Headline

बिश्व खेलकुदमा पनि फैलिएको ‘जस्टिस फर जर्ज’ को आगो

Published

on

अमेरिकाको मिनियापोलिस शहरमा प्रहरीको ज्यादतिका कारण ज्यान गुमाएका ४६ बर्षिय जर्ज फ्लोएडको लागि न्यायको माग गर्दै मिनेसोटा राज्यदेखि सल्किएको आगो बिश्व खेलकुदमा पनि फैलिएको छ ।

आइतबार राति जर्मन बुन्डेसलिगामा भएको खेलमा बोरुसिया डर्टमण्डका स्ट्राइकर जेडन साञ्चाले पेडरबर्नबिरुद्ध गोल गरेपछि जर्सि उचाल्दै भित्री टि–शर्टमा लेखिएको ‘जस्टिस फर जर्ज फ्लोएड’ (जर्ज फ्लोएडका लागि न्याय) देखाउदै समर्थन देखाएका थिए । शनिबाबर बुन्डेसलिगाका सबै खेलहरुमा फुटबलरहरुले जर्जका लागि न्याय माग गरेका थिए भने अन्य खेलकुदका हस्तीहरुले पनि यसमा साथ दिएका छन् ।

अश्वेत नागरिक फ्लोएडलाई एक ठगी मुद्दाको अनुसन्धानमा मे २५ मा प्रहरीले गिरफ्तार गरेको थियो । गोरा प्रहरी डेरेक चभिनले गिरफ्तारीकै क्रममा हतकडी लगाइएका फ्लोएडलाई गाडीको छेउमा लडाएर झण्डै ९ मिनेटसम्म बलपुर्वक घाटीमा थिच्दा उनको ज्यान गएको थियो । चभिन र फ्लाएड एउटै नाइट क्लबमा सुरक्षा दिने काम गर्दै आएका थिए ।

जर्ज फ्लोएड (बाया ) र डेरेक चभिन

‘जस्टिस फुर जर्ज’ नारा लगाउदै शुरु भएको बिरोध अहिले पुरै अमेरिकामा फैलिएको छ भने कतिपय स्थानमा यसले हिंसात्मक रुप पनि लिइरहेको छ । पछिल्लो समय अमेरिकामा अश्वेत नागरिकहरु माथि हुदै आएको प्रहरी ज्यादतिको बिरोध फ्लोएडको मृत्यु पछि चरम बिन्दुमा पुगेको छ ।

फ्लोएडले घाटी थिचिदै गर्दा बारम्बार “म साँस फेर्न सकिरहेको छैन अफिसर” भन्दै छोड्न आग्रह गर्दा पनि चभिनले नछोडेको स्पष्ट देखिएको भिडियो नै सार्वजनिक भएपछि अमेरिकाका अश्वेत नागरिक मात्र नभई गोराहरुले पनि ठूलै संख्यामा साथ दिइरहेका छन् ।

घट्नामा संलग्न चारै जना प्रहारीलाई बर्खास्त गर्नुका साथै चभिनमाथि “थर्ड डिग्रि मर्डर” चार्ज लगाइएपनि आन्दोलनकारीहरुले त्यो काफी नभएको बताउदै आएका छन् । उनीहरुले अन्य तीन प्रहरी अधिकारीहरुलाई पनि कडा सजाय दिइनुपर्ने माग गर्दै आइरहेका छन् । आन्दोलनले हिंसात्मक रुप लिन थालेपछि हाल अमेरिकाको ४० शहरमा कर्फ्यु लगाइएको छ ।

जस्टिस फर जर्ज लेखिएको टि–शर्टमा साञ्चो

“करिअरको पहिलो ह्याट्रिक पुरा गर्दा म खुशी छु तर अहिले दुनियामा यस्ता कुराहरु पनि भइरहेका छन् जसमा हामीले परिवर्तन ल्याउनका लागि सम्बोधन गर्न आवश्यक छ । सही के हो भन्न हामी डराउनु हुदैन । न्यायका लागि हामी एकै साथ उभिनुपर्छ । सँगै हुदा हामी बलियो हुन्छौं,” इङ्गल्याण्ड फर्वार्ड साञ्चोले आइतबारको खेलपछि आफ्नो इन्स्टाग्राममा लेखेका छन् ।

बोरुसिया मोइचेनग्ल्याडब्याचका फ्रेञ्च फुटबलर मार्कस थुरामले बुन्डेसलिगामै युनियन बर्लिनबिरुद्धको खेलमा गोल गरेपछि आफ्नो घुँडा मैदानमा राखेका थिए । थुरामको संकेत सन् २०१६ मा अमेरिकी फुटबलका क्वार्टरब्याक कोलिन केपरनिकले राष्ट्रिय गान गाउदा अमेरिकामा जारी रङ्गभेदबिरुद्ध को शैलीसँग मिल्दो जुल्दो थियो ।

आफ्नो सकृय करिअरमा सामाजिक मुद्दाहरुमा खासै टिप्पणी नगरेका अमेरिकन बास्केटबल लिजेण्ड माइकल जोर्डनले अमेरिकामा गाढिएर बसेको रङ्गभेदको खुलेरै आलोचना गरे । “म निकै दुखि छु, साच्चिकै चोट पुगेको छ र निकै क्रुद्ध पनि छु । हामीले धेरै सहिसकेको छौं । अन्याय बिरुद्ध हामी शान्तिपूर्ण तरिकाले लड्नुपर्छ र जवाफदेहिताको माग कायम राख्नुपर्छ,” जोर्डनले भने ।

अर्का एनबिए स्टार लेब्रोन जेम्सले ट्विटरमा “अमेरिकाले हामीलाई किन माया गर्दैन” लेखेका थिए । यस्तै टेनिस स्टार सेरेना विलियम्सले इन्स्टाग्राममा एउटा निकै लामो भिडियो पोस्ट गरिन जसमा एक अफ्रिकन–अमेरिकन युवतीले भनेकी छिन्ः “हामी कालो मानिस हौ र हामीले यस्तो महसुस गर्न नपरोस ।”

टेनिसकी उदीयमान खेलाडी कोको गउफले आफ्नो इन्स्टाग्रामा एक सरल प्रश्न मात्र गरेकी छिनः “के अब मेरो पालो हो ?”

Click to comment

Trending