Headline

आर्मीको चर्चित अग्रपंक्तिका बीच ध्यान आकर्षित गरिरहेका बिकास

Published

on

त्रिभुवन आर्मी क्लब जारी शहीद स्मारक ए डिभिजन लिगकै सबैभन्दा सशक्त टोलीको रुपमा अगाडी आएको छ । बिभागीय टोलीमा बिदेशी खेलाडीहरु राख्ने प्रावधान नरहे पनि यसले आर्मीलाई खासै फरक परेको छैन । आर्मी अग्रपंक्ति देखि रक्षापंक्तिसम्म निकै बलियो देखिएको छ । लामो समयदेखि पोस्ट सम्हाल्दै आएका बिकेश कुथु पनि १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण बिजेता हुन् ।

बिकेशसँगै दक्षिण एसियाली खेलकुदका अर्का स्वर्ण बिजेता हुन् बिकास खवास, जो आर्मीको रक्षापक्तिंको केन्द्रमा रहने गरेका छन् । हुन त अण्डर–१४ र अण्डर–१८ को राष्ट्रिय टोलीको यात्रा तय गरिसकेका उनले साग अण्डर–२३ को पहिलो खेल देखि नै फुटबल प्रेमी माझ प्रभाव जमाउन सफल भएका थिए । साफ अण्डर–१८ च्याम्पियनसिप बिजेता बन्दा भारतलाई भुटानमा भएको फाइनलमा २–० ले पराजित गर्दाको क्षण निकै प्यारो लाग्ने उनी बताउछन् ।

१३ औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा आफ्नो राइट ब्याक पोजिसनमा व्यक्तिगत र टोलीकै लागी उत्कृष्ट प्रदर्शन गर्दै सबैको आखामा पर्न सफल बिकासलाई कसरी फुटबलप्रति माया जाग्यो त ? गौरव फुयालले तयार पारेको यो सामग्रीः

फुटबलमा शुरुवात

हरेक खेलाडीको फुटबलमा लाग्दाको आफ्नै कथा हुने गर्छ । बिकासको कथा भने अली बेग्लै छ । फुटबलमा लाग्न उनलाई घरबाट कसैको प्रेरणा त मिलेन तर दाइहरु खेलेको हेर्न मोरङको हात्तिसार खेल मैदान जाने गर्थे । निकै सानो रहेकाले खेल्ने मौका नपाएका बिकास बाहिर गएको बललाई हान्दै फुटबलतर्फ आकर्षित हुन पुगे । “आमा बाबाले नि पढ्न भन्नु हुन्थ्यो । म पढ्नुका साथै खेल्न पनि थाले । एन्फामा छनोट भएपछि अहिले यहासम्म आइपुगेको छु,” उनी आफ्ना यात्राको बारे सुनाउछन् ।

आर्मीमा आगमन

मोरङ फुटबल क्लबबाट आफ्नो शुरुवाती दिन थालेका उनी दुई बर्ष देखी भने आर्मीमा अनुबन्धित भएर खेल्दै आएका छन् । नेपालको घरेलु फुटबलमा उनको सिनियर करिअर आर्मीबाटै शुरु भएको हो । भुटानमा साफ अण्डर–१८ च्याम्पियनसिप खेले लगत्तै आर्मी गएका उनलाई काकडभित्ता गोल्डकपमा मनाङबिरुद्धको फाइनलमा नबिन बस्नेतले डेब्यु गराएका थिए । डेब्यु म्याचमै उपाधि जितेका उनी म्यान अफ द म्याच पनि चुनिए । त्यसपछि उनले पछाडी फर्केर हेर्नु परेको छैन । लगातार आर्मीको सेटमा पर्न सफल उनले खेलेको पहिलो लिग (२०७५) मै उदीयमान खेलाडी पनि घोषित भएका थिए ।

आर्मीमा आए पछिका बिकास

आर्मीको टोलीले धेरै फुटबलरहरुलाई आकर्षित गर्ने गरेको छ, कतिले त यो सपना बोकेर नै खेल्न थालेका हुन्छन् । बिकास त्यो सपना नबोकेरै आफ्नो मिहिनेतले आर्मीमा स्थान बनाउने खेलाडी हुन् । आर्मीमा आएपछि आफ्नो व्यवसायिक फुटबलले गति लिएको बिश्वास गर्छन् । “आर्मीमा नियमित अभ्यास हुन्छ र सिनियर खेलाडीहरुबाट धेरै सिक्ने अवसर पनि पाइन्छ,” उनी सुनाउछन् । आफ्नो स्तरोन्नतीका लागि सिक्न र मिहिनेत गर्न उनी कहिल्यै पछि नहट्नेमा दृढ रहेका छन् ।

