Headline

सकारात्मक सदिनाको बास्केटबलप्रति समर्पण

Published

on

गौरव फुयाल,

सदिना श्रेष्ठ नेपाली महिला बास्केटबलसँगै हुर्किएकी हुन् । उनले नेपाली बास्केटबलमा ९ बर्ष बिताइसकेकी छिन्, कप्तानको रुपमा भने ८ बर्ष । पावर फर्वार्डको रुपमा खेल्दै आएकी सदिनाले सन् २०११ मा श्रीलकाको हम्बन्तोतामा भएको दक्षिण एसियाली बिच खेलकुदबाट नेपाली टिममा डेब्यु गरेकी थिइन् । त्यसको एक बर्ष पछि उनी नेपाली टोलीको कप्तानी सम्हाल्न पुगिन् । त्यस यता उनले फर्केर हेर्नु परेको छैन ।

चिनमा भएको एसियाली बिच खेलकुद, १७ औँ एसियाली खेल्कुद, १८ औँ एसियाली खेल्कुद, १२ औँ तथा १३ औँ दक्षिण एसियाली खेल्कुद र ग्रिसमा सम्पन्न थ्रि बाई थ्रि वल्र्ड च्याम्पियनसिपमा उनले नेपाली टोलीको नेतृत्व गरिसकेकी छिन् । नेपालमा पुरुष बास्केटबल नै आफ्नो अस्तित्वका लागि संघर्ष गरिरहेको स्थितिमा सदिनाले तय गरेको यात्रा सरल सुनिन्छ मात्रै । धरातल भने फरक छ र त्यसैले उनीमा आत्मबिश्वासको कमि छैन ।

“मैले गरेको मिहिनेत, परिश्रम र खेल प्रतिको लगावले नै म यहाँसम्म आइपुगेको हुँ,” पुर्व राष्ट्रिय महिला खेलाडी सरिला श्रेष्ठ की बहिनी सदिनाले भनिन् । सदिनालाई सरिलाकै खेलले प्रेरित गरेको थियो र यसमा उनी निकै गर्व पनि गर्छिन ।

बास्केटबल सदिनाको दोश्रो रोजाइ थियो भन्दा अहिले धेरैलाई अचम्म लाग्न सक्छ । उनी यो खेलमा पछि मात्रै तानिएकी थिइन् । “पहिला म फूटबल खेल्ने गर्थे । स्कुलमा आठ–नौँ कक्षामा पढ्ने बेला बास्केटबल खेल्न सुरु गरे उनी सम्झिन्छिन् ।

बिद्यालय स्तरमा पहिलो पटक टोलीमा त परिन् तर यसले उनलाई पूर्ण रुपमा सन्तुष्टि दिन सकेन । “पहिलो पटक म बेञ्चमै सिमित भए । फस्र्ट फाइभमा स्थान बनाउन असफल भए । बेञ्चमा बस्नुपर्दा साह्रै चित्त दुख्थ्यो । तर शायद बेञ्चमा बसेरै मैले प्रतिस्पर्धालाई राम्ररी नियाले र धेरै कुरा सिक्न पनि पाए । एक बर्षपछि मैले राष्ट्रिय खेल्ने अवसर पाए,” सदिना भन्छिन् ।

बेञ्चमा बस्दाको सकारात्मक दृष्टिकोणले नै सदिनालाई नेपाली बास्केटबलमा लामो समय टिकाएको छ । नकारात्मक सोच राखेका खेलाडीको करिअर बेञ्चबाटै टुँगिन पनि सक्छ । सदिना अहिले पनि नेपाली महिला बास्केटबलमा धेरैका लागि रोल मोडलको रुपमा रहेकी छिन् । कप्तान भएपछिको स्थितिले नै उनलाई अहिलेको सदिना बनाउदै लगेको हो ।

