Headline

ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर

Published

on

ब्राजिललाई फुटबलको मेक्का मानिने गरिन्छ । दशकौंदेखि विश्व स्तरीय खेलाडी जन्माउदै आएको ब्राजिलले पेले देखी गारिन्चा र रोनाल्डो देखी काका सम्मका चम्किला फुटबलर पाइसकेको छ । अन्य देशहरु जस्तै इटाली, जर्मनी, अर्जेन्टिनाले पनि विश्व स्तरीय खेलाडी नपाउने हैन तर ईतिहास र वर्तमान दुबैलाई नियाल्ने हो भने ब्राजिलियन खेलाडीको तुलनामा ती फिक्का हुन्छन् । हरेक बर्ष ब्राजिलमा एक न एक खेलाडी स्टारको रुपमा अघि आउने गर्छ । कोही यसै बिलाउने गर्छन भने कोहि इतिहासको पानामा छाप छोडेर जान्छन् ।

एक जमानामा खेलाडीमात्र हैन एउटा सिंँगो ब्राजिलियन टिमलाइ स्टार मान्ने गरिन्थ्यो । १९५८, १९७० र १९८२ को ब्राजिलियन राष्ट्रिय टोलीलाई फुटबल ईतिहासकै अब्बल टोली मानिएको थियो । १९९४ र २००२ को विश्वकप बिजेता टोली पनि कम भने आँकिएको थिएन ।

तर पाँच पटक विश्व बिजेता बन्न सफल ब्राजिलियन टोलीका अहिलेसम्मका १० बिश्वस्तरीय खेलाडी को होलान त ?

१०. गेर्सन

१९७० का बिश्वकप बिजेता गेर्सन ब्राजिलले पाएको अहिले सम्मका उत्कृष्ट मिडफिल्डर हुन् । गेर्सनलाई ब्राजिलियन फुटबल ईतिहासमा गोल्डेन लेफ्ट फुट पनि भनिने गरिन्छ । उनको पासिङ एकुरेसी निकै उत्कृष्ट मानिने गरिन्थ्यो । १९५९ म फ्लेमिङ्गोबाट करिअर शुरु गरेका गेर्सन १९६० मै ब्राजिलियन ओलम्पिक टोलीमा स्थान बनाउन सफल भएका थिए । यस्तै १९७० मा बिश्वकप बिजेता भएपछि उनलाई थुप्रै युरोपियन क्लबले भित्र्याउन चाहे पनि घरेलु लिगमै बसेका थिए ।

९. रोनाल्डिन्हो

ब्राजिलले २००२ को बिश्वकप जित्दाका प्रमुख खेलाडी समेत रहेका रोनाल्डिन्होेले आफ्नो करिअरमा खेलेका सबै प्रतियोगिता जित्न सफल भएका थिए। देशका लागि मात्र हैन क्लबमा पनि थुप्रै नाम कमाएका रोनल्डिन्होेले युरोपमा खेलको जादु देखाउन सफल भएका थिए । २००४ र २००५ मा फिफा बर्ष खेलाडी घोषित उनले ब्राजिलका लागि ९४ खेल खेलेका थिए ।

८. रोबर्टाे फाल्काओ

१९८२ को बिश्वकप इटालीले जितेपनि रोबर्टो फाल्काओको प्रदर्शन भने ब्राजिलका लागि उत्कृष्ट रहेको थियो । आफूले खेलेका धेरै प्रतियोगिताहरु नजिते पनि फाल्काओको खेलको सधैं प्रशंसा हुने गथ्र्यो । उनलाई बक्स टु बक्स मिडफिल्ड खेल्ने पहिलो खेलाडीको रुपमा पनि चिनिने गरिन्छ । इटालियन टोली एएस रोमाका लागि खेलेका फाल्काओले ब्राजिलको खेल्ने तरिकामा धेरै फरक परेका थिए ।

७. रोमारीयो

रोमारियोले १९९४ विश्वकपकोको गोल्डेन बल जितेका थिए । रोमारियोलाई बिश्व फुटबल इतिहासकै उत्कृष्ट मध्ये एक खेलाडीको रुपमा लिने गरिन्छ । एउटै विश्वकपमा पाँच गोल गरेका रोमेरियोलाई अहिले पनि धेरै ब्राजिलियन आफ्नो रोल मोडल मान्ने गर्छन् । ब्राजिलका लागि ७० खेल मात्र खेल्दै ५५ गोल गर्न सफल रोमेरियो फुटबलका लागि उपहार भएको ब्राजिलियनहरु मान्ने गर्छन् । डच क्लब पिएसभी आइन्डहोभनमा खेलेका रोमेरियोले त्यहा पनि १ सय ४० खेल खेल्दै १ सय २८ गोल गरेका थिए।

