Headline

युरोपियन राउन्ड–अपः बार्सा फेरि शिर्षमा, वेष्ट ह्याममाथि संकट

Published

on

एथ्लेटिक बिल्बाओमाथि १–० को कठिन जित हात पार्दै बार्सिलोना स्पेनिस ला लिगाको अंक तालिकामा शिर्ष स्थान उक्लेको छ ।

इभान राकिटिचले गरेको एक मात्र गोल मार्फत बार्साले संघर्षपूर्ण जित हात पारेको हो । ३१ खेल खेलेको बार्सिलोनाको ६८ अंक रहेको छ भने एक खेल कम खेलेको रियल तीन अंकले पछाडी परेको छ । बुधबार रातिको खेलमा मायोर्कालाई हराउन सके रियल फेरि शिर्ष स्थानमा उक्लने छ ।

क्याम्प नाउमा पहिलो हाफ बराबरीमा टुँगिएपछि सब्स्टिच्युट राकिटिचले लियोन मेस्सीको असिस्टमा खेलको एक मात्र गोल गरेका थिए । मेस्सीको सिजनमा यो १५ औं असिस्ट हो । करिअरको ७ सयौं गोल पुरा गर्ने लक्ष्यमा मेस्सी दुई पटक चुकेका थिए ।

बार्सालाई यो सिजन दुई पटक पराजित गरिसकेको बिल्बाओ ४२ अंकका साथ १० औं स्थानमा रहेको छ । अर्को खेलमा ब्रुनो गोन्जालेजले आत्मघाती गोल गरेपछि एट्लेटिको म्याड्रिड लेभान्तेलाई १–० ले हराउदै पुन तेश्रो स्थानमा उक्लिएको छ । एट्लेटिकोको ५५ र सेभियाको समान ३१ खेलबाट ५३ अंक भएको छ । अर्को खेलमा रियल भालाडोलिड र गेटाफेले १–१ को बराबरी खेलेका थिए ।

वेष्ट ह्याममाथि रेलिगेसनको खतरा

टोटन्ह्याम हटस्परसँग २–० ले पराजित भएपछि वेष्टह्याम युनाइटेडमाथि इङ्गलिस प्रिमियर लिगबाट रेलिगेसनको खतरा बढेको छ । मङ्गलबार रातिको खेलमा स्पर्सलाई पहिलो हाफ बराबरीमा रोकेपछि वेष्टह्यामले दुवै गोल दोश्रो हाफमा खान पुगेको थियो ।

१७ औं स्थानमा रहेको वेष्टह्यामको २७ अंकका साथ गोल अन्तरका आधारमा बर्नमाउथभन्दा माथि रहेको । एस्टन भिल्ला (२६) र नर्विच सिटी रेलिगेसन जोनमा रहेका अन्य दुई टोली हुन् ।

चेक मिडफिल्डर थोमस सुचेकले जियोभानी लो सेलोको कर्नरमा आत्मघाती गोल गरेपछि स्पर्सले ६४ औं मिनेटमा अग्रता लिएको थियो । सुचेक प्रिमियर लिगमा आत्मघाती गोल गर्ने चौथो खेलाडी पनि भएका छन् । ह्यारी केनले ८२ औं मिनेटमा गोल गर्दै स्पर्सको जित सुनिश्चित गरेका थिए ।

लामो समयको इन्जुरीपछि मैदान फर्किएका केनले यो सिजन १८ गोल गरेका छन् । कोरोना भाइरसका कारण लिग तीन महिना भन्दा बढी रोकिएपछि केनले कम खेल गुमाएका हुन् ।

अर्को खेलमा दोश्रो स्थानको दाबेदारीमा कायम रहेको लेस्टरलाई भने नराम्रो धक्का लागेको छ । लेस्टरले ब्राइटनसँग गोलरहित बराबरी खेलेको थियो । लेस्टरको ५५ अंक रहेको छ भने दोश्रो स्थानको म्यानचेस्टर सिटीको ६१ । चौथो स्थानको चेल्सीको ५१ र म्यानचेस्टर युनाइटेडको ४६ अंक छ ।

इन्टर दाबेदारीमा कायम रहने खेल

इन्टर मिलानले इटालियन सिरी आ अन्तर्गत बुधबारको महत्वपूर्ण खेलमा सासुलोको सामना गरिरहेका छ । ५७ अंक सहित तेश्रो स्थानमा रहेको इन्टरले जित हात पारेको खण्डमा सिरी आ को उपाधि दाबेदारीमा कायमै रहनेछ । पहिलो स्थानमा रहेको युभेन्टसको ६६ र दोश्रो स्थानको लाजियोको ६२ अंक भएको छ ।

मङ्गलबार भने नापोलीले भेरोनालाई २–० ले हराउदै शिर्ष तीनको दाबेदारीमा आफूलाई कायम राखेको छ । आर्काडुज मिलिक र हर्भिङ्ग लोजानोले नापोलीका लागि १–१ गोल गरेका थिए । भेरोनाका लागि मार्को फाराओनी पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

अन्य खेलमा काग्लियारीले स्पाललाई १–०, पार्माले जेनोआलाई ४–१ र टोरिनोले युडिनेजीलाई १–० ले हरायो ।

Click to comment

Trending