“खेलाडी र कप्तान भएर खेल्नुमा धेरै फरक छ जस्तो मलाई लाग्छ । टोलीका सबै सदस्यले उत्तिकै मिहिनेत र परिश्रम गरेका हुन्छन् । तर कप्तान भएर खेल्दा कर्तव्य र जिम्मेवारी बोकेर अघि बढ्न सिकिन्छ । मैले मेरो टोलीको लागि के गर्नु पर्छ र हौसला बढाइ राख्नु पर्छ भन्ने ज्ञान हुन्छ । कोर्टमा मात्र नभइ बाहिर पनि म जिम्मेवार रहनुपर्छ भन्ने कुराको भान हुन्छ,” उनी भन्छिन् ।

सदिनाको कप्तानीमा नेपालको सबैभन्दा ठूलो उपलब्धि घरमै भएको १३ औँ दक्षिण एसियाली खेल्कुदको रजत पदक हो । यस बाहेक थ्रि बाई थ्रि बिश्व च्याम्पियनसिपमा सहभागिता पनि नेपालको लागि एक्सपोजर प्राप्त गर्ने उल्लेखनीय प्रतियोगिताको रुपमा रहेको थियो ।

कुनै समय नेपाली महिला र पुरुष बास्केटबल टोलीका लागि खेल्नका लागि राम्रा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु हुन्थे । तर अहिले नेपाली बास्केटबल अन्तर्राष्ट्रिय सहभागिताको लागि छट्पटाउने मात्र होइन घरेलु प्रतियोगिता शुन्य भएकै कारण पनि ठप्प जस्तै छ ।

निजि स्तरबाट हुदै आएको नेपाल बास्केटबल लिग पुरुषको लागि झण्डै दुई महिने कार्यक्रम भएपनि महिलाको पहिलो संस्करण एक हप्ता भित्रै सकिएको थियो । नेपाल बास्केटबल लिग आफै पनि पूर्ण रुपमा व्यवसायिक हुन अझै बाकी छ । कमाइ नै नहुने खेलमा टिकिरहन निकै गाह्रो काम हो । सदिना भने सकारात्मक सोच राखेरै यसलाई चुनौतिको रुपमा लिएर अघि बढेकी छिन् ।

“मलाई नेपालमै बस्केटबलमा केही गर्नुपर्छ भन्ने भावना छ । म पहिले नेपालमै बास्केटबललाई अघि लाने छु र मौका मिलेको खण्डमा बाहिरको लागि सोच्ने छु,” सन् २०१७  मा जर्मनीको लेपजिग युनिभर्सिटीबाट स्पोर्टस म्यानेजमेन्ट अध्ययन गरेकी सदिनाको बिचार फरक छ । उनले गत सिजनको नेपाल बास्केटबल लिगमा साउथ साइडर्स टिमलाई प्रशिक्षण दिदै नेपालको पहिलो महिला बास्केटबल प्रशिक्षक पनि बनेकी थिइन् ।

नेपालका प्रमुख शहरहरुमा बास्केटल एक प्रमुख खेल मध्ये पर्दछ । नेपाल बास्केटबल लिगको आगमनपछि यो खेल अन्य शहरहरुमा पनि बिस्तारै फैलिरहेको छ । अधिकांश कलेज वा बिद्यालयमा बास्केटबलको संरचना हुने नै गर्दछ । तर बास्केटबल त्यही समाप्त हुने गर्छ । ।

नेपाल बास्केटबल संघलाई बास्केटबल कलेज र बिद्यालयको दायराबाट माथि लान फलामको चिउरा चपाउनु सरह देखिन्छ । “सरकार र संघले बास्केटबललाई पनि प्राथमिकतामा राख्दै नयाँ खेलाडी उत्पादन गर्ने तर्फ ध्यान दिने हो भने बास्केटबलले हाम्रो क्षेत्रमा राम्रो गर्न सक्छ,” सदिनाले भनिन् ।

1 Comment

Trending