Headline

बास्केटबलका ‘फ्युचर स्टार’, जसलाई थाहा छ भविष्य उज्यालो छैन

Published

on

आदर्श ढकाल, काठमाडौं

दिव्येश्वर साह ६ फिट, ६ इन्च अग्ला छन् । नेपाली बास्केटबलमा उनी सबैभन्दा अग्ला खेलाडी हुन् । नेपालले पहिलो अन्तर्राष्ट्रिय बास्केटबल प्रतियोगिता (साबा च्याम्पियनसिप) खेलेको करिब डेढ दशकपछि दिभ्वेश्वर सबैभन्दा अग्ला खेलाडीको रुपमा अगाडी आएका हुन् । उनी आफै र बास्केटबललाई गम्भिर रुपले लिने देश हुने हो भने उनको दायरा नेपालमा मात्रै सिमित हुदैन ।

नेपालले घरेलु कोर्टमै १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुल कोर्ट बास्केटबलमा सेमिफाइनलसम्मको यात्रा तय गर्दा दिव्येश्वर प्रतियोगिताकै कान्छा मध्येका एक खेलाडी थिए । १९ बर्षिय उनी नेपाली सिनियर बास्केटबल टोलीका लागि दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका थिए ।

नेपाल बास्केटबल लिगको पहिलो सिजनमा सहभागिता जनाएपछि दिव्येश्वरले पहिलो पटक नेपालका लागि जुन २०१८ मा बङ्गलादेशमा सम्पन्न फिबा एसिया कप २०२१ को साबा प्रि–क्वालिफायर्समा खेलेका थिए । नेपाली सिनियर टोलीले आफ्नो बास्केटबल इतिहासमा अहिलेसम्मकै खराब प्रदर्शन त्यही प्रतियोगितामा गरेको थियो ।

नेपाली बास्केटबलमा पुस्ता हस्तान्तरण हुदै गर्दा केही नयाँ अनुहार समेटिएको नेपाली टोलीले एक खेल पनि जित्न सकेको थिएन । भारत अनुपस्थित रहेको स्थितिमा नेपाललाई बङ्गलादेशमा पहिलो स्थान हासिल गर्दै अर्को चरणको क्वालिफायरमा स्थान बनाउदै सबैभन्दा कठिन प्रतियोगिता खेल्ने अवसर थियो तर गुमाउन पुग्यो । नेपाल माल्दिभ्स र भुटानसँग समेत हार्न पुग्यो ।

यसै बर्ष नेपालमा भएको सागमा दिव्येश्वरले सिनियर टोलीका लागि दोश्रो ठूलो प्रतियोगिता खेले तर अनुभवको कमी कारण उनी फस्र्ट फाइभमा अटाएनन् । यद्दपी उनको प्रदर्शन भने सुधारिएको थियो । यही फेब्रुवरी १ मा स्पोर्ट फर द वल्र्ड नामक अन्तर्राष्ट्रिय च्यारिटी संस्थाले बिश्वमा ख्याति कमाएका डंकर (बास्केटलको रिँगमा झुण्डिएर बिभिन्न तरिकाले स्कोर गर्ने) मार्कि स्मिथलाई नेपाल ल्याएको थियो ।

नेपाली घरेलु बास्केटबलमा डंक बिरलै देखिने गर्छ । बास्केटबल फर द वल्र्ड नाम दिइएको उक्त कार्यक्रममा स्मिथको डंक प्रदर्शनीले निकै सानो रहेको नेपाली बास्केटबल बृत्तलाई भरपुर मनोरञ्जन दिएको थियो । स्मिथको बिभिन्न डंक हान्ने तरिकाले सबैलाई मोहित त गर्यो नै, उनको भिडियोहरुमा पनि राम्रै भ्युज आएको थियो ।

त्यही दिन कभर्ड हलमा दिव्येश्वरले पनि आफ्नो डंक हान्ने कौशल देखाए । चार बर्षअघि मात्र बास्केटबल खेल्न शुरु गरेका दिव्येश्वर अहिले मज्जाले डिफेन्स चिर्न सक्छन् । प्रदर्शनी खेलमा उनले बल ड्राइभ गर्दै डंक हानेका थिए । यो नेपाली बास्केटबलको लागि राम्रो संकेत हो ।

एक समय निकै नै दुब्ला रहेका दिव्येश्वरको ज्यान अहिले बास्केटबल खेलाडीका लागि चाहिए जत्तिकै बनेको छ । उचाई त उनीसँग पहिले देखि थियो नै । प्रशस्त प्रशिक्षण र खेल्ने मौका मिल्ने हो भने उनी केही समयमै नेपाली बास्केटबलका उत्कृष्ट खेलाडी बन्न सक्छन् ।

दक्षिण एसियाको सानो दायरा नाघ्नका लागि नेपाललाई दुई तीन वटा अरु दिव्येश्वर चाहिन्छ । नेपाली राष्ट्रिय बास्केटबलमा उनको कदका खेलाडी हुन नसक्नु नै मुख्य समस्या हो । “हामीले अहिले सानो कदका कुनै पनि खेलाडी राखिरहेका छैनौं । अहिले टिममा रहेका होचो कदका खेलाडीलाई पनि अब फाल्दैछौं,” नेपालमा स्वर्ण पदक जितेका भारतीय बास्केटबल टिमका सर्बियन प्रशिक्षक भेसेलिन माटिचले विस्पोर्टजलाई भनेका थिए ।

माटिचले इरानलाई सन् २०१० मा चिनमा भएको एसियन गेम्सको बास्केटबलमा कास्य पदक जिताएका थिए । उनीलाई थाहा छ बास्केटबलमा कुन स्तरको खेलाडी आवश्यक छ । नेपालमा दिव्येश्वरको कद काठीको खेलाडी उत्पादन गर्ने दायित्व नेपाल बास्केटबल संघ (नेबा) कै हो । तर अहिले रहेका एक मात्र दिव्येश्वर पनि नेपालमा बस्दैनन् ।

“किन बस्ने ?”

