Headline

सुन्दा हावा लाग्ने क्रिकेटका केही अनौठा तथ्य

Published

on

सन् १८०० देखि नै चल्दै आएको क्रिकेट अनौठो तथ्यहरुको भण्डार नै हो । सचिन तेन्दुल्करको शतकको शतक देखि शोएब अख्तरको सबैभन्दा तिब्र गतिमा फलिएको तथ्य सुन्दा लाग्छ यो खेल मानिसले होइन मेसिनले खेलिरहेको छ । एकदिवसीय, टेस्ट र आर्थिक क्रान्ति ल्याएको ट्वान्टी ट्वान्टीको क्रेजले प्रशंसकहरुको मन जितिरहेको छ ।

समय बित्दै जादा तथ्य र क्रिकेटका अंकहरुले पनि महत्वपूर्ण स्थान पाउन सफल भएका छन् । सामान्यतय हुने जस्तो लागेपनि अन्तर्राष्ट्रिय क्रिकेटमा यस्ता घटनाहरु भएका छन् जुन सुन्दा होइन की जस्तो लाग्छ । कस्ता छन् त ती तथ्यहरु:

१. राहुल द्रविडको लगातार तीन छक्का

सचिन तेन्दुल्करको युग नभएको भए राहुल द्रविड भारतको लिजेण्ड ब्याट्स्म्यानको रुपमा स्थापित हुने थिए । तर दुवै महान खेलाडी एकै समयमा खेल्दा सचिनले महानताको दौडमा द्रविडलाई पछाडी छोडेका थिए । द्रविडलाई भारतको वाल (पर्खाल) भनिन्थ्यो, कारण थियो उनी पर्खाल जसरी नै अटुट भएर क्रिजमा जम्ने गर्दथे ।
बललाई रोकेर खेल्ने र अफ स्टम्पमा आएको बललाई लगातर छोड्ने द्रविडको विकेट लिन त्यति सजिलो हुदैन थियो ।

उठाएर बिरलै सट खेल्ने गरेका द्रविडले आफले खेलका ५०८ खेलमा ६६ छक्का मात्र प्रहार गरेका छन् । तर उनले आफ्नो पहिलो र अन्तिम ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा भने आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्कन पनि सक्षम रहेको साबित गरेका थिए ।

ओल्ड ट्राफोर्डमा इङ्गल्याण्डबिरुद्ध भएको ट्वान्टी ट्वान्टीको ११ औँ ओभरमा द्रविडले लगातार तीन छक्का प्रहार गरेका थिए । ४७ बर्षिय द्रविडले तीन वटै छक्का लेग साइडमा प्रहार गरेका थिए र सबै निकै लामो थियो । उनले उक्त खेलमा २१ ब्लमा ३१ रन बनाएका थिए तर उनको लगातार तीन छक्काले सबैलाई अचम्ममा भने पारेको थियो ।

२. एडम गिल्क्रिष्टको स्क्वास बल

२००७ को विश्वकपमा अष्ट्रेलिया र श्रीलंका बार्बेडसको केन्जिंगटन ओभलमा फाइनल खेल्दै थिए । बर्षाका कारण ३८ ओभरमा छोट्याइएको खेलमा एडम गिल्क्रिष्टले १०४ बलमा १४९ रन अष्ट्रेलियालाई २८१ रनको बलियो स्थितिमा पुर्याए । १३ चौका र ८ छक्का प्रहर गर्दै गिल्क्रिष्टले बिश्वकपकै दुर्लभ र उत्कृष्ट इनिङ्गस खेलेका थिए ।

शतक प्रहार गरेपछि उनले आफ्नो पञ्जा देखाउदै पेभिलियन तिर आफ्नो साथीहरुलाई ईशारा गरे । गिल्क्रिष्टले पञ्जामा स्क्वास बल राखेर खेलेका थिए । यो उनको अनौठो प्रयोग थियो जुन काम पनि गर्यो । टेबल टेनिस बल जत्रै हुने स्क्वास बल पञ्चामा राख्दा उनले ब्याट आरामले समात्दै ठूलो शट प्रहार गर्न सकिने सोचेका थिए र त्यो भयो पनि । यो गिल्क्रिष्टलाई ब्याटिङ्ग गराएका पर्थका ब्याटिङ्ग प्रशिक्षकको सुझाव थियो ।

गिल्क्रिष्टले पहिलो विकेटका लागि म्याथ्यु हेडनसँग १ सय ७२ रनको साझेदारी गरेपछि श्रीलंका मनोबैज्ञानिक रुपमै खेलमा पछि परेको थियो र फराकिलो अन्तरले नतिजा सुम्पन पुग्यो ।

