Headline

‘स्थापित खेलाडीहरु लिगमा एकरुपको प्रदर्शन दिन असफल छन्’

Published

on

शहीद स्मारक लिग जारी रहदा नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक योहान कालिन अहिले फुर्सदमा छन् । कालिनले लिगका म्याचहरुलाई राम्ररी नै नियालिरहेका छन् । उनले लगभाग सबै खेलहरु हेरेका छन् । लिगको समापनसँगै नेपाली खेलाडीहरु र राष्ट्रिय टोलीको ब्यस्त तालिका शुरु हुने देखिन्छ । फागुनक तेस्रो साता देखी सुरु हुने भनिएको चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय प्रतियोगिता नेपाली राष्ट्रिय टोलीले खेल्नु पर्ने हुन्छ । ए डिभिजन लिगले राष्ट्रिय टोलीलाई कस्तो बनाउने छ यस बिषयमा के भन्छन् त कालिन । हेरौ उनीसँग लिइएको अन्तर्वार्ताः

ए डिभिजन लिगलाई कसरी हेरिरहनुभएको छ ?

लिगमा पहिलो तीन स्थानमा राम्रै उतार चढाव चलिरहेको छ । लिगका केही खेलहरु हेर्न लायक छन् तर हामीले यसलाई राम्रो बनाउदै लानु पर्ने देखिन्छ । खेलाडीहरु शारिरिक रुपमा बलियो हुनु आवश्यक छ किनभने कतिपय खेलाडीहरु जानेरै डाइभिङ्ग हानिरहेका हुन्छन् । उपाधि दौडमा रामै्र प्रतिस्पर्धा चलिरहेको छ जसले गर्दा लिग हेर्न आनन्द पनि आइरहेको छ र यो फुटबलको लागि एकदम राम्रो कुरा हो ।

छोटो अवधिको लिगहरुले गुणस्तर खेलाडीहरू दिन्छ त ?

घरेलु फुटबलको जग बलियो बनाउनका लागि लामो लिग नै राम्रो हो । आगामी दिनहरुमा हामीले लामो लिग ल्याउन निकै आवश्यक छ । नेपालमा देश भरीनै साना–तिना प्रतियोगिताहरु भईरहेका हुन्छन् । ती खेलहरुको छुट्टै रौनक छ । लामो समय लिग भयो भने गुणस्तर खेलाडी हरु भित्रिनेमा म आशावादी छु ।

राष्ट्रिय टोलीलाई अब आउने दिनहरुमा कसरी तयार पार्ने सोच्नुभएको छ ?

हामीले लिग सकिएपछि सबै भन्दा चाडो त अभ्यास गर्न पाउनुप¥यो । त्यसपछि केही मैत्रीपूर्ण खेलहरु पनि हामीले खेल्न थाल्नु पर्छ । अस्ट्रेलिया र चाइनिज ताइपेइसँगका म्याचहरु ठूला हुन् । दुवै खेल अघि हामीले म्याच एक्सपोजर लिन आवश्यक छ ।

के हामीले यो बर्षको राष्ट्रिय टोलीमा नयाँ अनुहार देख्न पाउनेछौ त ?

मैले अहिलेसम्म निर्णय त लिएको छैन तर पनि मसँग खेलाडीहरुको लिस्ट लामै छ । हेर्दै जाउ कोही नयाँ पनि हुन सक्नेछन, कोहीलाई म आफै परीक्षण गर्ने छु । अन्य केही अनुभवी अनुहार नै छन् ।

लिगमा अन्तिम चरणका खेलहरुसम्म आइपुग्दा तपाईंले हरेक खेल हेर्नु भएको छ । तपाईंलाई कुन खेलाडीले आकर्षित गरेको छ ?

नाम नै किटेर भन्न अली गाह्रो होला तर कुनै खेलाडीले एकदम राम्रो खेलेका छन् । कसैले औषत प्रदर्शन गरेका छन् भने कोहीले अली एक्स्ट्रा । मैले सबै खेलाडीहरुलाई राम्ररी नै नियालेको छु ।

जारी लिगका एक दुई खेलमा म्याच फिक्सिङको आरोपहरु लगिरहेका छन् । एक टोलीका प्रशिक्षकले त झन फिक्सिङ गरेको दुई टोलीलाई आरोप पनि लगाए । नेपाल एक अद्र्ध व्यवसायिक फुटबल खेल्ने देश भएकाले फुटबलमा कतिको असर पर्न जान्छ ?

त्यो हामीले सोचेको भन्दा पनि गहिरो कुरा हो तर लिगमा के हुन्छ के हुँदैन भनेर भन्न सक्नु मेरो लागी आँफैमा एक गाह्रो कुरा हो । म्याच फिक्सिङ त फुटबल जगतको लागि बिष हो तर मलाई लाग्छ एन्फा, फिफा र एएफसीले आफुले सके जति दिएर यो कुरामा छनबिन गर्न आवश्यक देखिन्छ । यदी त्यो नगरिएको खण्डमा समर्थकहरुमा फुटबलको लागि जोश कम हुदै जान्छ । फिक्सिङको भए नभएको म दाबीका साथ त भन्न सक्दिन । मलाई मात्र यो सत्य नहोस जस्तो लागेको छ ।

राष्ट्रिय टोलीमा मिडफिल्डमा धेरै त्रुटि देखिन्छ । लिगमा नेपालको मिडफिल्ड धान्न सक्ने खेलाडी भेटाउनु भयो त ?

हामीसँग धेरै पोजिसन बाट खेल्ने धेरै खेलाडी त छन तर यो स्तरमा खेलेर अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्न अली गाह्रो हुन सक्छ । मिडफिल्डमा हामी सुधारने प्रयास गर्ने छौ ।

पुराना राष्ट्रिय खेलाडीहरुको प्रदर्शन कस्तो लागिरहेको छ ?

उनीहरुले एकै किसिमको प्रदर्शन दिन सकिरहेका छन् । यसको कारण आफ्नो नियमित पोजिसनमा नखेल्नु पनि हो । यो पक्कै पनि राष्ट्रिय टोलीका लागि राम्रो कुरा होइन । छुट्ट–छुटै क्लब बाट खेल्दा उनीहरुले खेल्ने फुटबल एउटै हुदैन त्यही कारणले यो कुरामा निश्चित छैन ।

तपाईंमाथि पुरानै खेलाडीहरुलाई खेलाउनु पर्ने दवाब त छैन ?
मैले पहिले नै भनिसकेको छु मलाई कुनै दवाब छैन भनेर । म र मेरा सहायक स्वतन्त्रता पुर्वक खेलाडी छनोट गर्नेछौं । तर एउटै टोलीमा एकै पटक १० खेलाडी फाल्न सकिदैन । यसो भन्दै गर्दा टोलीमा नयाँ खेलाडी नै आउदैनन् भन्न पनि मिल्दैन । नेपाली टोलीमा नयाँ जोश र अनुहार देख्न पाइनेछ ।

नेपाली राष्ट्रिय टोलीको अभ्यास कहिले देखी शुरु गर्दै हुनुहुन्छ ?
लिग सकिएको भोलीदेखि हामी अभ्यास गर्ने तरखरमा छौ । एन्फाले कहिले समय र खेल मैदान दिन्छ भन्ने कुरामा पनि भर पर्छ । क्लबबाट खेल्ने फुटबल र राष्ट्रिय टोलीबाट खेल्ने खेल अलग हुन्छ, टिमलाई आकर दिन समय लाग्ने भएर पनि हामी अभ्यास चाडो सुरु गर्ने चाहन्छौं ।

Click to comment

Trending