Headline

नेपाली क्रिकेटः यो भन्दा तल जाने ठाँउ पनि छैन

Published

on

आदर्श ढकाल, बैंकक 

गत जुनमा नेपाल क्रिकेट संघको अनुपस्थितिमा राष्ट्रिय खेलकुद परिषदको समन्वयमा उमेश पटवाल प्रशिक्षक नियुक्त हुदा उनले आफ्नो पहिलो लक्ष्य नेपाललाई आईसिसि ट्वान्टी ट्वान्टी विश्वकपमा छनोट गराउनु रहेको बताए । पटवाल ब्याटिङ्ग कन्सल्टेन्ट रहे पनि त्यसअघि नै अवे सिरिजमा युएईलाई एकदिवसीय र ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रंखलामा २–१ ले पराजित गर्दा उनको भुमिका अहम रहेको थियो ।

प्रशिक्षक नियुक्त भएपछि अपेक्षा पटवालबाट मात्र नभई सिँगै नेपाली टोलीबाट अत्याधिक रहेको थियो । सिँगापुर, मलेशिया, कतार र कुवेत सम्मिलित क्वालिफायरमा नेपाल पहिलो स्थानको लागि फेभरेट रहेको थियो । तर कतारसँग पहिलो खेलमै स्तब्ध भएको नेपाल अन्तिम खेलमा सिँगापुरसँग नराम्ररी हार्न पुग्यो । पटवालले हारपछि भनेः “अहिले नेपाली टोली यो स्तरमा खेल्न तयार नै छैन ।”

मुम्बइया शैलीमा पब्लिकमा ठाडो बोल्ने गरेका पटवाल यसै पनि धेरैको रुचाइमा परेका थिएनन् । महत्वपूर्ण प्रतियोगितामा नेपाल चुक्दा उनी सबैको निशानामा रहन पुगे । उनले दिएको त्यो अभिव्यक्तिपछि नेपालले सिँगापुरमा भएको ट्वान्टी ट्वान्टी ट्राइ सिरिजमा सिँगापुरलाई नै हरायो भने ओमानमा भएको पाँच राष्ट्र सम्मिलित अर्को श्रंखालमा आयरल्याण्डलाई कडा टक्कर दियो । नेदरल्याण्ड्स र हँगकँगलाई हरायो । ओमानसँग भने धराशायी हुन पुग्यो ।

पटवाल नै प्रशिक्षक रहदा नेपालले दक्षिण एसियाली खेलकुदको क्रिकेटमा श्रीलंका र बङ्गलादेशलाई राम्रै चुनौति प्रस्तुत गर्यो । त्यसपछि नेपालले किर्तीपुरमा भएको आईसिसि क्रिकेट बिश्वकप लिग टुमा अमेरिकालाई दुवै खेलमा दबदबा कायम गर्दै पराजित गर्यो । ओमानसँग भने दुवै खेलमा हार्न पुग्यो । उनको नेपाली टोलीको प्रशिक्षकको रुपमा त्यो अन्तिम प्रतियोगिता थियो । ठाडो शैलीका पटवालले पद त्याग गर्दा धेरै खशी पनि भए ।

पटवालले सिँगापुरमा भएको बिश्वकप एसिया क्वालिफायरमा बेहोरेको पराजयपछि दिएको अभिव्यक्ति नेपाली टोलीलले भने थाइल्याण्डमा सार्थक गरिदिएको छ । नेपाल कमजोर मानिएको मलेशिया र हँगकँगसँग अप्रत्याशित रुपमा पराजित हुन पुग्यो । नेपाली क्रिकेट समग्रमै उदाँग भयो ।

सन् २००९ को एसिसि ट्वान्टी ट्वान्टी एलिटमा हारे यता नेपाली सिनियर टोली पहिलो पटक मलेशियासँग पराजित हुन पुगेको थियो । सिँगापुरसँग २ सय ३९ रन खाएको मलेशिया आफूले नै केही दिनअघि घरेलु श्रंखलामा ५–० ले ह्वाइट वास गरेको हँगकँगसँग अन्तिम खेलमा पराजित हुदै एसिया कपको दौडबाट बाहिरियो । हँगकँग यसअघि नै प्रमुख खेलाडीहरुले राष्ट्रिय टोली त्याग्दा कमजोर भइसकेको थियो ।

त्रिकेट बुझेकाहरुका लागि दोश्रो स्थान भएपनि पक्का रहेको स्थितिमा नेपालले सबैलाई स्तब्ध बनायो । थाइल्याण्डमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाललाई लिएर धारणा बनाएका एसिसि र थाइल्याण्ड क्रिकेटका पदाधिकारीहरुका लागि पनि यो प्रदर्शन पाच्य थिएन ।

