Headline

लिगको प्राविधिक पक्ष नै गायब भएको प्राविधिक प्रतिवेदन

Published

on

गौरव फुयाल

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबल ईतिहासकै पहिलो प्रविधिक प्रतिवेदन दाबी गर्दै शुक्रबार शहीद स्मारक ए डिभिजन लिगको एउटा किताब सार्वजनिक गर्यो । खेलकुदको भाषामा यो प्रतिवेदनलाई टेक्निकल रिपोर्ट भन्ने गरिन्छ जुन कुनै पनि खेलकुद प्रतियोगिता शुरु हुनु अघि वा सकिएको केही दिनमै सार्वजनिक गर्ने गरिन्छ ।

यस्तो प्रतिवेदनमा प्रतियोगितामा के–कस्ता टोलीहरु खेलेका छन्, कस्तो खेल देखाएका छन् भन्ने कुरालाई तुलनात्मक बिश्लेषण सहित प्रस्तुत गर्ने गरिन्छ । तर एन्फाले यसलाई सार्वजनिक गर्न  ९८ दिन लगायो । यसअघि कहिले प्रकाशनमा नआएको प्रतिवेदन पहिलो पटक आएकै कारण दिन मतलब भएन । तर प्रतिवेदन भित्रको दस्तावेजले भने त्यसलाई प्राविधिक प्रतिवेदनको रुपमा स्विकार भने गर्न सकिदैन ।

मंसिर २९ गते देखी फागुन ३ गते सम्म चलेको लिगले सरस्वतीका कप्तान दिपेश श्रेष्ठको म्याच फिक्सिङ प्रस्ताव, मैदानमै मानङ मस्र्याङ्दी र मच्छिन्द्र क्लबबीचको झगडा देखी हिमालयन शेर्पाले मैदानमा १२ जना उतारेको घटनाहरुको साक्षी बनायो । एक टोलीमात्र रेलिगेट हुने प्रावधान रहेको लिग कमि कमजोरीहरु त थिए नै तर चार महिनामा प्रकाशित भएको प्रविधिक प्रतिवेदनले पनि आफ्नो नाम अनुसारको काम गर्न सकेन ।

एन्फाले प्रतिवेदनमा उल्लेख गरेका धेरै तथ्यांकहरु उसकै आधिकारिक वेबसाइटमा देखाइएको खेलहरुको प्रत्यक्ष प्रशारणमै हेर्न मिल्ने थियो । लिगमा भएको राम्रो काम मध्ये त्यो एउटा थियो तर त्यसैलाई समेटेर एन्फाले प्रतिवेदन बनाएर प्रस्तुत गरिदियो । एक किसिमले यो एक कपि–पेस्ट काम भयो भने प्रविधिक दाबी गरिएको प्रतिवेदनमा प्रविधिक बिषय नै गायब गरियो ।

एन्फाले सर्वजनिक गरेको पुस्तकमा लिग अवधिका गोल, गोल गर्नलाई प्रहार गरिएका शट, अफसाइड, कार्ड, फउल र खेलाडीको उमेरलाई समेटिएको छ । तर अन्तर्राष्ट्रिय मान्यता अनुरुप लिगको प्राविधिक रिपोर्ट भने यस्तो हुदैन ।

प्रतिवेदनको एक मात्र राम्रो पक्ष स्वास्थ्यको रहेको छ । फिटनेस तर्फ रहेका चिकित्सकहरुको टोलीले खेलाडीको कमी कमजोरीलाई राम्रोसँग देखाएका छन् जसले गर्दा धेरै टोलीहरुले आफ्ना खेलाडीहरुको फिटनेसमा अबका लिगहरुमा ध्यान दिनु पर्ने अवस्था आएको छ । एन्फको प्रतिवेदनमा स्वास्थ्य बाहेक अन्य पक्ष भने निकै सामान्य रहेको छ ।

अन्तर्राष्ट्रिय फुटबलको प्रतिवेदनमा सामान्यत खेलमा भएका टोलीहरुको बलियो र कमजोर पक्षलाई हेर्दै रणनैतिक विश्लेषण गर्न जरुरी देखिन्छ । एन्फाको प्रतिवेदनमा खेलाडीले खेलेका समय, गरेका गोल र खेललाई मात्र क्लबको तथ्याङ्कमा राख्दा रणनीतिको हिसाबमा टिम फर्मेसन मात्र समेटिएको छ ।

प्रतिवेदन सर्वजनिक गर्दा लिग कमिटी सदस्य बिज्ञानराज शर्माले फुटबलको विकास, प्रशिक्षक र खेलाडीको स्तर बढाउनका लागि यस्ता प्रतिवेदन अपरिहार्य रहेको र यो एक शुरुवात भएको बताए । तर एन्फा शुरुवातमै चुकेको छ ।