६. जर्जिन्हो

१९७० मा ब्राजिलले तेस्रो बिश्वकप जित्दाका प्रमुख खेलाडी थिए जर्जिन्हो । सेन्ट्रल फर्वार्डबाट राइट विङ तिर सरेका उनले त्यही स्थानबाट खेल्दै धेरै प्रतियोगिता जित्न सफल भएका थिए । क्लब फुटबलमा दक्षिण अमेरिका बाहिर नगएका जर्जिन्होले आफ्नो व्यवसायिक करिअर बोलिभिया, पेरु र भेनेजुएलामै खेलेर बिताएका थिए । ब्राजिलका लागि ८१ खेल खेलेका उनले ३३ गोल गरेका थिए।

५. सोक्रेटिस

२०११ मा निधन भएका सोक्रेटिसले ब्राजिलियन फुटबलमा एक अलग छाप छोडेका थिए । ६ फुट तीन इन्च अग्ला उनले ब्राजिलियन मिडफिल्डलाई आधुनिक फुटबलतर्फ अग्रसर गराएका थिए । आफ्नो कला र उत्कृष्ट खेल कौशलका कारण उनको समर्थकहरु धेरै थिए । व्यवसायिक खेल जीवन ब्राजिलियन लिगमै बिताएका उनले ब्राजिलका लागि ६० खेलमा २२ गोल गरेका थिए ।

४. जिको

१९८२ मा ब्राजिलको डायमण्ड जेनेरेसन मानिने टोलीका एक अँग थिए जिको । १८ बर्षको उमेरमै दक्षिण अमेरिकाको प्रतिष्ठित प्रतियोगिता कोपा लिबेराटोडेरोसमा जादुमयी खेल देखाएपछि जिको सिधै ब्राजिलको राष्ट्रिय टोलीमा प्रवेश गरेका थिए । रुबो नेग्रो क्लबका लागि ८०० खेल खेल्दै ५०० गोल गरेका जिकोले दुई कोपा लिबेराटोडेरोसको उपाधी जिताएका थिए । १६ बर्ष एकै क्लबमा खेल्दै जिकोले आफ्नो समर्थकहरुलाई कहिल्यै पनि निरास हुन दिएनन् । उनलाई फुटबलले पाएको अहिलेसम्मकै उत्कृष्ट मिडफिल्डर मान्ने गरिन्छ ।

३. रोनाल्डो

अहिले पनि धेरै फुटबल बिश्लेषकहरु रोनाल्डोले घुँडामा चोट बोक्नु नपरेको भए फुटबललाई परिवर्तन गर्ने थिए भनेर मान्छन् । २१ बर्षको उमेरमै फ्रान्समा बिश्वकप खेल्न पुगेका रोनाल्डोले आफ्नो खेलले सबै लाई मोहित बनाएका थिए । क्लब करिअरमा २ सय गोल गरेका रोनाल्डो दुई पटक फिफा बर्ष खेलाडी जित्न सफल भएका थिए । प्रतियोगितामा एक खेल नखेले पनि १९९४ बिश्वकप जितेका उन्ले २००२ मा भने आफै गोल गरेर ब्राजिललाई बिश्वकप जिताउन सफल भएका थिए । रोनाल्डोले ब्राजिलका लागि ९८ खेल खेल्दै ६२ गोल गरेका थिए ।

२. गारिन्चा

गारिन्चा ब्राजिलले जन्माएको उत्कृष्ट मध्येका पनि उत्कृष्ट खेलाडीमा गनिन्छन् । विश्वास लाग्न गाह्रो हुन्छ होला तर १९६६ मा गारिन्चाले ५० खेल खेलेपछि मात्र पहिलो हारको नमिठो स्वाद चाखेका थिए । हङेरीसँग हारेको त्यो खेलमा पेले भने खेलेका थिएनन् । गारिन्चा र पेले खेलेको खेलमा ब्राजिलियन राष्ट्रिय टोलीले एक खेल पनि पराजिय भोग्नु परेको थिएन । १९५८ को बिश्वकप बिजेता गारिन्चाले ब्राजिलियन मिडफिल्डको पूर्ण क्षेत्र आँफै सम्हाल्ने गर्थे ।

१. पेले

फुटबलमा धेरै बहस हुने गर्छन् तर पेले विश्वले पाएको अहिले सम्मको उत्कृष्ट खेलाडी हुन् भन्ने बिषयमा भने कसैलाई शंका हुने गर्दैन । पेलेलाई आहिले सम्मको पूर्ण फुटबलरको रुपमा हेरिने गरिन्छ । १७ बर्षको उमरमै १९५८ को बिश्वकपमा आफूलाई साबित गरेका पेलेले तीन बिश्वकप उपाधि जितेका छन् । गारिन्चा र जर्जिन्होसँग खेल्दै पेलेले राष्ट्रिय टोलीका लागि ९२ खेलमा ७७ गोल गरेका थिए । क्लब करिअरमा सान्टोस र न्युयोर्क कसमसमा खेलेका उनले ६९४ गोल गरेका थिए ।

Click to comment

Trending