Headline

युरोपियन राउण्ड–अपः नापोलीलाई कोप्पा इटालिया, सिटीको आर्सनलमाथि सहज जित

Published

on

युभेन्टसलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउदै नापोलीले कोप्पा इटालियाको उपाधि जितेको छ । पछिल्लो ६ बर्षमा नापोलीको यो पहिलो मुख्य उपाधि हो ।

आर्काडुस मिलिकले चौथो तथा निर्णायक पेनाल्टीलाई गोलमा परिणत गरेपछि नापोलीले उपाधि आफ्नो नाममा लेखाएको थियो । युभेन्टसका लागि पाब्लो डिबाला र ड्यानिलो चुकेका थिए । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइ ब्रेकरबाट लिइएको थियो ।

नापोलीका लागि पुर्व इटाली मिडफिल्डर जेनारो गाटुसोले व्यवास्थापकको रुपमा पहिलो उपाधि जितेका छन् ।

आर्सनलको हारमा लुइज खलनायक

कोरोना भाइरसको स्थगनपछि फर्किएको इङ्गलिस प्रिमियर लिगको पहिलो दिन डेभिड लुईज छाए, तर नकारात्क रुपमा । म्यानचेस्ट सिटीसँग ३–० ले हार्ने क्रममा लुईजकै कारण आर्सनलले दुई गोल खायो भने ब्राजिलियन डिफेन्डर दोश्रो हाफको केही क्षणपछि नै रेड कार्ड खादै बाहिरिन पुगेका थिए ।

पहिलो हाफमा सब्स्टिच्युट खेलाडीको रुपमा आएका लुईजले बल क्लियर गर्न नसक्दा रहिम स्टर्लिङ्गले गोल गरेपछि सिटीले इन्जुरी समयको दोश्रो मिनेटमा अग्रता लिएको थियो । अन्तिम डिफेन्डर रहेको स्थितिमा लुईजले रियाद माह्रेजको जर्सी तानेर रेडकार्ड त पाए नै सिटीले पेनाल्टी पनि पायो ।

केभिन डि ब्रुनले सजिलै गोल गर्दै सिटीलाई ४९ औ मिनेटमा २ गोलको अग्रता दिलाए । फिल फोडेनले खेलको अन्त्यमा सर्जियो अगुएरोले प्रहार गरेको रिबाउण्डमा गरेपछि आर्सनलले नमिठो पराजय बेहोरेको थियो । सिटी ६० अंक सहित दोश्रो स्थानमा छ भने पहिलो स्थनको लिभरपुलको ८२ अंक रहेको छ ।

खराब सिजनबाट गुज्रिरहेको आर्सनले ४० अंक सहित ९ औं स्थानमा छ । यसअघि भएको पहिलो खेलमा एस्टन भिल्लाले सेफिल्ड युनाइटेडलाई बराबरीमा रोकेको थियो । भिल्ला २६ अंकका साथ रेलिगेसन जोनमै रहेको छ भने सेफिल्ड ४४ अंकले छैटौं स्थानमा रहेको छ ।

माइन्जसँग डर्टमण्ड स्तब्ध

जर्मन बुन्डेसलिगामा दोश्रो स्थानमा रहेको डर्टमण्ड माइन्जसँग २–० ले पराजित हुन पुग्यो । इडुना पार्कमा भएको खेलमा जोनाथन बुर्कार्टले ३३ औं मिनेटमा गोल गर्दै माइन्जलाई अग्रता दिलाएका थिए । जन फिलिपे मटेटाले पेनाल्टीमार्फत ४९ औं मिनेटमा अर्को गोल गरेपछि डर्टमण्ड स्तब्ध बनेको थियो ।

पराजयका बावजुद डर्टमण्ड ६६ अंकका साथ दोश्रो स्थानमा कायम रहेको छ । बायर्न म्युखिले दुई खेल बाकी रहदा नै उपाधि जित्दा बुन्डेसलिगमा अब दोश्रो स्थानको लागि प्रतिस्पर्धा मात्र बाकी रहेको छ । फोर्चुना डसेल्डर्फसँग २–२ गोलको बराबरी गरेपछि आरबी लाइपजिगले डर्टमण्डसँग दुरी छोट्याउन असफल भएको थियो ।

लाइपजिगको ६३ अंक रहेको छ । चौथो स्थानमा रहेको बायर लेभरकुसनले कोलोनलाई ३–१ ले हरायो । लेभरकुसनको ६० अंक भएको छ । अन्य खेलमा आइन्ट्राच्ट फ्रांकफर्टले साल्केलाई २–१ र होफेन्हाइमले अस्बर्गलाई ३–१ ले हरायो ।

फेलिक्सको दुई गोलमा एट्लेटिकोको फराकिलो जित

स्पेनिस ला लिगामा जाओ फेलिक्सले दुई गोल गरेपछि एट्लेटिको म्याड्रिडले ओसासुनालई ५–० को फराकिलो अन्तरले पराजित गर्यो । फेलिक्सले २७ र ५६ औं मिनेटमा गोल गरेपछि एट्लेटिकोले एक घण्टा नबित्दै २–० को अग्रता लिएको थियो । त्यसपछि मार्कस लोरेन्टे, अल्भारो मोराटा र यानिक कारास्कोले १–१ गोल थपेका थिए ।

जितपछि एट्लेटिको ४९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । अन्य खेलमा एथ्लेटिक बिल्बाओले आइबारलाई २–२ गोलको बराबरीमा रोकेको थियो भने रियल भालाडोलिड र सेल्टा भिगोले पनि गोलरहित बराबरी खेलेका थिए ।

Click to comment

Trending