Headline

आफूलाई साबित गर्न मैदान उत्रदै नेपाल

Published

on

एसिसि इस्टर्न रिजन ट्वान्टी ट्वान्टी एसिया कप क्वालिफायर्स अन्तर्गत शनिबार मलेशियाको सामना गर्दो नेपाल ट्वान्टी ट्वान्टी बिश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन नसक्दाको पिडा भुलाउने प्रयासमा हुनेछ ।

सबैको अपेक्षा बिपरित नेपाल सिँगापुरमा गत जुलाईमा भएको आईसिसि ट्वान्टी ट्वान्टी वल्र्डकपको एसिया फाइनलमा तेश्रो भएको थियो । चार टिम सम्मिलित एसिया फाइनलमा पहिलो स्थान ओगटेको खण्डमा मात्र नेपाल ग्लोबल क्वालिफायरमा स्थान बनाउने थियो । तर नेपाल कतार र सिँगापुरसँग स्तब्ध हुन पुग्यो ।

कोरोना भइरसका कारण तीन टोलीलले सहभागिता नजनाउने भएपछि राउण्ड रोबिन लिगका आधारमा खेलाउन लागिएको इस्टर्न रिजनबाट पहिलो दुई स्थान हात पार्ने टोली एसिया कप क्वालिफायरमा स्थान बनाउनेछन् भने वेस्टर्न रिजनबाट कुवेत र युएई यसअघि नै छनोट भइसकेका छन् ।

चिर परिचित प्रतिद्वन्दी मलेसिया, हँगकँग, सिँगापुर र आयोजक थाइल्याण्ड समावेश प्रतियोगितामा नेपाल उपाधि दाबेदारको रपमा रहेको छ तर पछिल्लो समयको उतार चढावपूर्ण प्रदर्शन र अन्य टोलीहरुको प्रदर्शनले नेपाल ढुक्क हुन भने सक्दैन । प्रतियोगितामा थाइल्याण्ड सबैभन्दा कमजोर टोलीको रुपमा रहेको छ ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्ल नेपाललाई आफूलाई एकपटक फेरि साबित गरेर देखाउने पर्ने समय आएको बताउछन् । “हामीले बिश्व क्रिकेटमा आफूलाई साबित गर्ने भने आफ्नो स्तरको टोलीलाई सजिलै पराजित गरेर देखाउन सक्नपर्छ । गत बर्ष हामीले सिँगापुरमा खराब प्रदर्शन गरेको थियौं र यो प्रतियोगिता मार्फत हामी त्यो स्तरको टोली होइनौं भनेर पनि आफूलाई साबित गरेर देखाउनुपर्नेछ,” ज्ञानेन्द्रले क्रिकेटिङ्गनेपाललाई बैंककमा भने ।

पछिल्लो एक बर्ष ठूलै संख्यामा ट्वान्टी ट्वान्टी क्रिकेट खेल्दै आएको कारण नेपाली टोली प्रतियोगिता जित्नका लागि तयार रहेको ज्ञानेन्द्र बताउछन् । “हामी गत बर्ष राम्रै संख्यामा प्रतियोगिताहरु खेलेका थियौं जसले गर्दा केही नया खेलाडीहरुको पनि राष्ट्रिय टोलीमा आगमन भएको छ । अहिले जुन तरिकाको क्रिकेट खेलिरहेको छौं त्यसले हामीलाई राम्रै प्रदर्शन गर्न प्रेरित गरेको छ,” उनले भने ।

नेपालले पछिल्लो पटक मलेसियालाई उसकै घरमा भएको ट्वान्टी ट्वान्टी श्रंखलामा २–० ले हराएको थियो । सन् २००९, नोभेम्बरमा भएको एसिसि ट्वान्टी ट्वान्टी कपमा ६ विकेटले पराजित भएयता नेपाल अहिलेसम्म मलेसियासँग हारेको छैन । सिनियर क्रिकेटमा नेपालले मलेशियासँग हारेको त्यही एक पटक मात्र हो । तर मलेशियाले थाइल्याण्ड आउनु अघि हँगकँगलाई पाँच म्याचको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखला ५–० ले ह्वाइट वास गरेको थियो ।

उमेश पटवालको बहिरगमनपछि पुन नेपाली प्रशिक्षक नियुक्त भएका जगत टमाटा भने नेपाल च्याम्पियन बन्नै थाइल्याण्ड आएको बताउछन् । “हामी अहिले राम्रै लयमा खेलिरहेका छौं र जति पनि सहभागि टिमहरु छन् उनीहरुको बिरुद्ध आफ्नो शतप्रतिशत दिने हो भने जितेरै फर्किनेछौं,” टमाटाले भने ।

निकै गर्मि हुन थालिसकेको थाइल्याण्डमा नेपालले शनिबार साढे १ बजेदेखि खेल्नेछ । आद्रता अधिक रहेपनि आफ्नो खेलाडीहरुलाई त्यसले केही फरक नपार्ने टमाटा बताउछन् । “केटाहरुले धेरै जसो खेलहरु यस्तै गर्मि हुने देशहरुमै खेल्दै आइरहेका छन् । त्यसैले मौसमले खासै फरक पार्दैन,” टमाटाले भने ।

नेपालले खेलिरहदा एक पटक फेरि ओपनिङ्ग कस्ले गर्नेमा सबैको ध्यान केन्द्रित हुनेछ । पछिल्लो केही समय कप्तान पारस खड्काले ओपनिङ्ग सम्हालिरहेका छन् भने उनलाई कसले साथ दिने निश्चित भएको भने छैन । नेपालका लागि ज्ञानेन्द्र र पारसले नै ओपनिङ्ग गर्ने सम्भावना रहेको छ । “अहिले नै कसले गर्ने भनेर पक्का भइसकेको छैन तर शायद मैले र पारसले नै ओपनिङ्ग गछौं होला,” ज्ञानेन्द्रले भने ।

Click to comment

Trending