३. चार बलमा ९२ रन  

बङ्गलादेशको घरेलु क्रिकेटमा हुने प्रतियोगिता म्याच फिक्सिङ र अन्य थुप्रै काण्डहरुका लागि कुख्यात छ । बङ्गलादेशमा अम्पायरदेखि खेलाडी र प्रशिक्षक सम्म मिलेर म्याच फिक्सिङ्ग गर्ने गरेको समाचार बाहिर आउने गर्छ । २०१७ को मे मा पनि यस्तै हुन पुग्यो । सुजोन महमद नाम गरेको बलरले चार बलमा ९२ रन खर्चिए ।

लालमतिया क्लबका लागि खेल्ने गरेका यि बलरले ५० ओभरको खेलमा अक्सिओम क्रिकेटर्सलाई ८८ रनको लक्ष्य पछ्याउन मद्दत गरेका थिए । उनले बलिङ्ग गर्दा दिएको १३ वटै वाइड चौका भएको थियो भने तीन वटा नो–बल रहेको थियो । बैधानिक रहेका चार बलमा १२ रन बटुलिएको थियो । तीन वटा नो–बलमा १५ रन आएको थियो ।

अम्पायरले सिजनभरि नै पक्षपाति निर्णयहरु गरेको बिरोधमा सुजोनले त्यसरी बलिङ्ग गरेको बयान दिएका थिए । बङ्गलादेश क्रिकेट बोर्डले पछि उनलाई १० बर्ष क्रिकेटबाट निलम्बित गरेको थियो । लालमतिया क्लबलाई पनि प्रतियोगिताबाट निकाल्दै प्रशिक्षक, कप्तान र व्यवस्थापकलाई पनि पाँच बर्ष क्रिकेटबाट निलम्बित गरिएको थियो ।

४. एक ओभरमा १७ बल

क्रिकेटमा वाइड अथवा नो–बल नफाल्ने हो भने एक ओभरमा ६ बल हुने गर्दछ । तर यो नियम एक दिन पाकिस्तान पुर्व तिब्र गतिका बलर मोहम्मद सामीलाई भने लागु भएन । निकै तिब्र गतिमा बलिङ्ग गर्ने गरेका सामीको प्रदर्शन कहिल्यै पनि एकै सरहको हुन्थेन । सन् २००४ मा भने प्रत्यक्ष हेरेका दर्शकहरुलाई भने उनले अचम्ममा नै पारे । बङ्गलादेशबिरुद्ध कोलोम्बोमा भएको खेलमा सामीले एकै ओभरमा १७ बल फ्याकेका थिए ।

खेलको तेस्रो ओभरमा सामीले सात वाइड र चार नो–बल गरेका थिए । त्यो समय क्रिकेटमा फ्रि हिटको नियम नआएको कारण सामीले अझै धेरै रन खानबाट बचेका थिए । दुई ओभरमा एक विकेट गुमाएको बङ्गलादेशले ६ रन बनाएको थियो । तर सामीको ओभरमा १६ रन बटुलेपछि बङ्गलादेशले राम्रो रनरेटमा ब्याटिङ्ग गर्न थालेको थियो ।
यद्दपि खेलमा राम्रो पुनरागमन गर्दै उनले आठौं ओभरमा महमद अस्रफुल र खालेद मासुदको विकेट लिए भने दुई मेडन पनि राख्न सफल भएका थिए ।

५. टेस्टको चार इनिङ्गस एकै दिनमा समाप्त

२०११ को नोभेम्बरमा दक्षिण अफ्रिका र अष्ट्रेलियाले यस्तो टेस्ट खेले जुन १६७.५ ओभर मात्र टिक्यो । दुई दिनभन्दा कम खेलिएको टेस्टको पहिलो दिन मात्र ५५ ओभर सम्भव भएको थियो । दोस्रो दिन पानीले गर्दा हुन नसकेपछि चौथो दिनको शुरुवती २० ओभर खेल्दै अष्ट्रेलियाले २८४ रन बनाउन पुग्यो । त्यसपछि अरु दुई इनिङ्ग सकिन ४२.३ ओभर मात्र काफी हुन पुग्यो । दक्षिण अफ्रिका र अष्ट्रेलिया क्रमशः ९६ र ४७ रनमा अलआउट हुन पुगे । पिचको कठिन अवस्थामा २३६ रनको लक्ष्य बिशाल भए पनि घरेलु टोली दक्षिण अफ्रिकाले कप्तान गे्रम स्मिथ र हसिम आम्लाको शतकको मद्दतमा ८ विकेटको जित हात पार्यो ।

Click to comment

Trending