Headline

ब्राजिल र उरुग्वेले भुल्न नसकेको ‘माराकानाजो’

Published

on

बिश्व फुटबलका महान खेलाडी पेले जम्मा ९ बर्षका थिए जब उरुग्वेले एक गोलले पछि परेको स्थितिलाई उल्टाउदै २–१ ले १९५० को बिश्वकप उचाल्दा ब्राजिललाई ‘माराकानाजो’ आघात भएको थियो । रियो दि जेनेरियोको माराकाना स्टेडियममा खेलिएको फाइनलपछि ब्राजिलले बोकेको चोटलाई रँगशालाको नामले नै ‘माराकानाजो’ भनिएको थियो ।

ब्राजिल राष्ट्रिय शोकमा डुबेको दिन ऐल्सिडे जिग्गियाले बिजयी गोल गरे लगत्तै पेलेका बुवा रोएका थिए । आफ्नो बुवाको नैराश्यतालाई मेटाउनका लागि पेलेले बिश्वकप जितेरै देखाउने बाचा गरेका थिए । उक्त हारको झट्का रँगशाला भित्र र बाहिर स्पष्ट थियो । “मेरो जिन्दगीमा मैले पहिलो पटक यस्तो कुरा सुने जुन हल्ला थिएन,” फाइनलमा उरुग्वेको लागि बराबरी गोल गरेका हुवाअल्बर्टो सियाफिनोले बर्षौपछि भनेका थिए ।

“एकताले बाधिएको राष्ट्रको रुपमा संसारसामु आफूलाई स्थापित गर्न खोजिरहेको तथ्यले नै ब्राजिलको आघातलाई राम्ररी बयान गर्न सक्छ,” रियो दि जेनेरियो स्टेट युनिभर्सिटीका प्राध्यापक तथा समाजशास्त्री रोनाल्डो जर्ज हेलाल भन्छन् । “नस्लीय सौहाद्रता रहेको राष्ट्र फुटबलले एकताबद्ध भएको अवधारणालाई आधार मान्दै उक्त खेलको परिणामलाई ब्राजिलको राष्ट्रवादी परियोजनाको जित वा हारको रुपमा हेरिने भएको थियो । १९३० को दशकसम्म ब्राजिलमा ब्राजिलियन राष्ट्रवाद भनेको के हो भन्ने कुनै अवधारणा नै थिएन।”

१९५० आइपुगिसक्दा युनेस्कोले ब्राजिललाई फुटबललाई केन्द्रमा राख्दै सौहाद्रताका लागि उदाहरणीय राष्ट्र मानेको थियो । यथार्थ भने केही फरक थियो भने उक्त फाइनलका अश्वेत गोलकिपर मोसिर बार्बोसालाई धेरैले अपराधीको रुपमा हेर्ने गरेका थिए । “ब्राजिलमा सबैभन्दा लामो जेल समय भनेको ३० बर्ष हो तर मैले ४० बर्ष बिताइसकेको छु,” कहिल्यै माफी नपाएका बार्बोसाले १९९० को दशकमा भनेका थिए ।

ब्राजिल र उरुग्वेको फरक भावना दर्शाइएको वाल पेन्टिङ्ग

उरुग्वेमा भने उक्त जित सानोले बिशाललाई कसरी हराउन सक्छ भन्ने कुराको अन्योक्तिको रुपमा लिइने गरेको थियो । माराकानाजोलाई ब्राजिलमा राष्ट्रिय दुर्घटनाको रुपमा लिइने गरिएको थियो भने उरुग्वेमा कठिनाईका बावजुद प्राप्त बिजयलाई व्याख्या गर्ने गरिन्थ्यो ।

१९५० तिर ब्राजिलको जनसंख्या उरुग्वेभन्दा २३ गुणा बढी र क्षेत्रफलमा निकै ठूलो भएपनि यथार्थमा भने यसलाई डेभिडले गोलायथलाई (बाइबलमा साना कदका डेभिडले निकै भिमकाय गोलायथलाई पर्रास्त गरेको कथा) हराएको जसरी लिइएको थिइएन । १९३० को पहिलो बिश्वकप जितेको र १९२४ र १९२८ मा ओलम्पिक्समा स्वर्ण जितेको उरुग्वेलाई त्यो समय फुटबलको महारथीकै रुपमा हेर्ने गरिन्थ्यो ।

