाडी प्रतिबन्धमा परे । ब्याटिङ्गको मेरुदण्ड भाच्चिएको अष्ट्रेलिया इङ्गल्याण्ड भ्रमणमा गयो र घरेलु टोलीले नयाँ बिश्व किर्तिमान नै बनायो ।

जुन १९ मा भएको एकदिवसीयमा हेल्सले १ सय ४७, जोनी बेयरस्टोले १ सय ३९ र जेसन रोयले ८२ रन बनाएपछि इङ्गल्याण्डले ४ सय ८१ रनको किर्तिमान खडा गर्यो । ट्रभिस हेडले मात्र अद्र्धशतक बनाएको खेलमा अष्ट्रेलिया ३७ ओभरमा २ सय ३९ रनमै समेटियो ।

२०१९ फेब्रुवरीमा ग्रानडामा भएको खेलमा पाहुना टोलीले वेष्ट इण्डिजबिरुद्ध ४ सय १८ रन बनायो । यस क्रममा बट्लरले ७७ बलमै १ सय ५० रन ठोकेका थिए भने मोर्गनले १ सय ३ रन बनाए । युनिभर्स बोसले ९७ बलमा १ सय ६२ रन बनाए पनि वेष्ट इण्डिजले ४८ ओभरमा ३ सय ८९ रन मात्र बनाएको थियो ।

२. भारत (पाँच पटक)

भारतले आफ्नो एकदिवसीय क्रिकेट इतिहासको पहिलो ४ सयको योगफल कमजोर बर्मुडाबिरुद्ध क्यारेबियनमा भएको २००७ को बिश्वकपमा पुरा गरेको थियो । विरेन्दर सहवागको १ सय १४, सौरभ गाँगुलीको ८९ र युवारज सिँगहको ८३ रनको मद्दतमा भारतले पाँच विकेट गुमाउदै ४ सय १३ रन बनाएको थियो । बर्मुडा ४३ दशमलव १ ओभरमा १ सय ५६ रनमा अल आउट भएको थियो ।

राजकोटमा भएको श्रीलंकाबिरुद्धको ४ सय १४ रन दोश्रो थियो भने दक्षिण अफ्रिकाबिरुद्ध २०१० मा ग्वालियरमा बनेको ४ सय १ रन तेश्रो । भारतको तेश्रो ४ सय रनको योगफल किन पनि महत्वपूर्ण थियो भने यो खेलमा सचिन तेन्दुल्करले एकदिवसीय क्रिकेट इतिहासमा पहिलो २ सय रन पुरा गरेका थिए ।

सचिनले १ सय ४७ बलको सामना गर्दै २ सय नटआउट बनाएका थिए भने दिनेश कार्तिक (७९) र कप्तान महेन्द्र सिँह धोनी (६८) ले पनि उल्लेखनीय योगदान दिएपछि भारतले ४ सय १ रन बनाएको थियो । दक्षिण अफ्रिका ४२ दशमलव ५ ओभरमा २ सय ४८ रनमा रोकिएको थियो । भारतले बनाएका अन्य दुवै ४ सयको योगफलमा पनि ब्याट्स्म्यानहरुले २ सय रन नघाएका छन् ।

वेष्ट इण्डिजबिरुद्ध २०११ को एकदिवसीय श्रंखलामा विरेन्द्र सहवागले २ सय १९ रन बनाएपछि भारतले ४ सय १८ रन बनाएको थियो भने रोहित शर्माले बिश्व किर्तिमान कायम गर्दा श्रीलंकाबिरुद्ध २०१४ मा ४ सय रन बनाएको थियो । रोहितले १ सय ७३ बल खेल्दै २ सय ६४ रन बनाएका थिए जुन एकिदवसीय क्रिकेटको अहिलेसम्मकै सर्वाधिक व्यक्तिगत योगफल हो । रोहितले त्यो खेलमा ३३ चौका र ९ छक्का प्रहार गरेका थिए ।

१. दक्षिण अफ्रिका (६ पटक)

२००६ मा अष्ट्रेलियाबिरुद्ध किर्तीमानी ४ सय ३५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले त्यही बर्ष जिम्बाब्वेलाई ४ सय १८ रन ठोकेको थियो । घरेलु मैदानमा लुट्स बोस्मन, अल्भिरो पिटर्सन र ज्याक कालिसले अद्र्धशतक प्रहार गरेपछि विकेटकिपर ब्याट्स्म्यान मार्क बाउचरको उत्कृष्ट प्रदर्शनमा दक्षिण अफ्रिकाले ठूलो योगफल बनाएको थियो ।

बाउचरले १० छक्का र ८ चौका प्रहार गर्दै ६८ बलमा नटआउट १ सय ४७ रन बनाएपछि जिम्बाब्वे ध्वस्त भएको थियो । त्यसपछि भने दक्षिण अफ्रिकाले अर्को ४ सय रनको योगफलका लागि अर्को ९ बर्ष कुर्नु पर्यो । तर दक्षिण अफ्रिकाले एकै बर्ष चार वटा ४ सय को योगफल बनायो भने एकदिवसीय क्रिकेटमा तिब्र गतिको शतकको नयाँ बिश्वक किर्तिमान समेत कायम गर्यो ।

एबि डिभिलियर्सले जोहानेसबर्गमा ३१ बलमै शतक प्रहार गर्दै १ सय ४९ रन बनाएपछि दक्षिण अफ्रिकालाई घरेलु श्रृंखलामा ४ सय ३९ रन प्रहार गर्यो । डि भिलियर्सले एक पटक फेरि अर्को किर्तिमान कायम गर्दै तिब्र गतिको १ सय ५० रन बटुल्दै ६६ बलमा १ सय ६२ रन बनाएपछि दक्षिण अफ्रिकाले २०१५ को बिश्वकपमा ४ सय ८ रन बनायो ।

त्यही बिश्वकपमा हसिम आम्लाले १ सय ५९ र फाफ दु प्लेसिले १ सय ९ रन बनाएपछि दक्षिण अफ्रिकाले आयरल्याण्डबिरुद्ध ४ सय ११ रन बनायो भने भारतबिरुद्ध अक्टुबरमा भएको एकदिवसीय श्रंखलामा क्वेन्टिन डि कक, दु प्लेसि र डि भिलियर्सको शतकको मद्दतमा ४ सय ३८ रन बनाएको थियो ।

Click to comment

Trending