ठूलो टोलीबाट खेल्दाको दवाब

भरत खवास, नवयुग श्रेष्ठ र जर्ज प्रिन्स कार्की रहेको आर्मीको अग्रपंत्ति लिगकै उत्कृष्ट मध्ये पर्दछ । अन्य खेलाडीहरुले पनि लामै समय सँगै खेलेको भएरै राम्रो गर्दै आइरहेका छन् । गत सिजनको लिगमा बिकास आर्मी बलियो टोली हुँदा हुदै पनि उपाधि बिमुख हुनु पर्दाको प्लयेयिङ सेटकै खेलाडी हुन् । बलियो टोली हदा हुदै लिग नजित्दा उनलाई दवाब के हो राम्ररी थाहा छ । “दवाब त हुन्छ नै । पहिला पनि (२०७५ सालको लिगमा) हामीले राम्रो गरेका थियौं । तर पछिका खेलहरु हार्न पुग्दा उपाधि दौडबाट बाहिरिन पुगेका थियौं । पहिला पनि लिग जित्ने लक्ष्य नै लिएर हिडेका थियौं तर यस पाली हाम्रो टोलीमा अतिरिक्त जोश भएकोले लिन नै जित्न सक्छौं जस्तो लाग्छ । बिभागीय टोली भएर पनि थप दवाब हुने हो ।”

आर्मीसँगको अनुभव

कप्तान भरत, नवयुग, बिकेश र जर्ज आर्मीको टिममा ठूला नामहरु मध्ये पर्छन् । सिनियर राष्ट्रिय टिमबाटै प्रशस्त अनुभव बटुलिसकेका खेलाडीहरुको बीचमा रक्षापंक्तिमा खेल्दै आएका बिकासलाई अन्य खेलाडी सरह आफूतर्फ ध्यान आकर्षित गर्ने चुनौति पनि छ । फुटबलमा गोल गर्ने खेलाडीको वाह–वाही हुन्छ, रक्षापंक्तिको भुमिका महत्वपूर्ण रहेपनि सामान्य दर्शकले त्यसतर्फ खासै ध्यान दिदैनन् । बिकासले बिस्तारै आफूतर्फ ध्यान आकर्षित गर्दैछन् तर यसको लागि उनलाई थप एक्सपोजरको खाचो छ । तीनै ठूला नाम गरेका खेलाडीको उपस्थितिले आफू छाँयामा परेको भने उनी मान्न तयार छैनन् । “मलाई म छाँयामा परेको जस्तो लाग्दैन । खेलमा गल्ती भैहाल्यो भने पनि सिनियर दाइहरुले राम्रो हौसला प्रदान गर्ने गर्नुहुन्छ । वहाहरुको उपस्थितिले त मलाई अझै ठूलो प्रेरणा मिलेको छ ।”

फुटबलले दिएको खुशी

अण्डर–१८ साफ बिजेता बन्दा बिकासलाई भारतलाई भुटानमा सम्पन्न साफ अण्डर–१८ च्याम्पियनसिपको फाइनलमा हराउदको क्षण अहिले सम्म उनको जीवनको सबैभन्दा खुशीको क्षण हो । नेपालमा सम्पन्न १३ औ दक्षिण एसियाली खेलकुदमा भुटानबिरुद्धको फाइनलमा दशरथ रंगशालामा उनका आमा बुवा को अगाडी उपाधि जित्दाको क्षण भने उनको लागि बिशेष रहेको छ । “घरेलु दर्शकको उपस्थितिमा खेल्नुको मज्जा नै बेग्लै हुन्छ । रंगशालामा यो मन त मेरो नेपाली हो गित बज्दा आङ्ग नै सिरिङ्ग हुने गर्छ ।”

अबको सपना

बिकासको सपना त्यही हो जुन हरेक नेपाली फुटबलरले देख्ने गर्छन् । उनी सिनियर राष्ट्रिय टोलीबाट खेल्न चाहन्छन् । खेलाडीको रुपमा उनले दुई पटक उपाधि जितिसकेका छन् – साफ अण्डर १८ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुदमा स्वर्ण । तर दुवै उमेर समुहको प्रतियोगिता रहेको थियो । उनी राष्ट्रिय टोलीबाट डेब्युको पर्खाइमा रहेका छन् र यसको लागि उनी समर्पित भएर नै लागेका छन् ।

“मैले सिनियर राष्ट्रिय टोलीबाट त अहिले सम्म खेलेको छैन तर अबको पहिलो लक्ष्य भनेकै राष्ट्रिय टोली हो । त्यसपछि भने बहिरका लिगहरु खेल्न सक्छु र पाउछु भन्ने आशा छ । मैले धेरै मिहिनेत गर्दै राम्रो खेलेर देखाउनु पर्नेछ । आउदो विश्वकप छनोट अन्तर्गतका खेलहरुमा राष्ट्रिय टोलीमा डेब्यु गर्ने लक्ष्य लिनुपर्छ,” उनी भन्छन् ।

Click to comment

Trending