Headline

‘जस्टिस फर जर्ज’ अभियानमा साथ दिनेलाई कारवाही नगर्न फिफाको आग्रह

Published

on

बिश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोएडका लागि न्याय माग्दै खेलका दौरान यो अभियानमा समर्थन जनाइरहेका जर्मन बुन्डेसलिगाका खेलाडीहरुमाथि कुनै कारवाही नगर्न आग्रह गरेका छन् ।

४६ बर्षिय फ्लोएडको मे २५ मा नियन्त्रणमा रहँदा गोरा प्रहरी डेरेक चभिनको ज्यादतीका कारण ज्यान गएको थियो । त्यसयता मिनेसोटा राज्यबाट शुरु भएको जस्टिस फर जर्ज (जर्जका लागि न्याय) अभियान बिश्वभर फैलिएको छ भने कोरोना भाइरसपछि सुचारु भएका युरोपियन फुटबल लिगहरुमा पनि खेलाडीहरुले उनका लागि न्यायको माग गरिरहेका छन् ।

जर्मन फुटबल संघले यो अभियानमा बुन्डेसलिगाका खेलहरु दौरान प्रदर्शन गरेको भन्दै अनुसन्धान शुरु गरेको छ । छानबिन गरिएका खेलाडीहरुमा बोरुसिया डर्टमण्डका जेडन साञ्चो र असरफ हकिमी, साल्केका अमेरिकी मिडफिल्डर वेस्टन म्याककेनी र बोरुसिया मोइचेनग्ल्याडब्याचका मार्कस थुराम रहेका छन् ।

फिफाको नियमावलीमा कुनै पनि राजनीतिक, धार्मिक वा व्यक्तिगत नारा अथवा सन्देश खेलका दौरान प्रदर्शन गर्न पाइदैन तर फ्लोएडको मुद्दामा भने फिफा आफैले पनि फुटबल संघहरुलाई लचकता देखाउन भन्दै आएको छ । फिफालाई यसैपनि फुटबलमा जारी रँगभेद अन्त्य गर्न महत्वपूर्ण कदमहरु नचालेको आरोप लाग्दै आएको छ ।

“बुन्डेसलिगाका खेलहरुमा खेलाडीले गरेको प्रदर्शन सजाय नभएर सराहनाको हकदार हो, यसमा कुनै दुई मत नै छैन,” इन्फान्टिनोले एक प्रेस बिज्ञप्ति मार्फत भने । “हामीले रँगभेदलाई नाइ भन्नै पर्छ र कुनै किसिमको भेदभाव कायम रहन दिनु हुदैन । हामीले कुनै किसिमको हिंसालाई पनि समर्थन गर्नु हुदैन ।”

यसअघि फिफाले संघहरुलाई फ्लोएडका लागि मागिएको न्यायका बिषयमा व्यवहारिक भएर सोच्न पनि आग्रह गरेको थियो । “फिफालाई जर्ज फ्लोएडको दुखद घटनालाई लिएर खेलाडीहरुले देखाएको चासो र यसको गहिराइको बारेमा राम्रो ज्ञान छ,” फिफाले भनेको थियो ।

प्रशिक्षणका दौरान मैदानमा घुँडा राख्दै चेल्सीका खेलाडीहरु

प्रिमियर लिगले अनुमति दिने

फ्लोएडका लागि न्याय माग्दै सोमबार लिभरपुल र मँगलबार चेल्सीका खेलाडीहरुले आ–आफ्नो प्रशिक्षण मैदानमा गोलो बनाएर घुँडा टेक्दै प्रदर्शन गरेका थिए । फिफाले यस बिषयमा लचकता अपनाउन आग्रह गरे लगत्तै इङ्गलिस फुटबल एशोसिएसनले प्रिमियर लिगका दौरान फ्लोएडका लागि न्याय माग्दै प्रदर्शन गर्न अनुमति दिएको छ ।

इङ्गलिस एफएले यस बिषयमा व्यहारिक नीति अवलम्बन गर्न गइरहेको बताउदै खेलाडीलाई मैदानमा घुँडा राख्न अथवा कुनै पनि सन्देश प्रवाह गर्नबाट नरोकिने बताएको छ । फ्लोएडमाथि एक गोरा प्रहरीले गरेको अन्यायबिरुद्ध अहिले बिश्व खेलकुद नै एक भएको छ । यसमा अश्वेत खेलाडीहरु मात्र नभएर श्वेत खेलाडीहरुले पनि एैक्यबद्धता जाहेर गर्दै आएका छन् ।

मङ्गलबार अन्तर्राष्ट्रिय खेलाडी, क्लब र खेल संस्थाहरुले सामाजिक सञ्जालमा यसको बिरोधमा कालो तस्विर पोस्ट गरेका छन् । यसलाई ब्ल्याकआउट टुइजडे –मँगलबार) नाम दिइएको छ । झण्डै सम्पुर्ण खेलका खेलाडीहरुले यसमा समर्थन जनाएका छन् ।

Click to comment

Trending