Headline

१ सय ४ दिनको सकसपछि वुहान फर्कियो चाइनिज सुपर लिग टोली

Published

on

आफ्नो परिवासँग तीन महिनादेखि बिछडिएका चाइनिज सुपर लिग टोली वुहान जालका खेलाडीहरु भावनात्मक स्वागतकाबीच कोरोना भाइरस महामारीको केन्द्रबिन्दु वुहान शहर फर्किएका छन् ।

वुहान जाल १ सय ४ दिन यता कोरोना भाइरसको महामारीका कारण बाटोमै अलपत्र परेको थियो । कोरोना संक्रमणपछि चिन सरकारले वुहान शहरलाई नै लकडाउन गरेपछि वुहान जालका खेलाडीहरुको बिचल्ली भएको थियो । यस क्रममा उनीहरुले स्पेनमा पनि केही दिन बिताउनु परेको थियो ।

चिन र इरानपछि कोरोना भाइरस युरोपमा फैलदा यसले सबैभन्दा बढी असर इटाली र स्पेनलाई नै गरेको छ । अमेरिकामा ३९ हजारले ज्यान गुमाइसकेको कोरोना भाइरसका कारण अहिले बिश्वभर १ लाख ६० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

वुहान शहर महिनौ देखिको लकडाउनपछि बिस्तारै तङ्गरिदै आएको छ । वुहान जालका खेलाडीहरु शनिबार राति वुहान ट्रेन स्टेसनमा पुग्दा सयौं समर्थकहरुले स्वागत गरेको चिनिया सरकारी सञ्चार माध्यमले जनाएको छ । मास्क लगाएर क्लबको सुन्तला रँगको जर्सिमा उभिएका वुहान जालका खेलाडीहरुलाई समर्थकले फुलको गुच्छा दिएका थिए भने ब्यानर लिएर गित पनि गाएका थिए ।

“तीन महिना दिशाहीन भएर घुमेपछि घर पुग्न आतुर वुहान जाल टोली अन्त्यमा आफ्नो घरेलु शहर फर्किएको छ,” ट्विटरको चिनिया रुप वेबोमा वुहान जालले आफ्नो अकाउण्टमा लेखेको थियो । स्पेनका होजे गोन्जालेज प्रशिक्षक रहेको वहान टोलीले अब केही दिनको बिश्रामपछि बुधबारदेखि प्रशिक्षण सुचारु गर्नेछ ।

गत सिजन चाइनिज सुपर लिगमा छैटौं स्थानमा सक्काएको वुहान जालको आफ्नै घर फर्किदाको कथा संघर्षपूर्ण छ । जनवरीमा लिग अनिश्चितकालका लागि स्थगित गरिएपछि वुहान जालले अर्को शहर ग्वाङजाउमा प्रशिक्षण गर्दै आएको थियो ।

क्लब जनवरीको अन्त्यमा स्पेनको मालागा पुगेपछि वुहानको १ करोड १० लाख जनसँख्या कोरोनाले भयावह रुप लिएपछि घरभित्रै बस्न बाध्य भयो । प्रशिक्षक गोन्जालेजले त्यो समय स्पेनका मिडियालाई “वुहानका खेलाडीहरु मानवरुपी भाइरस नभइ, खेलाडी भएको र उनीहरुलाई थप पिडा नदिनुहोला” भन्दै आग्रह गर्नुपरेको थियो ।

मार्चमा कोरोना भाइरसले स्पेनमा पनि जरा गाड्न थालेपछि गोन्जालेजले खेलाडीहरु वुहान फर्किने व्यवस्था मिलाएका थिए । त्यति बेलासम्म चिनमा मर्नेहरुको संख्या निकै कम हुन थालिसकेको थियो । यद्दपि वुहान शहर अझै पनि लकडाउनमै रहेको कारण खेलाडीहरु जर्मनीमा लामो ट्रान्जिट लिदै मार्च १६ मा दक्षिणी शहर सेन्जेन पुगेका थिए ।

सेन्जेनमै तीन हप्ता क्वारेन्टिनमा बसेपछि नजिकैको शहर फोसानमा उनीहरुले प्रशिक्षण गरेका थिए । त्यसपछि ग्वाङजाउबाट हाइस्पिड ट्रेन लिदै खेलाडीहरु शनिबार वुहान पुगेका थिए । वुहान जालले मिति तय नभएको नयाँ सिजनका लागि तयारी गरिरहेका छन् ।

चाइनिज लिग फेब्रुवरी २२ मा शुरु हुने तय भएको थियो तर कोरोनाले स्थगित हुन पुग्दा अब जुनमा शुरु हुने अपेक्षा गरिएको छ । चिन सरकारले कोरोना भाइरसलाई नियन्त्रणमा लिइसकेको जनाएको छ ।

Click to comment

Trending