यो दिव्येश्वरसँगै बास्केटबलमा लागेका सबै खेलाडी र उनीहरुको परिवारमा उठ्ने गरेको प्रश्न हो । नेपाली बास्केटबल खेलाडीको संख्या अहिले स्वदेश भन्दा बिदेशमा धेरै छ । कति खेलाडी बिदेश पलायन भएका छन् यसको तथ्यांक राख्न पनि सकिदैन ।

दिव्येश्वर उच्च शिक्षाका लागि देहरादुनको उत्तराखण्ड टेक्निकल युनिभर्सिटी आबद्ध टुलास इस्टिच्युटमा इन्जिनियरिङ्ग गर्दै छन् । नेपाली बास्केटबलबाट टाढा हुन नसकेर नै उनी नजिक छन् । “मैले यो कलेज रोजेको कारण नै यहा बास्केटबल खेलाडी राम्रो हुने भएर हो । नेपालमा मेरो उचाइको खेलाडी छैनन । यहा खेल्दा मैले राम्रै प्रतिस्पर्धा पाउने गर्छु,” दिव्येश्वर भन्छन् ।

पहिलो संस्करणको नेपाल बास्केटबल लिग किर्तिपुर बास्केटबल टिमबाट खेलेका दिव्येश्वर दोश्रो संस्करण पनि खेल्न चाहन्थे तर कलेजले बिदा स्किृत नगरेपछि उनी आउन सकेनन् । बिल मक्यामन प्रशिक्षक रहदा नेपाली टोलीले उनलाई सागका लागि बोलायो । उनी उपस्थित भए र खेले पनि । उनलाई यसको महत्व राम्रोसँग थाहा छ ।

“नेपालको लागि खेल्नु निकै गर्वको कुरा हो । म यो सधै होस भन्ने चाहन्छु । तर बास्केटबलमा लागेर मात्रै केही हुदैन । मलाई थाहा छैन बास्केटबलमा लागेर के हुन्छ ? बास्केटबल मात्र होइन नेपालमा खेलकुदमा लागेर केही हुदैन । क्रिकेटमा केही राम्रो भएको छ तर यो सधै नरहन पनि सक्छ,” ९ बर्ष अघि परिवारसँगै जनकपुरबाट आएपछि जेम्स स्कुलमा प्लस टु पढ्दा बास्केटबल सिकेका दिव्येश्वरले भने ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली जर्सी लगाउदै खेल्ने दिव्येश्वरको चाहना असिमित छ । तर उनले चाहेर मात्र हुदैन । उनको चाहना बिपरित नेपाल बास्केटबल संघ छ । झण्डै १४ बर्ष नेपाल बास्केटबल संघको अध्यक्ष रहेका लामा टेन्डी शेर्पा लामै समयदेखि अस्वस्थ छन् । नेपाली बास्केटबल यसअघि नै अस्वस्थ थियो । खेलाडीलाई बिदेशीन बाट रोक्न नसक्नु संघ मात्र नभएर सरकारको पनि लाचारी हो ।

अहिले टेन्डीको अनुपस्थितिमा संघ हेरिरहेका महासचिव नरेन्द्र थापाले अबको कार्यक्रम भन्दा नै स्पष्ट हुन्छ नेपालमा कसरी बास्केटबल चलिरहेका छ । “हामीलाई फिबा एसियाले अब यो कार्यक्रम गर्नुपर्छ भनेको छ,” नेपाल बास्केटबल लिगको दोश्रो संस्करणका दौरान भारतमा फिबा एसियाको बैठकमा सहभागी भएर आएपछि थापाले भनेका थिए । संघको कार्यक्रम के हुन्छ उनीसँग यसको जवाफ छैन ।

नेपाल बास्केटबल लिग आफै पनि संघको कार्यक्रमा होइन । तर नेपाली बास्केटबल खेलाडीको लागि एक मात्र उत्साहजनक कार्यक्रम यही एउटा हो । भर्खरै नेबाले अण्डर १८ राष्ट्रिय प्रतियोगिता गर्यो । तर त्यो समयको माग थियो । संघलाई यसै बर्ष हुने साबा अण्डर १८ च्याम्पियनसिपको लागि खेलाडी चयन गर्नु थियो । त्यही कारण राष्ट्रिय प्रतियोगिता आयोजना गर्नु पर्यो ।

कुनै समय नेबाले ट्यालेन्ट हन्टको आयोजन गथ्र्यो । त्यही ट्यालेन्ट हन्टबाट दिव्येश्वर आएका हुन् । अहिले त्यो कार्यक्रम पनि बन्द भइसकेको छ ।

Click to comment

Trending