Headline

अल्फोन्सो डेभिसः गृहयुद्दबाट उम्केपछि बनेका स्टार फुटबलर

Published

on

अल्फोन्सो डेभिसलाई २०१९–२०२० सिजनको उत्कृष्ट लेफ्ट ब्याक भन्दा फरक पर्दैन । क्यानेडियन जुनियर लिगबाट अमेरिकन मेजर लिग सकर (एमएलएस) हुँदै बायर्न म्युनिखमा खेलिरहेका डेभिसले रातारात सफलता भने हात पारेका होइनन् । उनको हालसम्म तय गरेको यात्रा एक संघर्षको कथा हो । एक युवकको लागि प्रेरणादायी कथा र मानव जीवनबारे राम्रो उदाहरण ।

डेभिस नोभेम्बर २, २००० मा घानाको बुदुबुरम शरणार्र्थी शिविरमा जन्मिएका थिए । लाइबेरियाको १९९९ देखी शुरु भएको गृहयुद्ध छल्दै घानाको बुदुबुरम शिविर पुगेकी उनकी आमाले डेभिसलाई त्यही जन्म दिएकी थिइन् । शरणार्र्थी शिविरमै हुर्केका डेभिसको बाल्यकाल निकै कष्टकर रहेको थियो । कहिले दुइ छाक खान त कहिले लुगा लगाउन पनि पैसा नहुने ।

लाइबेरियाको गृहयुद्ध नरोकिने भए पछि घर बिर्सदै उनका बाबु आमा शराणार्थिकौ रुपमा क्यानडा प्रवेश गरेका थिए । त्यो समय डेभिस मात्र ५ बर्षका थिए । क्यानेडियन सरकारले राम्रो व्यवस्था गरिदिएपछि डेभिस परिवारको जीवन बिस्तारै परिवर्तन हुदै गएको थियो ।

सानै देखि फुटबलमा रुची राख्ने डेभिसले १४ बर्सको उमेर मै एमएलएस टोलि भ्यानकुभर ह्वाइटक्यापको युवा टोलीमा स्थान बनाउन सफल भएका थिए । युथ टोलीबाट खेलेको एक बर्ष नबित्दै उनी सिनियर टोलीमै स्थान बनाउन सफल भए । भ्यानकुभरमा तीन बर्ष खेलेपछि २०१८ मा उनको जीवनले नयाँ मोड लिन पुग्यो जब बायर्नले ९ दशमलव ८४ मिलियन पाउन्डमा डेभिसलाई म्युनिख भित्र्यायो ।

१८ बर्षको उमेरमै युरोपको उत्कृष्ट मध्येको लिग खेल्न पाउनु आफैमा गौरवमय कुरा थियो । “मलाई बायर्न आइपगिसक्दा पनि बिश्वास लागेको थिएन । लामो समय म कहा आइपुगेको भइरह्यो । ड्रेसिङ रुममा जब मैले आर्जेन रोबेनलाई आखा अगाडी देखे त्यसपछि त झन बिश्वास नै लाग्न छोड्यो,” डेभिस हास्दै सम्झन्छन् ।

डेभिसले बायर्नको जर्सीमा सार्वजनिक भएको तस्विर इन्स्टाग्राममा हालेपछि क्लबका प्रमुख खेलाडी म्याट हमेल्सले उनलाई फलो गरिहालेका थिए। “मैले म्याटलाई फलो गरेको थिइन । जब उनले मलाई फलो गरेको थाहा पाए मैले पनि हत्तपत्त फालो गरी हाले र उनले मेसेज पनि पठाए, त्यो पनि चाँडो भेटौला भनेर । मेरो त भुइमै खुट्टा थिएन । मैले पनि चाँडो भेटौला भनेर रिप्लाई गरे,” उनले भने ।

डेभिसले बायर्नमा राम्रो फुटबल खेलिरहेका छन् र अबको केही बर्षमा उनलाई अन्य क्लबहरु मोटो रकम तिरेर भित्र्याउन तछाड मछाड गर्नेछन् । उनको खेलले जति पूर्णता पाएको छ त्यो शायद बायर्नका अन्य कुनै युवा खेलाडीमा देखिदैन ।

उनको प्रगतिलाई लिएर बायर्न प्रशिक्षक ह्यान्स फ्लिक भन्छन्ः “डेभिसले खेलमा आफ्नो सम्पूर्ण दिन्छन् । उनको गति र क्षमता निकै प्रशंसा योग्य छ । उनलाई हामीले विङरका रुपमा क्लबमा भित्र्याएका थियौँ तर लेफ्ट ब्याकमा उनलाई दिइएको भुमिकालाई न्याय गरेका छन् ।”

च्याम्पियन्स लिगमा बायर्नले खेलेको चेल्सीसँगको अन्तिम खेलमा पनि डेभिसले उत्कृष्ट प्रदर्शन गर्दै एक असिस्टका साथ क्लिन सिट पनि राखेका थिए । डिफेन्डरको रुपमा त्यो उनको बिशेष प्रदर्शन थियो । डेभिजले सबै खाले प्रतियोगितामा स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई ७ असिस्ट दिइसकेका छन्, त्यस मध्ये तीन च्याम्पियन्स लिगमा रहेको छ ।

स्ट्याम्फोर्ड ब्रिजमा गएर खेल्नु मेरो लागि सपना पुरा भए सरह हो । मेरो बुवा चेल्सी समर्थक हुनुहुन्छ र उनले समर्थन गरेको क्लबलाई हराउन पाउनु मेरो लागि रमाइलो पक्ष थियो, फेब्रुवरी २५ मा च्याम्पियन्स लिगको खेलमा चेल्सीलाई उसकै घरमा ३–० ले हराएपछि डेभिसले भनेका थिए ।

डेभिज क्यानाडाका लागि अन्तर्राष्ट्रिय फुटबल खेल्छन। १६ बर्षमै पहिलो टिममा स्थान बनाउन सफल भएका उनले क्यानडाका लागि १७ क्याप जितिसकेका छन् । उनको खेलले बायर्नका सिनियर खेलाडी थोमस मुलरलाई पनि निकै प्रभावित गरेको छ ।

“व्यक्तिगत रुपमा डेविस निकै हासो उठ्ने किसिमका छन् । तर त्यो भन्दा पनि मलाई उनको खेल्ने तरिका धेरै नै उत्कृष्ट लाग्छ । उनी भविष्यमा एक उत्कृष्ट लेफ्ट ब्याक हुने छन् भन्नेमा मलाई कुनै शंका छैन,” मुलर भन्छन् ।

Click to comment

Trending