Headline

कोरोनाका कारण कठिन निर्णय लिनु पर्ने दवाबमा एन्फा

Published

on

गौरव फुयाल,

संक्रमितको संख्या अन्य देशको तुलनामा कम भए पनि कोरोना भाइरस (कोभिड–१९) ले नेपाली खेलकुद गतिविधिलाई पनि ठप्प बनाइसकेको छ । एकपछि अर्को गर्दै प्रतियोगिताहरु रद्द भएपछि अब महामारीको अन्त्यको प्रतिक्षा मात्र रहेको छ ।

चिनको वुहान र इरानमा संक्रमण फैलिएपछि कोरोनाको कहरले युरोपलाई पनि बिस्तारै निल्दै गर्दा विश्वभर नै सबै खेलकुद गतिविधि ठप्प भइसकेका थिए । नेपालमा पनि अन्य मोफसल प्रतियोगिताहरु रोकिएको अवस्थामा बि डिभिजन भने चल्दै थियो ।

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) र खेलकुद मन्त्रालयले समेत सबै संघ संगठनहरूलाई खेल गतिविधि स्थगित गर्न निर्देशन दिएपनि एन्फाले भने बि डिभिजन लिग सञ्चालन गरिरहेको थियो ।

तर लगातारको दवाबपछि चैत्र ४ गते अन्तरिक बैठक बस्दै एन्फाले लिगलाई रोक्ने निर्णय लिएको थियो ।

सातदोबाटो युथ क्लब र झम्शिखेल युथ क्लबको खेल चलिरहदा आएको आदेशले खेल सकिएपछि एन्फा क्लम्प्लेक्सको एस्ट्रो टर्फमा झम्शिखेलका प्रतिनिधी साथै अन्य क्लबका सदस्यहरुले बिना सुचना लिग स्थगित गरेको भन्दै आक्रोस पनि पोखेका थिए ।

लिग रोकिएको एक महिना बढी भइसकेको छ । ११ चरणसम्म चल्ने लिगमा पाचौँ चरणका खेलहरु समेत नसकिएको अवस्थामा अब एन्फाले आफ्नो वार्षिक क्यालेन्डर तयार गर्न के कस्ता फेर–बदल गर्ने छ त्यो हेर्न बाकी नै छ । विश्वका अधिकांश लिगहरु यथास्थितिमै समाप्त गर्ने तयारी रहदा एन्फाले बि डिभिजनका खेललाई निरन्तरता दिने हो या लिग यही अंकमा सकाउने हो शायद एन्फाकै बैठकले निर्णय गर्ला ।

तर एन्फालाई निर्णय त्यति सहज भने हुने छैन । लगातार आलोचनाको शिकार बन्दै आएको एन्फा एक पटक फेरि अर्को दवाबकाबीच निर्णय गर्न बाध्य हुने तय नै छ ।

बि डिभिजन लिगमा सातदोबाटो युथ क्लब १५ अंकका साथ पहिलो खुमल्टार १३ अंकका साथ दोस्रो र बाँसबारी क्लब ११ अंकका साथ तेस्रो स्थानमा छ भने मध्धपुर युथ एसोसिएसन १ अंकका साथ पुछरमा रहदै रेलिगेसन जोनमा रहेको छ । यस्तो अवस्थामा लिग सकाउदा शिर्ष स्थानमा रहेको टोलीलाई मात्र फाईदा हुने देखिन्छ ।

तर कुनै पनि लिग यथास्थितिमा सकाउने निर्णय लिनु पर्दा क्लबहरु को बहुमतको आवश्यक पर्ने भएकाले एन्फालाई क्लबहरुलाई राजी गराउन हम्मे–हम्मे पर्ने लगभग निश्चित छ । यो सिजन रेलिगेसन सहितको लिग भएकाले यसलाई पूर्णता दिनै पर्ने पनि देखिन्छ । ए डिभिजन बाट सरस्वती क्लब बि डिभिजनमा झरिसकेको छ भने बि बाट एउटा टोली ए मा जाने प्रावधान छ । एक टोली रेलिगेसन हुँदै सी डिभिजनमा जाने छ ।

पिरामिड लिगको हिसाबले यो क्रमले निरन्तर्ता पाउनु जरुरी देखिन्छ । सोही क्रममा हेर्ने हो भने सी डिभिजन पनि तोकिएको समयमा नहुने देखिन्छ । यस्ले घरेलु फुटबल त उथल–पुथल त हुने नै छ साथ–साथै राष्ट्रिय टोलीले खेल्ने अन्तरर्राष्ट्रिय खेलहरुमा पनि असर पर्ने देखिन्छ ।

एन्फाले बनाउदै आउने वार्षिक क्यालेन्डरलाई कसरी प्राथमिकतामा राख्ने छ त्यसमा एन्फा आफै जिमेवार हुने छ । एक बर्षमा बाँकी रहेको प्रतियोगिता गराइ अर्को बर्ष मात्र नयाँ क्यालेन्डर बनाउने वा सबै प्रतियोगिता छोटो समयमा सकाउदै नयाँ क्यालेन्डर यही बर्ष सुरु गर्नेमा पनि एन्फा सजग हुनु जरुरी देखिछ ।

यता मोफसलका प्रतियोगिताहरु पनि कोरोनाको सिकार भएका छन् । कुल २५ नकआउट प्रतियोगिता मध्ये ९ वटा मात्र सम्पन्न भएका छन् । कोरोनाको असरले यो सिजन १६ प्रतियोगिता रद्ध हुने सम्भावना बलियो देखिन्छ ।

Click to comment

Trending