Trending

कसले फर्काउने घरेलु फुटबलको साख ?

Published

on

दिपेश तिमलसिना, काठमाडौं

नेपाली फुटबल विश्वका चर्चित लिगबाट धेरै टाढा छ । अहिले त इण्डियन सुपर लिग पनि नेपालको लागि सपना झै हुन थालिसकेको छ । नेपाली फुटबलको पछिल्लो पुस्ता भने भावनात्मक रुपमा मात्रै यरोपियन लिगका क्लबहरुसँग जोडिएका छन् । यसले नेपाली जनतामा फुटबलप्रतिको प्रेम झल्काउछ ।

दर्शकहरु घरको छत, आफ्नो गाडी र कोठाको भित्ता समेत मनपर्ने क्लबका झण्डा फहराउछन् र उनीहरूको टिमको बारेमा कडा तर्कमा संलग्न हुन्छन् । यस्तै कहानी केही दशक अघिसम्म नेपालमा हुने गर्दथ्यो जब दशरथ रंगशालामा दर्शक घरेलु क्लबमा समर्थन गर्न आउदथे ।

तर नेपाली घरेलु फुटबलको उत्कृष्ट समय देख्नेहरू अहिले यसका सबै भन्दा खराब दृश्यहरूको साक्षि भइरहेका छन् ।

किन यस्तो ?

वर्तमान र भूतपूर्व खेलाडी, पदाधिकारी र प्रशंसकहरूलाई थाहा छ त्रुटिपूर्ण संरचनाको कारणले नेपाली फुटबल जटिल अवस्थामा पुगेको हो भनेर । क्लबहरु अनुदानमा चल्नु परिरहेका छ र यसको कारण हो आधुनिक फुटबलमा खेलाडीहरुको स्वभाविक रुपमा बढीरहेको भाउ जसलाई एउटा मुख्य प्रायोजकले दिने गरेको रकमले मात्र धान्न असम्भव नै छ ।

विकसित राष्ट्रका क्लबहरुलाई यो अवस्थाबाट गुज्रिनु नै पदैन । नेपाली क्लबहरू सँग अझै पनि युथ एकेडेमी, आफ्नै मैदान, जिम र दीर्घकालीन सम्झौताहरू त छैनन् नै साथै भविष्यका कार्यक्रमहरू बिना गैर–व्यवसायिक दृष्टिकोणले फुटबल गतिविधिहरु सञ्चालन गरिरहेका हुन्छन् ।

आन्तरिक किचलोको कारणले नै होला नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ फूटबललाई सकारात्मकता नदिन मै खुसी देखिन्छ । घरेलु फूटबललाई पुरानै रुपमा फर्काउन यस कार्यसमितिबाट धेरैले आशा राखेका थिए ।

४० को शुरुवात देखी ६० को दशकको अन्त्यसम्मको घरेलु फुटबलको लोकप्रियता युवा पुस्तालाई परिकथा जस्तो लाग्न सक्छ । यो पुस्ता अहिले युरोपियन फुटबलको रमझममा चुर्लुम्म डुबेको छ । शहीद स्मारक लिग नै अहिले किशोर अवस्थाबाट बुढेसकालमा ढल्किन लागेका युवाहरुको मनोरन्जनको मुख्य साधन हुने गर्दथ्यो ।

४० को दशकमा आरसिटी, संकटा, एनआरटी, महाविर, जनकपुर चुरोट कारखाना, नेपाल एयरलाइन्स जस्ता क्लबले खेल्दा रंगशालामा प्रवेश पाउन समेत हम्मे–हम्मे पथ्र्याे । ६० को दशकमा त्यही संख्याको भीड थ्रीस्टार, मनाङ, आर्मी र पुलिसले आकर्षित गर्न थाल्यो ।

गत हप्तामात्र यस सिजनको सहिद स्मारक ए डिभिजन लिग सकियो । तर दर्शक उल्लेखनीय संख्यामा उपस्थित नहुदा अधिकांश खेलहरु नीरस बन्न पुगे । विगतमा सयौं वा हजारौं फुटबल प्रशंसकहरू आफ्नो टोलीको खेल हेर्न काठमाडौँ बाहिरबाट पनि आउने गर्थे । तर अब त्यो माहोल रहेन । यसको जिम्मा फुटबलमा संग्लन सबैले लिन सक्नुपर्छ – संघ, क्लब, खेलाडी र यसलाई गम्भिर भएर हेर्ने गरेका दर्शकले पनि ।

३० र ४० को दशकमा फुटबलका धेरै नामहरु स्टार थिए । ती मध्ये गणेश थापा, मणि शाह, रुपक राज शर्मा, श्रीराम रन्जितकार, धिरेन प्रधान, सुरेश पन्थी, कृष्ण थापा, मान बहादुर मल्ल, वाइ बी घले, नरेन्द्र मान सिंह, राजु शाक्य, उमेश प्रधान, अशोक केसी, केदार मानन्धर र ज्ञानीराजा श्रेष्ठ थिए ।

५० र ६० को दशकमा उपेन्द्रमान सिंह, राकेश श्रेष्ठ, देवनारायण चौधरी, निराजन रायमाझी, वसन्त थापा, हरि खड्का, कुमार थापा, बाल गोपाल महर्जन, अनन्त थापा, मधु कार्की, प्रदिप महर्जन, रमेश बुढाथोकी, जुमानु राई, रोहित चन्द, सागर थापा लगायतका खेलाडीले घरेलु फुटबलको विरासत धान्न पुगे ।

रोहित चन्द बाहेक अन्य कुनै पनि खेलाडी एकेडेमीबाट आएका थिएनन् । टोलमै फूटबल शुरु गरेर अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका खेलाडीहरु फूटबलसँग भावनात्मक सम्बन्ध गासेर खेल्ने गर्थे । नेपाली फूटबलमा व्यवसायिकताको शुरुवात भएकै धेरै भएको छैन ।

अहिले खेलिरहेका प्राय खेलाडीहरुमा पनि पारिश्रमिक बाहेक अन्य कुरामा व्यावसायिक देखिदैन । खेलाडीहरुमा जिम्मेवारीपन नभएको लिगको दौरान प्रशिक्षकहरु आफै भन्दै हिंड्ने गरेका थिए ।

अब क्लब, संघ र खेलाडीहरुले आफुले के गर्दा मैदानमा दर्शक तान्न सकिन्छ भनेर सोच्ने बेला आएको छ । अन्तर्राष्ट्रिय मान्यता अनुरुप चल्ने हो भने क्लबको आम्दानीको सबै भन्दा ठूलो स्रोत नै दर्शक हो । खेलमा बिक्रि हुने टिकेट र क्लबको लोकप्रियता देखेर आउने प्रयोजनले नै क्लबलाई टिकाउन सक्छ ।

Click to comment

Trending