Headline

पिएसजीको ९–० को जित दर्शकको प्रवेशले छायाँमा

Published

on

फ्रेञ्च लिग च्याम्पियन पेरिस सेन्ट जर्माइनले आइतबार एक मैत्रीपूर्ण खेलमा दोश्रो श्रेणीको क्लब ले हाभ्रेलाई ९–० को फराकिलो अन्तरले पराजित गर्यो । तर चर्चा पिएसजीको फराकिलो जितको भएन । फुटबलको जित मानिएको खेलमा फ्रेञ्च फुटबलले कोरोना भाइरसपछि युरोपको पाँच प्रमुख फुटबलिङ्ग राष्ट्रमध्ये पहिलो पटक दर्शकलाई समावेश गराएको थियो । पिएसजीको रवाफिलो जितलाई दर्शकको प्रवेशले छायामा पार्न पुग्यो ।

गत सप्ताहन्त अघि फ्रेञ्च सरकारले स्वास्थ्य प्रोटोकोल केही खुकुलो पारेपछि दर्शक, खेलाडी, पत्रकार र स्टाफहरु गरेर कुल ५ हजार ले हाभ्रेको घरेलु मैदानमा भएको खेलमा उपस्थित रहेका थिए । ३० युरो र ६० युरो तोकिएको टिकटहरु ६ मिनेटमै बिक्रि भएको थियो ।

“यो फ्रेञ्च फुटबल र समग्रमा खेलकुदकै जित हो,” खेलकुद मन्त्री रोक्साना मारासिनिनुले भने । “बढी मान्छे स्टेडियममा हुने गरि फुटबल लोकप्रिय तरिकाले नै फ्रान्समा सुचारु भएकोमा म निकै खुशी छु । पश्चिम युरोपमा हामीले मात्र यो सम्भव हुन दिएको छौं ।”

फ्रान्सले फुटबल सिजनलाई नै रद्द गर्दा जर्मनी, इङ्गल्याण्ड, इटाली र स्पेनले भने लिगलाई सुचारु गरेका थिए । तर ती सबै देशहरुमा फुटबल खाली रँगशालामा सञ्चालन हुदै आएको छ । आइतबार सामाजिक दुरी कायम गरिनुपर्ने नियम लागेपनि २५ हजार दर्शक क्षमता रहेको रँगशालामा प्रवेश गरेपछि भने स्वतन्त्रता पुर्वक एकतृत भएका थिए ।

“केही शर्तहरु रहेपनि यो साधारण जीवनमा फर्किएको जस्तो महसुस भएको छ,” ले हाभ्रेको सबैभन्दा ठूलो समर्थक समुह ले बार्बरियन्स हाभ्रेका अध्यक्ष योहान भाट्टियरले भने । “हामीलाई पिएसजीको कुनै मतलब छैन, यो खेल हाम्रो लागि आफ्ना साथीहरुसँगै हुने पहिलो तरिका रहेको थियो । हाम्रो जस्तो समुहहरुले नियम लाद्न अलि गाह्रो हुन्छ किनभने हाम्रो एकै ठाँउमा झुम्मिएर बस्ने बानी छ । तर हामी सम्भव रहेसम्म नियमहरु मान्नको लागि तयार छौं,” उनले थपे ।

गोल गरेपछी खुशीयाली मनाउदै नेमार, इकार्डी र एमबाप्पे

२० बर्षिय पिएसजीका डाइ हार्ड फ्यान एलनले आफ्नो सपनाको टोलीलाई खेलेको प्रत्यक्ष हेर्न पाउदा सम्भावित स्वास्थ्य खतरातर्फ खासै ध्यान नगएको बताए । “जब मैले पेरिस हो भनेर थाहा पाए, मलाई अरु कतै तिर ध्यान नै गएन । टिभीमा खाली रँगशालाको फुटबल हेर्दा हेर्दा दिक्क लागिसकेको छ,” एलान भन्छन् ।

खेलमा भने नेमार र माउरो इकाडीले दुई–दुई र किलियन एमबाप्पेले एक गोल गरेपछि पिएसजीले पहिलो हाफमै पाँच गोल गरेको थियो । पिएसजी त्यसपछि १० खेलाडी परिवर्तन गरेको थियो । दोश्रो हाफमा पाब्लो साराबियाले दुई गोल गरे भने इद्रिसा गुयेये र आर्नौड कालिमुयेन्डोले १–१ गोल थपेका थिए ।

जुलाई अन्तिम र अगष्ट पहिलो हप्ताहरुमा व्यस्त रहेको पिएसजीले फ्रेञ्च कप फाइनलमा सेन्ट एटिनेको जुलाई २४ मा सामना गर्दैछ भने त्यसको एक सातापछि फ्रेञ्च लिग कप फाइनलमा लियोनसँग खेल्नेछ । यस्तै च्याम्पियन्स लिगमा पिएसजीले इटालियन टोली एट्लान्टाको सामना अगष्ट १२ मा गर्नेछ । दुवै फेञ्च फाइनल पेरिसको स्टाड डे फ्रान्समा हुनेछ ।

८० हजार सिट क्षमता रहेको रँगशालामा दर्शकको संख्या जुलाई १८ मा निर्धारण गरिने खेलकुद मन्त्रीले बताएका छन् । यसअघि फ्रेञ्च फुटबलले पाँच हजारलाई उक्त दुई फाइनल हेर्नका लागि प्रवेश दिइने बताएको थियो ।

Click to comment

Trending