“नेपाल यसरी खेल्ने टोली नै होइन । सिँगापुरले मलेशियालाई २ सय ३९ रन ठोक्न सक्छ भने नेपाली टोलीले पिचलाई लिएर गुनासो गर्न मिल्दैन,” थाइल्याण्ड क्रिकेटका एक पदाधिकारीले भने ।

उनको अभिव्यक्तिमा दम थियो । नेपाली टोलीको खेल हेर्ने सबैलाई थाहा हुन्छ, यो त्यो नेपाली टोली होइन जसले केही दिन अघि अमेरिकी टोलीलाई ३४ रनमै अल आउट गरेको थियो । त्रिवि मैदानमा देखाएको उत्साह टर्डथाइ क्रिेकट ग्राउण्डमा थिएन । न सुशन भारीले विकेट लिदा खुशीयाली थियो न पुर्व कप्तान पारस खड्काले स्टेप आउट गरेर खेल्दा उनले सामान्य रुपमा देखाउने गरेको आक्रमकता नै । यो नेपाली क्रिकेट टोली नै थिएन ।

नेपालले खेलेका पहिलो दुई खेलमा कप्तान ज्ञानेन्द्र मल्लले मलेशियाबिरुद्ध ३८ र हँगकँगबिरुद्ध ४५ रन बनाए । दुवै खेलमा नेपाल पराजित भयो । पारस थाइल्याण्डबिरुद्ध ९ रनमा आउट हुदा कुशल मल्ल र पवन शर्राफले २४ बलमै आक्रमक ५८ रनको साझेदारी गरे । न ज्ञानेन्द्रलाई यहा दोषी मान्न सकिन्छ न नयाँ अनुहारको रुपमा अगाडी आएका खेलाडीलाई नै ।

तर नेपाली टोलीको प्रदर्शनमा केही नराम्रो भने पक्कै भएको छ, चाहे मैदान भित्र होस या बाहिरे । कप्तान ज्ञानेन्द्र र उपकप्तान दिपेन्द्र सिँह ऐरि (जसले पहिलो खेलमा ६७ रनको साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए तर टिम हारेको थियो) लाई छोड्ने हो भने ब्याटिङ्गमा एक पटक फेरि नेपालले आफ्नो मुख लुकाउनु पर्ने स्थिति रहेको छ ।

बलिङ्गतर्फ पनि नेपालले नियन्त्रणमा राख्दा राख्दै मलेशिया र हँगकँगलाई १ सय ५० रन भन्दा बढी बनाउन दिएको थियो । नेपालको प्रदर्शन यस्तो थियो जसलाई नेपाल क्रिकेट संघ आफैले सुक्ष्म रुपमा अनुसन्धान गर्नु पर्ने स्थिति आएको छ । सहि ढँगले योजना कार्यान्वयन गर्न नसक्नु खराब नतिजाको कारण रहेको ज्ञानेन्द्र बताउछन् ।

“यो स्तरमा मलेशिया, हँगकँग र सिँगापुर जस्ता टोलीहरु फिल्ड प्लेसमेन्ट र आफूले खेल्ने सटहरुलाई लिएर स्पष्ट छन् र योजना अनुरुप खेल्न सकिरहेका छन् । हामी त्यही पछि परिरहेका छौं । बलिङ्गमा पनि त्यही समस्या आइरहेको छ,” ज्ञानेन्द्रले क्रिकेटिङ्गनेपाललाई थाइल्याण्डमा भने ।

नेपाली क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्काले समर्थकहरुसँग माफि त मागेका छन् तर यसरी गरेको प्रदर्शनले उत्पन्न नैराश्यतालाई उत्साहमा कसले र कसरी परिणत गर्ने ? यसको जवाफ पारससँग पनि छैन ।
“यहा के गलत भयो यसको ठोस जवाफ म सँग पनि छैन, कसैलाई दोष दिने ठाँउ पनि छैन । हामीले खराब क्रिकेट खेलेका छौं । नेपाल क्रिकेट संघले यो परिणामलाई कसरी हेर्छ यो पनि महत्वपूर्ण रहनेछ,” पारस भन्छन् ।
नेपाली क्रिकेटले २०१४ को आईसिसि वल्र्ड ट्वान्टी ट्वान्टी खेले यता कै सबैभन्दा खराब प्रदर्शन यही नै हो । सिँगापुरमा सामना गरेको पराजय एसियाली स्तरको थियो तर अहिले त नेपाल एसियाली क्रिकेट परिषदले छुट्याएको पुर्वी क्षेत्रीय छनोटबाटै बाहिरिएको छ । नेपाली क्रिकेट धेरैपछि सबैभन्दा तल्लो स्तरमा पुगेकै पहिलो पटक हो । यहा भन्दा तल जाने त अब कुनै बाटो पनि छैन । अब के चिन, थाइल्याण्ड, म्यानमारसँग पनि हार्ने त ?

Click to comment

Trending