Headline

क्रिकेटमा मांकडीङ्ग के हो र ५ कुख्यात घट्ना कुन–कुन हुन् ?

Published

on

के हो मांकडिङ्ग ?

क्रिकेटमा आउट गर्ने सबैभन्दा बिवादास्पद तरिका मांकडिङ्गलाई लिएर जहिले पनि क्रिकेटको दुनिया बिभाजित हुने गर्दछ । बलरले बलिङ्ग गर्दै गर्दा नन–स्ट्राइकमा रहेका ब्याट्स्म्यानहरुले रन लिनको लागि एक दुई कदम पहिलो नै अघि बढाउने गर्दछन् । यस क्रममा ब्याट पनि हावामा हुँदा नन–स्ट्राइकरले क्रिज छोडिसकेका हुन्छन् र त्यसैको फाइदा उठाउदै बलरले बलिङ्ग नगरि आफ्नै एण्डका ब्याट्स्म्यानलाई रन आउट गर्न सक्छन् ।

धेरैले आउट गर्ने यो तरिका खेल भावना बिपरित रहेको भनेपनि अन्यले भने यदि क्रिकेटको नियमको किताबमा छ भने यसको प्रयोग गर्न सकिने तर्क दिने गर्छन् । मांकडिङ्ग बाट आउट हुने खेल जहिले पनि त्यसको समाप्तिपछि चर्चामा हुने गर्छ, र आउट गर्ने बलर आलोचकहरुको निशानामा पर्ने गर्छन ।

कहाँबाट आयो मांकडिङ्ग ?

मांकडिङ्गलाई अष्ट्रेलियन मिडियाले चर्चामा ल्याएको शब्दावली हो जो पछि गएर क्रिकेटको नियममै औपचारिक रुपमा राखिएको थियो । सन् १९४७ मा भारत टेस्ट श्रृंखलाका लागि अष्ट्रेलियामा रहेको थियो । त्यही श्रंखलाका क्रममा भारतीय बलर भिनु मांकडले बिल ब्राउनलाई दुई पटक त्यही तरिकाले आउट गरेका थिए ।

अष्ट्रेलियाका त्यति बेलाका कप्तान सर डन ब्राडम्यानले मांकडको समर्थन गरेपनि अष्ट्रेलियन मिडियाले भने यसलाई खेल भावना बिपरित रहेको ठहर गरेका थिए । यो घट्नापटि क्रिकेटको नियममा पटक पटक हेरफेर त गरियो तर यो आउट हुने तरिकाको बैधतालाई कायम नै राख्यो । त्यस यता क्रिकेटमा यसरी आउट हुने घट्ना पटक पटक दोहोरिने गरेको छ भने कोही बलरहरुले यसको बिरुद्धमा गएर निर्णय गर्ने गरेका छन् ।

आज हामी क्रिकेटमा भएका यस्तै कुख्यात मांकडिङ्ग घट्नाहरुको बारेमा चर्चा गर्नेछौं जसलाई लिएर क्रिकेटको बिश्व बिभाजित बनेको थियो ।

ओमानका आमिर कलिम भर्सेज हँगकँगका मार्क च्यापम्यान

सन् २०१६ को एसिसि एसिया कप ट्वान्टी ट्वान्टी क्वालिफायरको एक महत्वपूर्ण खेलमा हँगकँग ओमानको सामना गरिरहेको थियो । पहिलो ब्याटिङ्ग गरेको ओमानले १ सय ८० रनको बिशाल योगफल खडा गर्यो । तर बाबर हायतले उत्कृष्ट ब्याटिङ्ग गरेपछि हँगकँगले निकै उत्कृष्ट शुरुवात पाएको थियो ।

दोश्रो विकेटको रुपमा अन्सुमन राथलाई गुमाएपछि टोलीका अर्का महत्वपूर्ण ब्याट्स्म्यान च्यापम्यान बाबरलाई साथ दिन आएका थिए । तर स्पिनर कलिमले च्यापम्यानलाई ८ रनको व्यक्तिगत योगफलमा मांकडिङ्ग गरे । बाबरले खेलमा बिष्फोटक ६० बलमा १ सय २२ रन प्रहार गरेपछि हँगकँग पाँच रनले खेल हार्न पुग्यो ।

च्यापम्यान क्रिज छोड्न नचाहेपनि उनी पेभिलियन फर्किन बाध्य थिए । कलिम र ओमानी टिमको त्यो समय निकै आलोचना भएको थियो । च्यापम्यान अहिले न्युजिल्याण्डका लागि खेल्ने गर्छन् ।

वेष्ट इण्डिजका चार्लि ग्रिफिथ भर्सेज अष्ट्रेलियाका इयन रेडपाथ

भिनु मांकडको रनआउट काण्डपछि क्रिकेट इतिहासमा देखिएको यो पहिलो मांकडिङ्ग घटना थियो जसमा त्यो समयका टेस्ट महारथी वेष्ट इण्डिज र अष्ट्रेलिया खेलिरहेका थिए । १९६९ मा भएको टेस्टमा ग्यारी सोबर्स, बासिल बुचर र डउग वाल्टर्सले सम्झनलायक ब्याटिङ्ग गरिरहेका थिए ।

तर म्याचको केन्द्र भने ग्रिफिथ बने । जितका लागि ३ सय ६० रनको लक्ष्य पछ्याइरहेको अष्ट्रेलिया आरामका साथ खेलिरहेको थियो । तर रेडपाथ ९ रनमा रहदा ग्रिफिथले उनलाई मांकडिङ्ग गर्दै रनआउट गरे ।

