Corona Virus

क्वारेन्टिनको चपेटामा क्रिकेट

Published

on

आदर्श ढकाल, काठमाडौं

कारोना भाइरसका कारण स्थगित भएको क्रिकेट गतिविधि केही देशहरुमा शुरु भइसकेका छन् । श्रीलंकाले अघिल्लो हप्ता आफ्ना खेलाडीहरुको छुट्टा–छुट्टै समुहमा प्रशिक्षण शुरु गराएको छ भने पाकिस्तानले पनि आफ्नो सरकारसँग प्रशिक्षण गराउन अनुमति कुरिरहेको छ ।

तर यी दुई दक्षिण एसियाली राष्ट्रबीच कोरोनाको प्रभावलाई लिएर ठूलै असमानता छ । जहाँ श्रीलंका निकै कम प्रभावित देशहरु मध्ये पर्दछ, पाकिस्तानमा कोरोना संक्रमितको संख्या १ लाख पुग्न लागिसकेको छ भने २ हजारको मृत्यु भइसकेको छ । श्रीलंकामा संक्रमितको संख्या २ हजार पनि छैन भने हालसम्म ११ जनाले ज्यान गुमाएका छन् ।

इङ्गल्याण्ड कडा सावधानीका साथ क्रिकेट सुचारु गर्ने भन्दै जुलाईका लागि वेष्ट इण्डिजबिरुद्धको टेस्ट श्रृंखलाको मिति तय गरेसँगै पाकिस्तानलाई पनि खेलाडी तमतयार गर्नुपर्ने बाध्यकारी स्थिति छ । वेष्ट इण्डिजपछि पाकिस्तानले इङ्गल्याण्डमा खेल्ने गइरहेको छ । दुई देशबीचको श्रृंखलाको मिति भने तय भइसकेको छैन ।

नेपाली क्रिकेट टोलीले थाइल्याण्डमा एसिसि इस्टर्न रिजन ट्वान्टी ट्वान्टी एसिया कप क्वालिफायर खेलेर फर्के यता क्रिकेट खेलेको छैन । मार्चको पहिलो हप्ता सम्पन्न ट्वान्टी ट्वान्टी क्वालिफायरपछि फर्केको नेपाली टोली अहिले लकडाउनमै रहेको छ । क्वालिफायर अघि नै मार्च १४ देखिका लागि तय भएको एभरेष्ट प्रिमियर लिग पनि अनिश्चितकालका लागि स्थगित भइसकेको छ ।

पाकिस्तानको तुलनामा नेपालमा संक्रमित संख्या निकै कम रहेका छ । सोमबारको सरकारी तथ्यांक अनुसार नेपालमा संक्रमितको संख्या ३ हजार ७ सय ६२ रहेको छ भने १४ जनाको मृत्यु भएको छ । सरकारले बनाएको सिस्टमले दुई महिनाको लकडाउन आफूलाई महामारीसँग लड्नका लागि सबै पक्षसँग समय खरिद गरिएको हो भन्ने बुझ्न नसक्दा नेपालमा हरेक दिन संक्रमितको संख्या बढ्न पुगेको छ ।

यस्तो परिस्थितमा अन्य देशहरुले सावधानी अपनाउदै गर्दा नेपाली क्रिकेटको लागि भने स्थिति निकै जटिल बनेको छ र यसले लामो समय नेपाली क्रिकेटलाई शिथिल बनाउन पनि सक्नेछ ।

के भन्छ नेपाल क्रिकेट संघ ?

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसि) ले कोरोनापछि क्रिकेटमा फर्किनका लागि केही दिन अघि ब्याक टु क्रिकेट भनेर एउटा निर्देशन जारी गरेको थियो । त्यसमा कुनै पनि क्रिकेटिङ्ग राष्ट्रमा कुनै पनि टिमले भ्रमण गर्दा अथवा क्रिकेट म्याच खेलाउदा पालना गर्नु पर्ने नयाँ नियमहरु समावेश गरिएको छ । र, आफ्ना सदस्य राष्ट्रहरुले जारी गरेको निर्देशिका अनुरुप नै चल्न भनिएको छ ।

“अहिले हामीलाई आईसिसिले क्रिकेट खेलाउ भनेर अनुमति दिदा पनि त्यो गर्न सक्दैनौं । आईसिसिले देशको सरकारले जे भन्छ त्यही अनुरुप अघि बढ्न भनेको छ । नेपालमा सरकारले अहिले नै खेलकुदलाई चलायमान बनाउनका लागि कुनै किसिमको अनुमति दिएको छैन । अहिले हामीले गर्न सक्ने भनेको खेलाडीहरुलाई अनलाइन मार्फत कसरी आफू फिट रहन सकिन्छ भन्ने हो र त्यो भने भइरहेको छ,” क्यान सचिव अशोक नाथ प्याकुरेलले क्रिकेटिङ्गनेपाललाई भने ।

