Headline

युरोपियन राउन्ड–अपः रियल उपाधिबाट दुई अंक टाढा, युनाइटेड चुक्यो, इन्टर दोश्रोमा

Published

on

ग्रानडासँगको खेलमा पहिलो हाफमा हावी भएपनि रियल म्याड्रिड कठिन जित हात पार्दै स्पेनिस ला लिगाको उपाधिबाट मात्र एक जित टाढा पुगेको छ ।

अवे खेलमा फल्र्याण्ड मेन्डी र करिम बेन्जेमाले पहिलो १६ मिनेटमै २–० को अग्रता लिएको थियो । डार्विन माचिसले दोश्रो हाफमा गोल गरेपछि ग्रानडाले दवाब बनाएपनि अन्तिम स्कोरलाइन २–१ नै रहन पुग्यो । बार्सिलोना भन्दा चार अंकले अगाडी रहेको रियललाई अब बाकी दुई खेलमा दुई अंक पर्याप्त हुनेछ ।

बार्सासँग हेड–टु–हेडमा अघि रहेको रियललाई एक जित नै उपाधिका लागि पर्याप्त हुनेछ । रियलले अब ३७ औं चरणको खेलमा बिहिबार पाचौं स्थानको भिलारियालसँग घरेलु मैदानमा खेल्नेछ भने सिजनको अन्तिम खेलमा रेलिगेसन जोनमा रहेको लेगानेसको सामना आइतबार अवे मैदानमा गर्नेछ ।

“हामी खुशी हुदै अब बिहिबारको खेलमा लागि आराम गर्नुपर्छ,” रियललाई ला लिगामा लगातार ९ खेल जिताएका प्रशिक्षक जिनेदिन जिदानले भने । “हामी मँगलबार अभ्यासमा फर्कनेछौं । हाम्रो लागि अन्तिम समय (ग्रानडाबिरुद्ध) निकै गाह्रो थियो । ग्रानडाले हामीलाई धेरै डिफेन्ड गरायो,” जिदानले भने ।

सोमबारकै अर्को खेलमा आलाभेसले गेटाफेलाई गोलरहित बराबरीमा रोक्यो । रेलिगेसन जोनबाट एक स्थानमाथि रहेको आलाभेसको ३६ अंक रहेको छ । इस्पान्योल दोश्रो श्रेणीमा झरिसकेको छ भने लेगानेस र मायोर्काको समान ३२ अंक रहेको छ । अर्को खेलमा स्पोर्टिङ्ग गिजोनले मालागालाई २–१ ले हरायो ।

युनाइटेडले तेश्रोमा उक्लिने मौका गुमायो

म्यानचेस्टर सिटीको युरोपमा खेल्ने दुई बर्षको प्रतिबन्ध कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टसले उल्टाइदिएपछि प्रिमियर लिगमा अब चौथो स्थानको टोलीमात्रै च्याम्पियन्स लिगमा छनोट हुने भएको छ । निकै सुधारिएको प्रदर्शन गर्दै आएको म्यानचेस्टर युनाइटेडसँग सोमबार तेश्रो स्थानमा उक्लदै त्यसको प्रबल दाबेदारी दिने अवसर थियो तर गुमाउन पुग्यो ।

मात्रै तीन खेल बाकी रहदा चेल्सी ६० अंक सहित तेश्रो स्थानमा छ भने युनाइटेडसँगै समान ५९ अंक रहेको लेस्टर गोल अन्तरको आधारमा अगाडी रहेको छ । लेस्टर र युनाइटेडबीच हुने सिजनको अन्तिम खेलले नै चौथो स्थानसम्मको टोलीको निर्धारण गर्न सक्नेछ ।

ओल्ड ट्राफोर्डमा १२ औं मिनेटमै स्टुवर्ट आर्मस्ट्रोङ्गको गोलले पछि परेको युनाइटेडका लागि २० औं मिनेटमा मार्कस रासफोर्डले बराबरी गोल गरेका थिए । तीन मिनेटपछि नै एन्थोनी मार्सियलले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाएका थिए ।

निर्धारित समयको समाप्तिसम्म खेल युनाइटेडको पक्षमा जाने देखिएपनि ९६ औं मिनेटमा ओबाफेमीले गोल गरेपछि साउथ्याम्प्टनले यो सिजन दुवै खेलमा युनाइटेडसँग हार टारेको थियो ।

इन्टर अन्ततः दोश्रो स्थानमा

तीन मिनेटमा दुई गोल गरेपछि इन्टर मिलान टोरिनोलाई ३–१ ले हराउदै इटालियन सिरी आ को दोश्रो स्थानमा उक्लिएको छ । युभेन्टसले शिर्ष स्थानमा ८ अंकको फराकिलो अग्रता कायम राखेकाले उपाधिको सम्भावना झिनो रहेपनि इन्टरको लागि भने आत्मबिश्वास बढाउने जित थियो ।

६ खेल बाकी रहेको अवस्थानमा इन्टर र लाजियोको समान ६८ अंक रहेको छ र इन्टर गोल अन्तरको आधारमा अगाडी रहेको हो । चौथो स्थानको एट्लान्टाको ६७ अंक रहेको छ ।

गोलकिपर समिर हान्दानोभिचले कर्नर बल फुत्काएपछि आन्दे बेलोट्टीले सहज गोल गर्दा इन्टर १७ मिनेटमै पछि परेको थियो । तर एस्ली योङले ४९ र डिएगो गोडिनले ५१ औं मिनेटमा गोल गरेपछि इन्टरले उल्टै एक अंकको अग्रता बनाएको थियो । ६१ औं मिनेटमा लोटारो मार्टिनेजले तेश्रो गोल थपेका थिए ।

Click to comment

Trending