तथ्याङ्कले मात्रै कहिल्यै खेलाडी र प्रशिक्षकको स्तर बढाउन मद्दत गर्दैन । स्तर बढाउने हो भने खेलको दर्शनलाई बुझेर लिग भरीका उत्कृष्ट खेलहरुको राणनैतिक विश्लेषण आवश्यक छ । सहभागी टोलीका प्रशिक्षकहरुले खेलाउने दृष्टिकोण समेट्दा नेपाली फुटबलमा प्रशिक्षकहरुको फिलोसोफिले पनि राम्रो स्थान पाउने थियो । लिग तथ्याङ्क बाहेक अन्य बिषय समेट्दा नयाँ आउने खेलाडी र प्रशिक्षकको पुस्तालाइ फुटबल बुझेर खेल्न र खेलाउन मद्दत गर्ने थियो ।

नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा लान आफू लागि परेको दाबी गर्दै आएको एन्फाले लिगका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार त दियो तर उनीहरु किन उत्कृष्ट भए यसको सुक्ष्म अध्ययन प्रतिवेदनमा छैन । खेलाडीहरु के आधारमा उत्कृष्ट भए ? उनीहरुको खेल्ने शैली कस्तो थियो ? कुन खेलमा कस्तो प्रदर्शन गरे ? तुलनात्मक रुपमा किन राम्रा थिए ? यी सब कुराहरु प्रतिवेदनमा उल्लेख गर्नु पर्छ भन्ने एन्फालाई लागेन ।

यसबाहेक कुन टोली कुन पोजिसनमा चुक्न पुगे ? कुन टोलीको कँहा बल पोजेसन लिए र मुभमेन्ट धेरै गराए ? कुन टोलिका खेलाडीले क्लबको लागी उत्कृष्ट प्रदर्शन गरे ? खेलमा कुन स्थानबाट धेरै गोल भए ? यी सबैको चित्रात्मक तस्वीरका साथ प्रतिवेदन पेस गर्न जरुरी देखिन्छ । मुख्य कुराहरु नै नअटाएको यो प्रतिवेदनलाई प्रविधिक भन्दा त्यो शब्द कै चिर हरण गरेको भान हुन्छ ।

यि त भए उल्लेख नै नभएका कुराहरु । तर यहा त तथ्याङ्कनै प्रकाशन गरेको तथ्याङ्क विवरणमा तथ्याङ्क नै गलत छन् ।

लिग खेलेका खेलाडी बाहेक टोलीमा भएका सम्पूर्ण खेलाडीको नाम पनि लेखिएको छैन । हरेक टोलीमा तीन गोलकिपर हुन आवश्यक नै देखिन्छ, उनीहरु नखेलेपनि नाम हुन जरुरी छ । लिगमा सब्स्टिच्युटमा भएका अन्य खेलाडी गायब छन । सरस्वती क्लबको प्रशिक्षकमा लिग शुरु हुने बेला अशोक केसी भए पनि प्रतिवेदनमा प्रदिप नेपाल देखिन्छन् । लिग भरी एक क्लबले १३ खेल खेले पनि च्यासलका दुई गोलकिपर एलेन न्यौपानेले १२ र अभिषेक बरालले १२ खेल खेलेका छन् ।

एन्फाले प्रतिवेदन मात्र निकाले पनि यो फुटबल प्रेमीहरुको लागि ठूलो कुरा हो । प्राविधिक अध्ययन भन्दा तथ्याङ्कले भरिएको प्रतिवेदन भए पनि हामी धेरै कुरामा चुकिरहेका छौं । वेबसाइटको लाइभ कमेन्ट्री वा खेलको बेला नै टिप्न सकिने यी तथ्याङ्कहरु भविष्यमा धेरै काम त लाग्ने छ तर आउने पुस्ताका लागि भने फुटबल बुझ्नका लागि पर्याप्त छैन ।

आधुनिक फुटबलमा नेपाल पछि पर्नुको एक कारण रणनैतिक हिसाबले खेललाई बुझ्न नसक्नु पनि हो । नेपालले युरोपेली ढँगको खेल पस्कन अहिल्यै सम्भव त छैन तर घरेलु फुटबलको मेरुदण्ड मानिने लिगलाई दक्ष जनशक्तिको सहयोगमा ट्यक्टिकल फुटबल को दर्शन अनुरुप प्रस्तुत गर्नु पर्ने लक्ष्य लिन आवश्यक छ ।

Click to comment

Trending