प्याकुरेलका अनुसार सरकारले स्किृति दिने हो भने क्यान क्रिकेट सुचारु गर्न सक्षम छ । “सरकारले १० जनासम्म खेलाडी भेला गर्न अनुमति दिन्छ भने हामी खेलाडीहरुलाई अहिले नै अभ्यासमा राख्न सक्छौं । सरकारको निर्देशन मातहत नै रहेर क्रिकेटलाई चलायमान बनाउनका लागि हामी ‘मेडिकल्ली’ नै तयार छौं,” प्याकुरेल भन्छन् ।

तर कोरोनाका कारण बर्षको शुरुवातमा जति क्रिकेट खेलाइन सम्भव थियो त्यो भने हुन सकेन । प्रि–मनसुन शुरु भइसकेका कारण अब क्रिकेट संघले आफ्नो क्यालेण्डर अन्तर्गत रहेका घरेलु प्रतियोगितालाई पनि स्थगित गर्नु पर्ने भइसकेको छ ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल कोरोनाका शुरुवाती दिनमा दिशा बिहिन भएपनि अब सावधानीका साथ क्रिकेट सुचारु गर्नुपर्ने बताउछन् । “अनलाइनमार्फत नै फिट रहने उपायले लामो समयका लागि काम गर्दैन । आफूलाई खेलमा कायम राख्ने हो भने मैदानमा उत्रनै पर्छ । हामी केही समय अघि दिशा बिहिन थियौं तर अब कसरी सावधानीपुर्वक अगाडी बढ्न सक्छौं यसको ज्ञान भइसककोछ,” ज्ञानेन्द्रले भने ।

“सबैभन्दा महत्वपूर्ण त खेलाडीहरुको स्वास्थ्य नै हो । हाम्रा धेरै जसो खेलाडीहरु बोर्डर नजिक छन् । कोरोनाको रेड जोनमा रहदा खेलाडीहरु खतरामा हुन्छन् । राम्रो उपाय भनेको हाम्रा खेलाडीहरुलाई एक ठाँउमा ल्याएर क्वारेन्टिनजस्तो सुविधामा राखेर अभ्यासमा राख्दा हुन्छ । मलाई लाग्छ हामीलाई त्यो व्यवस्था कायम गर्न गाह्रो छैन,” कप्तान नियुक्त भए यता तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा नेतृत्व गरिसकेका ज्ञानेन्द्र भन्छन् ।

“अहिले हामी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता भएको देश हौं । हामी यस्तो स्थितिमा छौं जहा हामीलाई पहिले भन्दा दुई गुणा बढी काम गर्नुपर्ने स्थिति छ । लकडाउनको केही समय शायद सबैको लागि राम्रो ब्रेक थियो । यसले क्यानलाई पनि आरामका साथ क्रिकेट बिकासको लागि योजना तयार गर्न मद्दत गरेको होला । हामी लामो समय अभ्यासबिहिन भएर बस्न मिल्दैन र आशा गरौं सरकारले यसको लागि स्थिति सहज बनाउनेछ,” उनले भने ।

सन् २०१६ मा इंग्ल्यान्ड भ्रमणका क्रममा पहिलो पटक लर्ड्समा एमसीसीसँगको मैत्रीपुर्ण खेल खेले पछि सामुहिक तस्बिर लिंदै नेपाली क्रिकेट टोली ।  तस्बिर : कौशल अधिकारी / विस्पोर्ट्ज़

नेपालमा कोरोनाको प्रभाव कम भएको स्थितिमा घरेलु क्रिकेट फर्कन सक्छ । दर्शकलाई प्रवेश निषेध गराउदै अत्यन्तै कडा सावधानीकाबीच राष्ट्रिय प्रतियोगिता गराउन त सकिएला तर जति नै उल्लेख्य संख्यामा घरेलु क्रिकेट खेलिएपनि यसले नेपाललाई क्रिकेट बिश्वकप लिग टु का टोलीहरुलाई चुनौति दिन भने पुग्दैन । अहिलेको स्थिति हेर्ने हो भने नेपाल लगायत अन्य थुप्रै एशोसिएट राष्ट्र कोरोनाका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता पनि केही समय खेल्नै नसक्ने स्थितिमा पुगेका छन् ।

कस्तो छ अन्तर्राष्ट्रिय स्तरमा स्थिति ?

