Corona Virus

के सम्भव छ नेपालमा बन्द रँगशालामा फुटबल ?

Published

on

कोरोना भाईरसका कारण रोकिएका फुटबल प्रतियोगिता धेरै देशले कडा सावधानीपुर्वक सुचारु गराइसकेका छन् । केहीले सुचारु गराउनका लागि अध्ययन गर्दै यसको लागि सहज वातावरणको निर्माण गर्दै छन् ।

कोरियाको के–लिग, जर्मनीको बुन्डेसलिगा, स्पेनिस ला लिगा बन्द रँगशालामा शुरु भइसकेका छन् भने इटालीमा पनि फुटबल फर्किसकेको छ । इङ्गलिस प्रिमियर लिग पनि सुचारु हुने मिती नजिकिएको छ ।

आधुनिक फुटबल संस्कृति परिमार्जन गर्दै आर्थिक र प्राविधिक रुपले सक्षम देशहरुलाई फुटबल फर्काउन धेरै गाह्रो भएको छैन भलै दर्शकको अनुपस्थितिले प्रतिस्पर्धाको रोचकतालाई निकै कम गरेको छ । फुटबल फर्कदा यसले अन्य देशहरुलाई पनि प्रतियोगिताहरु सुचारु गर्दा कसरी अगाडी बढ्न सकिन्छ भनेर उदाहरण तयार पारेको छ ।

तर के नेपालमा सम्भव छ होला बन्द रँगशालामा फुटबल गराउन ?

संक्रमितको संख्या अन्य देशहरुको तुलनामा कम भए पनि कोरोना भाइरस (कोभिड–१९) ले नेपाली खेलकुद गतिविधिलाई ठप्प बनाइसकेको छ । तर दिन दिनै बढ्दै गएको संक्रमित संख्या हेर्ने हो भने नेपाली फुटबल मैदान फर्कन यो महमारीको अन्त्यको प्रतिक्षा गर्नु बाहेक अहिलेलाई अन्य कुनै उपाय नै देखिदैन ।

चैत्र ४ गते देखी रोकिएको बि डिभिजन लिग कहिले सुचारु होला भन्न सकिदैन। एन्फाले ए डिभिजनका लिगका उत्कृष्ट ६ टोली र छनोट चरण पार गर्दै आएका ४ टोलीबीच गर्ने भनिएको राष्ट्रिय लिग अझै निकै पर देखिन्छ । तर अखिल नेपाल फुटबल संघले प्रतियोगिताहरुलाई बन्द रँगशालामा सम्पन्न गराउने हो भने सम्भव रहेको शहिद स्मारक ए डिभिजिन लिग कमिटीका निर्देशक सन्जीव मिश्र बताउछन् ।

“बि डिभिजन सुचारु गर्न समस्या होइन । बिना दर्शक गराउने हो भने यो सम्भव छ,” मिश्रले विस्पोर्ट्जलाई भने ।
नेपालमा हुने लिग खेलहरुमा दर्शकको संख्या दुई हातमा अटाउने गर्दछ र माइकोजुको लाइभ स्ट्रिसमङ्गबाहेक टेलिभिजन कम्पनीसँग प्रशारण अधिकार नभएका कारण पनि एन्फालाई बन्द रँगशालाले कुनै घाटा गर्ने छैन ।

लिग पुन सुचारु गर्दा बिना दर्शक र त्यस माथि पनि तटस्थ मैदानका कारण सहभागी टोलीलाई घरेलु मैदानको फाइदा अथवा घाटा भन्ने कुरा अस्तित्वमै छैन । मुख्य समस्या भनेको अहिलेका लागी सरकारले गरेको लकडाउन रहेको छ । लकडाउन आंशिक रुपमा खुल्ला भएपनि खेलकुद सुचारु हुनका लागि शायद लामै समय कुर्नु पर्नेछ, दर्शक प्रवेश पाउने त अलि पर कै कुरा हो ।

तीन महिना भन्दा बढी अवधि प्रतियोगिता बिहिन बन्दा यसले सिँगो नेपाली खेलकुदमाथि नै नकारात्मक असर पार्ने भएकाले सरकारले सम्बन्धित खेल संघहरुसँग सहकार्य गर्दै खेलकुद सुचारु गराउनु आवश्क छ । मिश्र एक ठाँउको लकडाउन खुकुलो हुदैमा फुटबलको लागि स्थिति सहज बनिहाल्छ भन्ने मान्दैनन् ।