“माराकानाजोलाई लिएर कहिले काही ‘अद्वितीय उपलब्धि’ भनेर जोड दिदा त्यो समय उरुग्वेको टोली उत्कृष्ट थियो भन्ने तथ्यलाई छायामा पारिदिन्छ,” माराकाना, अ सिक्रेट हिस्टरी (एक गोप्य इतिहास) का लेखक तथा उरुग्वेका पत्रकार एटिलियो गारिडो भन्छन् । उरुग्वेको युनिभर्सिटी अफ द रिपब्लिकका समाजशास्त्री फेलिपे एरिसोनाका लागि माराकानामा जे भयो त्यो रँगशालामा बसेर अनुभव गर्नेहरुको लागि पुष्टि थियो ।

बिश्व फुटबलमा उरुग्वेको स्तर १९५० को फाइनल भन्दा बढी थियो तर माराकानाको परिणामले ३० बर्षदेखिको सफलतालाई भने छायाँमा पर्न गयो। बिश्वकपको पहिलो उपाधिको खोजमा रहेका ब्राजिलियनहरुले भने यसलाई त्यसरी हेरेका थिएनन् ।

हेलालका लागि माराकानाजो आघात ब्राजिलियनहरुका लागि पेलेले १९७० मा तेश्रो बिश्वकप उपाधि दिलाएपछि मात्र अन्त्य भएको थियो । मेक्सिकोमा ब्राजिलले चार संस्करणमा तेश्रो पटक उपाधि जितेको थियो । त्यसलाई ब्राजिलियन राष्ट्रको जितको रुपमा हेरिएको थियो ।

समय परिवर्तन भएसँगै ब्राजिलियन समाजले राष्ट्रिय टोलीको खेलहरुलाई खेलकुदको जित वा हारको रुपमा मात्र बुझ्न थालेको छ । ब्राजिलियनहरुको मानसिकतामा आएको यो परिवर्तन २०१४ को बिश्वकपमा स्पष्ट देखियो जब घरेलु टोलीले बिश्वकपकै अहिलेसम्मको लज्जासपद हार बेहोर्ने क्रममा जर्मनीसँग सेमिफाइनलमा ७–१ को फराकिलो अन्तरको पराजय भाग्यो ।

बिश्वकप ट्रफिका साथ १९५० को फाइनलमा बिजयी गोल गर्ने जिगिया

“१९५० को हार राष्ट्रिय शोक थियो; २०१४ को पराजय एउटा व्यङ्गय जुन ‘मिम’ बन्न पुग्यो किनभने मान्छेहरुले यसलाई त्यति गम्भिर रुपमा लिएनन् । यो समाजले देखाएको परिपक्वताको राम्रो उदाहरण हो,” हेलाले भने ।

उरुग्वे भने त्यो उचाईमा फेरि पुग्न सकेको छैन, चाहे मैदानमा होस वा आर्थिक परिप्रेक्षमा नै । १९५० पछि बिश्वकप नजितेको उरुग्वेको त्यसयताको उत्कृष्ट प्रदर्शन भनेकै १९५४, १९७० र २०१० मा चौथो हुनु हो । “सिमित श्रोत र साधन रहेको एउटा सानो देशलाई पैसाको महत्व हरेक दिन बढ्दै गइरहेको खेलमा प्रतिस्पर्धा गर्न सधै कठिन हुदै गइरहेको छ,” फुटबलमा धेरै किताब लेखिसकेका पत्रकार लुई प्राट्स भन्छन् ।

“१९५० को दशकको उत्कृष्ट समयपछि आर्थिक पतन हुन थालेदेखि उरुग्वेको सरकारले २० औं शताब्दीको शुरुवातमा खेलकुदलाई दिन थालेको महत्व अहिले भने छैन,” एरोसेनाले भने ।

“आज त्यो उपलब्धिलाई फुटबल र आर्थिक दृष्टिकोणले नै महराथी बनेका ब्राजिल र अर्जेन्टिनाको चेपुवामा परेको एक सानो देशको चस्माबाट मात्र हेर्ने गरिन्छ । प्रशिद्धिको पक्षमा त्यो अध्यायले राष्ट्रिय गर्व खोज्ने गर्छ,” प्राट्स मान्छन् ।

Click to comment

Trending