Headline

जिदानको ‘डिफेन्सिभ मास्टरक्लास’ ले सम्भव बनेको रियलको ला लिगा उपाधि

Published

on

जिनेदिन जिदानले आफ्नो दोस्रो र क्लबका लागि ३४ औं स्पेनिस ला लिगाको उपाधी जिताउदै स्पेनमा रियल म्याड्रिडको साख जोगाए । ड्रेसिङ रुममा आफ्नो कमाण्ड कायम गरेका जिदानको आखा भरि आसु थियो जब रियलले बिहिबार भिलारियाललाई लिगको ३७ औं खेलमा २–१ ले हरायो ।

फ्रान्सका लागि १९९८ का बिश्व बिजेताको आँशुले नै स्पष्ट दर्साउछ ला लिगा उपाधी रियल र उनका लागि कति महत्वपूर्ण छ भनेर । “च्याम्पियन्स लिग भनेको च्याम्पियन्स लिग हो तर ला लिगा उपाधिले म अझ बढी खुशी छु किनभने ला लिगा सबथोक हो,” जिदानले भनेका थिए । “खेलाडीहरुले जे गरेर देखाए त्यो निकै नै अविश्वसनीय छ । मसँग यो जितलाई व्याख्या गर्ने कुनै शब्द नै छैन । म निकै भावुक भएको छ।”

पछिल्लो एक दशक ला लिगा उपाधि जित्नका लागि रियललाई अप्रत्याशित रुपमा निकै कठिन रहेको थियो । १० बर्षमा तीन घरेलु उपाधि रियल जस्तो टोलीको लागि सन्तोषजनक संख्या होइन । लगातार तीन पटक च्याम्पियन्स लिगको उपाधि स्पेनको घरेलु लिगको असफलतालाई ढाकेपनि समर्थकहरु सधै धेरै चाहन्छन् । २०११–१२ को सिजनमा उपाधि जितेपछि रियलले २०१६–१७ मा ला लिगा जितेको थियो । त्यो समयपनि रियलबाट नै खेलेका जिदानले ला लिगा डबल जिताएका थिए ।

खराब गएको अघिल्लो सिजनपछि रियलको उद्दारका लागि एकपटक फेरि जिदान आफै अगाडी आएका छन् ।

२०१८ मा जब क्रिस्चियानो रोनाल्डोले म्याड्रिड छोडे त्यति बेला नै समर्थकहरुले केही गुमाएको आभाष गरिसकेका थिए । गत सिजन युरोपका राजा मनिएको रियल च्याम्पियन्स लिगमा आयाक्ससँग स्तब्ध हुनुका साथै ला लिगामा १९ अंकले पछि परेपछि यो साबित पनि भएको थियो ।

रियलको कमान सम्हाल्न युलियन लोपेतगी र स्यान्टियागो सोलारी आए, दुवैले प्रयास गरे तर असफल भए । रियल दोस्रो एसी मिलन हुने हल्ला बजारमा आउने क्रममा थियो । तर, फ्लोरेन्टिनो पेरेज फरक उपाय लिएर आए । त्यो उपायसँगै आए डेढ बर्षअघि अप्रत्याशित तरिकाले राजीनामा दिएका जिदान ।

समर्थक र पण्डितहरुले जिदानलाई बिश्वास नगर्दै रोनाल्डोलाई मात्र च्याम्पियन्स लिगको सफलताको क्रेडिट दिएकाले रियललाई सहि बाटोमा ल्याउन गाह्रो भने थियो । मान्छेहरुले रोनाल्डोबिना म्याड्रिड केही नभएको पनि बताए तर पेरेज, जिदान र सिँगो टिमले नै सबैलाई गलत साबित गरिदिएका छन् । “म्यड्रिडमा कुनै पनि खेलाडी रियल म्याड्रिड भन्दा ठूला हुदैनन” भनिए जस्तै भएको छ ।

जिदानले आफ्नो पुन नियुक्तिपछि रियालले आउँदै गरेको सिजन ला लिगा जित्न ध्यान केन्द्रित गर्नेछ भनेका थिए र त्यही भएको छ । रोनाल्डोको अभाव पुरा गर्नु गाह्रो नै थियो तर जिदानले उत्कृष्ट रक्षात्मक रणनीतिमा आफूलाई साबित गर्दै लाई त्यो अभावलाई पुरा गरेका थिए ।

उनले रोनाल्डोलाई गोलकिपर थिबाउ कोर्टवासँग प्रतिस्थापिन गरे भने रियललाई युरोपकै पाँच ठूला लिगहरु मध्येको सबैभन्दा रक्षात्मक टोली बनाए । जिदानको रणनीतिले आक्रमणले खेल जिताउछ तर डिफेन्सले उपाधि भन्ने भनाईलाई सार्थक बनाएर देखाइदिए । ला लिगाको उपाधी दौडमा रहन म्याड्रिडलाई स्थिरता चाहिन्छ भन्ने जिदानलाई राम्रो ज्ञान थियो । र, उनले त्यही गरेर देखाए ।

रियलको उपाधि यात्रामा २१ छुट्टा–छुट्टै खेलाडीले यो सिजन गोल गरेका थिए जुन यो शताब्दीमै कुनै पनि टिमले गर्न सकेको थिएन । सर्जियो रामोसको नेतृत्वमा रहेको जिदानको रियलले नितान्त टिम प्रयासमा सफलता चाखेको हो ।

सफलता पुर्वक खेलाडी व्यवस्थापन गर्दै जिदानले प्रतिभाले भरिएको रियलको टोलीलाई ला लिगाको उपाधि जिताएका हुन् । रियलको बिगतको असफलता भनेको साँघुरो जितहरु निकाल्न नसक्नु नै थियो । तर जिदानले सबै खेलाडीलाई केन्द्रित त बनाए नै कोर्टवाको उत्कृष्ट सिजनमध्येको एकले पनि उनलाई मद्दत गर्न पुग्यो ।

जिदानको रियलले यो सिजन मात्र २३ गोल खाएको छ, पछिल्लो एक दशकमा यो नै उत्कृष्ट प्रदर्शन हो । १८ खेलमा गोल नखाएका कोर्टवाले रियल लिजेण्ड इकर कासिआसले २०११–१२ गरेको प्रदर्शनलाई झण्डै दोहोर्याएका थिए । हालको रियलले २०११–१२ को सिजनमा होजे माउरिन्होले सम्हालेको टिमको सर्वाधिक गोलको किर्तिमानको नजिक नपुगेपनि रक्षात्मक रणनीतिले भने त्यसको व्यवस्थापन गरेको छ ।

निकै खराब गएको अघिल्लो सिजनको निराशाबाट जिदानले रियललाई उत्साहित बनाइसकेका छन् । जिदानको रेखदेखमा रियल यहाँसम्म आइपुग्ला भनेर कसैले सोचेको पनि थिएन । २०१६ देखि जिदानले ११ उपाधि जितिसकेका छन् जुन यो समयावधिमा कुनै पनि प्रशिक्षकले गर्न सकेका छैनन् ।

रियालका लागि जिदान एक आशिर्वाद हुन् । जिदानले बर्षौपछि बार्सिलोनालाई उसको सिँहाशनबाट बाहिर निकालेका छन्, समर्थकहरुलाई रोनाल्डोलाई बिर्सन लगाएका छन् । रोनाल्डो भन्दा पनि जिदानको अनुपस्थितिले क्लबले सफलता हात पार्न नसकेको भान हुन थालेको छ ।

Click to comment

Trending