Headline

सिटीको ९ हारले अवाक बनेका ग्वार्डियोला

Published

on

म्यानचेस्टर सिटी व्यवस्थापक पेप ग्वार्डियोलाले इङ्गलिस प्रिमियर लिगमा आफ्नो टोलीले यो सिजन कसरी १० खेल हार्न पुग्यो यो बुझ्न नै संघर्ष गर्नु परिरहेको बताएका छन् ।

साउथ्याम्प्टनसँग आइतबार १–० ले स्तब्ध भएपछि सिटी लगातार तीन अवे खेलमा पराजित भएको छ । बार्सिलोना र बायर्न म्युनिखको व्यवस्थापन गर्दा पनि ग्वार्डियोलाले कुनै पनि लिग सिजनमा ९ खेलमा पराजय बेहोर्नु परेको थिएन ।

“हामीले राम्रो भन्दा बढी गरेका छौं तर खेलहरु जित्नको लागि पर्याप्त भइरहेको छैन । हामीले गोल नगरेको होइन । गोलमा हामी नै अगाडी छौं । हामीले प्रशस्तै मौकाहरु बनाएको छौं । हामीले कम गोल खाएको छौं र मौका पनि कम नै बनाउन दिएको छौं तर धेरै खेलहरु हार्न पुगेको छौ,” ग्वार्डियोलाले भने ।

म्यानचेस्टर सिटीले यो सिजन आफ्नो पोस्टमा मात्र २ सय ४९ प्रहार सामना गरेको छ जुन लिभरपुलभन्दा ५९ कम हो । यद्दपि लिभरपुलले सिटीभन्दा ९ गोल कम खाएको छ । “मलाई कुनै एक कारण (धेरै हारको सामना गर्नको पछाडी) थाहा पाउन गाह्रो छ । तर खेलेको बारेमा कुरा गर्नु जरुरी छ । कसरी खेलिएको छ, बढी गर्न खोजिएको छ र सकेसम्म थोरै गोल खादै बढी भन्दा बढी गोल गर्ने प्रयासहरुको बारेमा अध्ययन गर्न आवश्यक छ,” ग्वार्डियोलाले भने ।

साउथ्याम्प्टनसँगको हारपछि स्तब्ध डेभिड सिल्भा र लापोर्टे

पछिल्लो लगातार दुई सिजनको उपाधि जित्ने क्रममा सिटीले २०१७–१८ मा प्रिमियर लिगको किर्तिमानी एक सय र २०१८–१९ मा दोश्रो किर्तिमानी ९८ अंक बटुलेको थियो । तर यो सिजन लिभरपुलको अगाडी घुँडा टेकेको सिटी योर्गन क्लोपको टोलीसँग पाँच खेल बाकी हुदा २३ अंकले पछि परेको छ । लिभरपुलले एन्फिल्डमा भएको खेलमा आइतबार राति एस्टन भिल्लालाई २–० ले हराएको थियो ।

आफूले व्यवस्थापन गरेको क्लबहरुमा धेरै अंकले पछाडी पर्ने क्रममा ग्वार्डियोलाको डेब्यु सिजनमा सिटी २०१६–१७ मा चेल्सीसँग १५ अंकले पछि परेको थियो भने २०११–१२ मा उनले हेरेको बार्सिलोना स्पेनिस ला लिगामा रियल म्याड्रिडसँग ९ अंकले उपाधि हार्न पुगेको थियो ।

लिभरपुललाई ४–० ले ध्वस्त पार्दा सिटी उत्कृष्ट देखिएको थियो तर आइतबारको पराजयले ग्वार्डियोलाको टोलीले पछिल्लो ९ प्रिमियर लिग खेलमा चारमा हार बेहोर्न पुगेको छ । तर स्पेनिस ग्वार्डियोला भने आफ्नो टोलीले यही सिजन नै फेरि पनि आफूलाई उत्कृष्ट साबित गरेर देखाइ छाड्नेमा बिश्वस्त छन् ।

“हामी त्यही टोली हुनेछौं र यसअघिका सिजनहरुमा पनि राम्रो गर्न सफल भएकोमा उत्कृष्ट भएर देखाउन सक्ने मलाई बिश्वास छ । यो सिजन पनि हामीले पहिले जस्तै खेलेका हौं तर लिगका खेलहरु जित्नका लागि अपुग भयो,” उनले भने ।

लिगको उपाधि हातबाट फुत्किसकेपनि काराबाओ कप जितेको सिटीले यो सिजन ट्रेबल (तीन वटा उपाधि) जित्न सक्छ । सिटीले च्याम्पियन्स लिग प्रि क्वार्टर–फाइनलमा रियल म्याड्रिडबिरुद्ध पहिलो लेगमा २–१ को जित हात पारेको छ भने एफए कपको सेमिफाइनलमा आर्सनलसँग खेल्न गइरहेको छ ।

Click to comment

Trending