“काठमाण्डौंमा मात्र लकडाउन खुकुलो भएर हुदैन । बी डिभिजनका अधिकांश खेलाडीहरु उपत्यका बाहिर रहेका छन् । यातायातको समस्या, व्यवस्थित क्वारेन्टिन र अभ्यास गरेर अतिरिक्त २०–२५ दिनको समय छुट्याउनु पर्ने भएकाले क्लबहरुलाई आर्थिक दवाब पर्नेछ,” उनले भने ।

मिश्रका अनुसार सरकारले स्विकृति दिने र खेलाडीहरुको कोरोना परिक्षण गर्न मद्दत गर्ने हो भने कार्यसमितिमा छलफल गर्दै लिगलाई सुचारु गर्न सम्भव रहेको मान्छन् । “खेल संघलाई यस्तो समयमा चाहिने भनेकै सरकारको साथ हो । खेल शुरु गराउन हामीलाई स्विकृति दिदै खेलाडीको स्वास्थ्य परिक्षणमा सहयोग गर्ने हो भने रोकिएको बी डिभिजन लिग भदौं सम्ममा सुचारु गराउन सकिएला,” उनले भने ।

एन्फा महासचिव ईन्द्रमान तुलाधर पनि सरकारकै प्रोटोकोल अनुसार लाग्ने हो भने लिग गर्न सकिने बताउछन् । “हामीले लिगलाई प्राथमिकता दिनै पर्छ र दिन्छौ पनि । रोकिएको लिगलाई सिघ्र सञ्चालनमा ल्याउन आवश्यक छ तर यो कार्यमा हामी सरकारको निर्णय कुर्नु पर्ने हुन्छ । केही दिनमा एएफसीले पनि लिगका लागि प्रोटोकल एन्फालाई पठाउने छ र सोही अनुरुप हामी काम गर्नेछौ,” तुलाधरले भने ।
“लामो समयको लकडाउनले खेलाडीहरुको स्वास्थ्य र फिट्नेसमा समस्या हुन सक्छ । उनीहरुलाई प्रशिक्षण गराउन पनि आवश्यक छ, त्यही कारण लिगलाई फर्काउन हामी तयार छौ ।”
तर यहा कुरा बि डिभिजन लिगको मात्र छैन । ए डिभिजन लिग, महिला लिग, राष्ट्रिय लिग र सि डिभिजन लिग सबै कोरोनाको संक्रमणले प्रभावित बनेको छ । ११ चरणसम्म चल्ने बि डिभिजन लिगमा पाचौँ चरणका खेलहरु समेत नसकिएको अवस्थामा अब एन्फाले आफ्नो बार्षिक क्यालेन्डरमा हेरफेर गर्नुपर्ने छ ।

पिरामिड लिगको हिसाबले यी लिगहरुले निरन्तरता पाउनु जरुरी देखिन्छ । तर अहिले ए र सि डिभिजन पनि तोकिएको समयमा नहुने देखिन्छ । घरेलु फुटबल त उथल–पुथल हुने छ नै साथ–साथै राष्ट्रिय टोलीले खेल्ने अन्तर्राष्ट्रिय खेलहरुमा पनि असर पर्नेछ ।

“फुटबल गतिविधि ठप्प बन्दा भविष्यमा यसले निकै असर पार्नेछ । यसका लागि हामी अहिलेदेखि नै खेल तालिका देखी प्रतियोगिताहरु सन्चालनमा ल्याउनका लागि कार्य समितीको बैठकमा निर्णय लिने छौं,” तुलाधरले भने ।

एएफसीले केही दिन अगाडि विश्वकप २०२२ र एसियन कप २०२३ को लागि जारी गरेको प्रस्तावित मितीका कारण पनि एन्फालाई अझै दबाब थपिएको छ ।  “हामीले अब खेल्ने तीन अन्तर्राष्ट्रियका कारण क्यालेन्डरमा कस्तो फेरबदल गर्नु पर्ने हो त्यसको निर्णय कार्यसमितिको बैठकमा निर्णय लिनु आवश्यक छ,” मिश्रले भने ।

कोरोना भाईरसको उचित रोकथाम नहुने हो भने नेपालले दशरथ रँगशालामा खेल्नका लागि तय गरिएका अन्तर्राष्ट्रिय खेलहरु पनि कहिले हुने भन्न सकिदैन । भइहालेको खण्डमा दर्शकले प्रवेश नपाउने लगभग तय छ । दर्शकले प्रवेश नपाउदा ती तीन खेलबाट एन्फाले गर्ने ठूलो आम्दानी पनि गुमाउनेछ ।

Click to comment

Trending