Headline

आईपिएलको लागि एसिया कप सर्दैनः पाकिस्तान

Published

on

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष एहसान मनिले इन्डियन प्रिमिएर लिग (आईपिएल) का लागि भनेर एसिया कप नसार्ने बताएका छन् ।

हाल कोरोना भाइरसका कारण आईपिएल लगायत विभिन्न क्रिकेट गतिबिधि ठप्प भएका छन् । मार्च अन्तिमबाट शुरु गर्ने भनिएको आईपिएल पनि अनिश्चितकालका लागि स्थगित गरिएको छ । स्थिति सामान्य बन्दै गएको खण्डमा ट्वान्टी ट्वान्टी विश्वकप अघि सेप्टेम्बरमा आईपिएल आयोजना गर्न भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले तयारी थालेको अपुष्ट समाचार बाहिर आएको छ ।

आईपिएल सेप्टेम्बरमा आयोजना हुने भनिए पछि एसियन क्रिकेट काउन्सिल (एसीसी) ले पनि एसिया कप सेप्टेम्बरबाट सारेर अन्य मिति तय गर्ने हल्ला चलेको छ । यसलाई खासै मतलब नगर्दै मनिले आईपिएलका लागि एसिया कप नसर्ने जनाएका हुन् ।

“यदि कोरोनाको प्रभाव कम भएर क्रिकेट गतिबिधि सुचारु गर्न सकिने अवस्था आयो भने एसिया कप आयोजना गर्नु महत्वपुर्ण बिषय हुनेछ । एसियाली क्रिकेटको विकास गर्ने हो भने एसिया कप गर्नु आवश्यक छ । एसीसीमा आबद्ध रहेका सबै देशका लागि भए पनि एसिया कपको आयोजना गर्नु जरुरी छ,” मनिले भने ।

“एसिया कपको आयोजना गर्ने बिषय भारत र पाकिस्तानसँग मात्र सम्बन्धित हैन । यो एसीसीमा आबद्ध अन्य देशको पनि हो । एसिया कपबाट आउने आम्दानीले नै एसीसीले अन्य साना देशमा क्रिकेट विकासको लागि लगानी गर्न सक्छ । अहिले गर्ने आम्दानीले अर्को दुई बर्ष हामीले साना देशलाई क्रिकेट आयोजना गर्नका लागि लगानी गर्न पर्ने हुन्छ,” मनिले स्पष्ट पारे ।

अहिले कोरोनाको प्रभाव रहेको समयमा सबै अन्तिम निर्णय रहदैन तर पनि आईपीएल भन्दा एसिया कप गर्नलाई प्राथमिकता दिनु पर्नेमा पिसिबी अध्यक्षले जोड दिए । भारतले पाकिस्तान भ्रमण गर्न नमाने पछि एसिया कप युएईमा सारिने भएको छ ।

Click to comment

Trending