आईसिसिले अघि सारेको ब्याक टु क्रिकेट गाइडलाईन ती टेस्ट राष्ट्रहरुको लागि मात्र हो जसले आफ्नो दममा अन्तर्राष्ट्रिय क्रिकेट सञ्चालन गर्न सक्छन् । इङ्गल्याण्डले जुलाई देखि वेष्ट इण्डिज, पाकिस्तान, अष्ट्रेलिया र आयरल्याण्डलाई खाली रँगशालामा खेल्न गइरहेको छ । कोरोनाको प्रभाव कम भएको स्थितिमा सामाजिक दुरी कायम गर्दै दर्शकलाई पनि प्रवेश दिन सक्नेछ ।

न्युजिल्याण्ड र अष्ट्रेलिया कोरोनाले कम प्रभावित छन् र दुवै देशले यसअघि नै ठूला प्रतियोगिताहरु गर्न पनि तयार रहेको बताउदै आएका छन् । दर्शक नभएको स्थितिमा पनि यी देशहरुले टेलिभिजन प्रशारण अधिकारमार्फत प्रशस्त आम्दानी गर्न सक्छन् । भ्रमणकारी टोलीका सदस्यहरुलाई आफ्नै खर्चमा क्वारेन्टिनमा राख्न उनीहरुको लागि कुनै ठूलो कुरा हुदैन ।

आईसिसिकै तालिका कुरेर बस्ने नेपाल लगायतका अन्य एशोसिएट राष्ट्रहरुको निकट भविष्य भने निकै अध्यारो छ । कोरोनापछि अहिले हरेक देशले १४ दिने क्वारेन्टिनको नियम लगाएका छन् । लिग टुमा रहेको नेपालसँगै अन्य ६ देशहरुले यो नियम पनि मान्नै पर्नेछ । लिग टुको खर्च आईसिसिले बेहोर्ने भएकाले क्वारेन्टिन खर्च पनि उसले नै बेहोर्नु पर्ने हुन्छ । तर अन्तर्राष्ट्रिय क्रिकेट नै ठप्प भइदिदा आईसिसि आफै आर्थिक संकट तर्फ मोडिएको छ ।

कोरोना भाइरसले फुटबल चारैतर्फ ठप्प भइदिदा अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले राहत स्वरुप आफ्ना सदस्य राष्ट्रहरुलाई पाँच लाख अमेरिकी डलर राहत स्वरुप उपलब्ध गराउने निर्णय गर्यो । फुटबलपछि क्रिकेट सबैभन्दा लोकप्रिय खेल मध्ये पर्दछ तर आर्थिक रुपमा भने आइसिसि त्यति सबल छैन । यहा कुनै तुलना नै हुन नसक्ने स्थिति छ ।

आर्थिक मन्दीमा आईसिसिको नजर अष्ट्रेलियामा आयोजनका लागि तय गरिएको २०२० बिश्वकपसँगै अन्य टेस्ट राष्ट्रहरुको प्रगतिमै केन्द्रित हुनेछ । क्वारेन्टिन बस्नु नपर्ने स्थिति नआउञ्जेल लिग टु लगायत आईसिसिकै खर्चमा हुने महिला क्रिकेट, उमेर समुह क्रिकेटमा पनि प्रत्यक्ष प्रभाव पार्नेछ । अण्डर १९ बिश्वकप र महिला बिश्वकपबाहेक अन्य कुनै पनि प्रतियोगितामा आईसिसिलाई आम्दानी हुदैन ।

फेब्रुवरीमा लिग टु का चार खेल खेलेको नेपालले आफूले यो व्यवस्थापमा पाउने ३६ एकदिवसीय अन्तर्राष्ट्रिय मध्ये २०२० मा अझै १२ वटा खेल्न बाकी रहेको छ । यो सँगै अगष्टमा लर्डसमा मेरिलबोन क्रिकेट क्लबसँगको खेल पनि रहेको थियो । तर कोरोना भाइरस र क्वारेन्टिन बस्नै पर्ने बाध्यकारी नियमका कारण यो बर्ष सम्भव देखिदैन ।
क्वारेन्टिन आवश्यकत नपर्ने स्थिति कहिले आउने यसको दुँगो पनि छैन ।

आम्दानी नहुने एशोसिएट क्रिकेटका प्रतियोगिता, उमेर समुह क्रिकेट, क्षेत्रिय क्रिकेट, महिला बिश्वकप वा एसिया कप छनौट सबैलाई अब कोरोनाको प्रभावले नराम्ररी नै सताउनेछ जसको असर केही समय कायम रहनेछ ।

Click to comment

Trending