एडिलेडमा भएको चौथो टेस्टमा जित हात पारेको खण्डमा अष्ट्रेलिया एक खेल अगावै सिरिज हात पार्न सफल हुने थियो । तर ग्रिफिथको रनआउटले चौथो टेस्ट बराबर हुन मुख्य भुमिका खेल्यो । यद्दपी अन्तिम टेस्ट जित्दै अष्ट्रेलियाले सिरिज ३–१ ले कब्जा गर्यो ।

वेष्ट इण्डिजका किमो पउल भर्सेज जिम्बाब्वेका रिचर्ड एनगाराभा

आधुनिक क्रिकेटमा मंकडिङ्गले सबैभन्दा बढी नकारात्मक चर्चा पाएको यही खेल थियो किनभने यो अण्डर १९ बिश्वकपको सबैभन्दा महत्वपूर्ण खेल थियो । बङ्गलादेशको चटोग्राममा समुह सी अन्तर्गत भएको खेलमा जिम्बाब्वे र वेष्ट इण्डिज दुवैलाई जितको आवश्यकता रहेको थियो । यो खेलमा जित हात पार्ने टोली नै क्वार्टर फाइनल प्रवेश गर्ने थियो ।

पहिलो ब्याटिङ्ग गरेको वेष्ट इण्डिजलाई जिम्बाब्वेले ५० ओभरमा २ सय २६ रनमै रोकेको थियो । मध्यक्रमले सम्हालेको जिम्बाब्वेलाई खेलको अन्तिम ७ बलमा मात्र चार रनको आवश्यकता रह्यो र उसको हातमा मात्र एक विकेट थियो । पउलले ४९ औं ओभरको अन्तिम बलमा भने यो हतकण्डा अपनाए । तिब्र गतिका बलर पउलले नन–स्ट्राइकमा रहेका एनगाराभालाई रन आउट गरे ।

खेल वेष्ट इण्डिजले जित्यो र सेमिफाइनलमा बङ्गलादेशलाई हराउदै फाइनलमा प्रवेश गर्यो । फाइनलमा उसले भारतलाई हराउदै बिश्वकप नै कब्जा गर्यो । जिम्बाब्वेबिरुद्धको खेल लगत्तै वेष्ट इण्डिजकै हस्तीहरुले पनि ट्विटर मार्फत पउलको खुबै आलोचना गरे तर पउलले आफ्नो टिमलाई बिश्वकप जिताउने कदम चालेका थिए । पउल इण्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सबाट खेलिरहेका छन् ।

श्रीलंकाका सचित्र सेनानायके भर्सेज इङ्गल्याण्डका जोस बट्लर

२०१४ मा श्रीलंका र इङ्गल्याण्ड पाँच म्याचको एकदिवसीय श्रंखला खेलिरहेका थिए । दुवै टोलीले दुई–दुई म्याच जितेपछि एजबास्टनमा निर्णायक खेलमा दुई टोली भिडिरहेका थिए । १ सय ७० रनमा ६ विकेट गुमाएको इङ्गल्याण्डलाई बट्लर र क्रिस जोर्डनले सम्हाल्ने प्रयास गरिरहेका थिए ।

इङ्गल्याण्डले रन गतिलाई बढाउने प्रयास गर्नै लाग्दा स्पिनर सेनानायकेले ४४ औं ओभरको दोश्रो बलमा बट्लरलाई मांकडीङ्ग गरे । लगत्तै जोर्डन आउट भएपछि इङ्गल्याण्डको इनिङ्गस २ सय १९ रनको सामान्य योगफलमै खुम्चिन पुग्यो ।

माहेला जयावद्र्धने र लाहिरु थिरिमानेले अद्र्धशतक पुरा गरेपछि श्रीलंकाले ४८ दशमलव दुई ओभरमा लक्ष्य प्राप्त गर्दै श्रृंखला आफ्नो नाममा लेखायो । रिप्लेका अनुसार सेनानायकेले पटक पटक बट्लरलाई क्रिज नछोड्नका लागि चेतावनी दिएका थिए ।

भारतका कपिल देव भर्सेज दक्षिण अफ्रिकाका पिटर कस्र्टन

यो एउटा यस्तो घट्ना थियो जसका कारण भारतलाई १९८३ बिश्वकप जिताएका कपिल देवको इज्जतमा अलिकति भएपनि धक्का लागेको थियो । १९९२ मा भारत र दक्षिण अफ्रिका सेन जोर्जेज पार्कमा ७ म्याचको एकदिवसीय श्रंखला अन्तर्गत दोश्रो खेलमा खेलिरहेका थिए ।

पहिलो ब्याटिङ्ग गरेको भारत १ सय ४७ रनको झिनो योगफलमै समेटिएको थियो । दक्षिण अफ्रिकाका लागि ब्रायन म्याकमिलनले चार विकेट लिएका थिए । दोश्रो इनिङ्गसमा भारतले एन्ड्रयु हड्सनलाई सस्तैमा पेभिलियन फर्काएपछि कस्र्टन र केप्लर वेसल्सले इनिङ्गस सम्हाल्ने प्रयास गरिरहेका थिए । तर जितको लागि भोको देखिएका कपिलले कसर््टनलाई पाँच रनमा मांकड गरे ।

कपिलको निर्णयले भने दक्षिण अफ्रिकालाई खासै फरक परेन । ह्यान्सी क्रोन्ये र डेभ क्यालागनले आकर्षक साझेदारी गर्दै घरेलु टोलीलाई सहज जित दिलाएका थिए । श्रंखला दक्षिण अफ्रिकाले ५–२ ले जित्यो तर कप्तानको रुपमा मांकडीङ्ग गरेका कपिलले त्यो समय धेरै आलोचना खेप्नु परेको थियो ।

Click to comment

Trending