Headline

माम्बा आउट: नेपालको हरेक बास्केटबल कोर्टका कथा कोबी

Published

on

आदर्श ढकाल

कोटेश्वरमा अहिलेको भाटभटेनी पारी एसओएस युवाग्राम छ । केही समय अघि सम्म युवाग्राम निकै खेलकुदमय हुने गथ्र्यों । युवाग्राममा बस्नेहरुका लागि त्यहा फटबल, क्रिकेट र भलिबल खेल्न मिल्ने एउटा ठूलो मैदान र सँगै बास्केटबल कोर्ट पनि रहेको थियो । बास्केटबल कोर्ट अहिले पनि छ ।

त्यो मैदानमा एसओएसका संस्थापक हर्मन माइनरको स्मृतिमा हुने हर्मन माइनर डे (जुन ३०) को लागि खेलकुद सप्ताह चल्ने गथ्र्यो । खेलकुद सप्ताहमा बास्केटबल, भलिबल, ब्याडमिन्टन, टेबल टेनिस लगायतका खेलहरु त्यही मैदानमा हुने गथ्र्याे, फुटबल र क्रिकेट सानो ठिमीको एसओएस बालग्राममा रहेको हर्मन माइनर स्कुलमा ।

युवाग्राममा बस्नेहरु, धेरै जसो हाम्रा सिनियर दाइहरु, निकै नै राम्रा खेलाडी थिए । जुन खेल पनि राम्रो खेल्ने । क्रिकेट र बास्केटबल नयाँ खेल थियो तर त्यसमा पनि राम्रो गर्ने हो भन्दै दुवै खेल राम्ररी नै सिकिसकेका थिए ।

एसओएसको ठ्याक्कै पछाडीको स्थानीय म त्यही गएर खेल्न थाले । जुन खेल आखा अगाडी आयो त्यही । निकै सानो हुदा फटबल त्यसपछि क्रिकेट र बास्केटबल । स्थानीयलाई पनि खेल्न अनुमति भएको समयमा त्यही सिनियर दाईहरुसँग खेल्दै हाम्रो पुस्ता हुर्कियो ।

त्यही कोर्टले हाम्रो र त्यसपछिको पुस्ताका लागि दुई जना राष्ट्रिय खेलाडी पनि दिइसकेको छ । हामीसँगै हुर्केका बिजय खत्रीले २००१ मै नेपाली टोलीका लागि साबा च्याम्पियनशीप खेले । हामी खेल्दै गर्दा बास्केटबल सिकेका बिजय बुर्जा अहिले राष्ट्रिय टोलीको नियमित सदस्यको रुपमा पोइन्ट गार्ड पोजिसनमा खेल्ने गर्छन् ।

लामो समयदेखि क्लब बास्केटबल खेलेका र राष्ट्रिय टोलीको नजिक पुगेका अर्का खेलाडी बिज्डम पाण्डे अहिले नेपाल बास्केटबल लिग खेल्ने गर्छन् ।

टेबल टेनिस, ब्याडमिन्टन, भलिबल, फुटबल र क्रिकेट जुनै पनि खेललाई गम्भिर रुपमा लिइरख्दा बास्केटबल कोर्टको रौनक भने छुट्टै हुने गथ्र्यो, एक छुट्टै माहौल ।
जिनेदिन जिदानले फ्रान्सलाई बिश्वकप जिताएको समय फुटबलमा ब्र्राजिलका रोनाल्डो, त्यसपछि रोनाल्डिन्हो, पोचुगलका फिगो, फ्रान्सका थिएरी हेन्री सबैको मानस पटलमा स्थापित भएका अन्तर्राष्ट्रिय फुटबलर थिए । क्रिकेटमा सचिन तेन्दुल्करले अझै पनि राज गर्थे ।

बास्केटबलमा अमेरिकन व्यावसायिक लिग एनबिएले मात्रै चर्चा पाउने गर्दा यो खेलमा को त सबैले पछ्याउने ?

हामीले खेल्दै गर्दा एसओएसकै सिनियर दाइहरुको होस्टल रुममा सिकागो बुल्स लिजेण्ड माइकल जोर्डन, लस एन्जलस (एलए) लेकर्सका म्याजिक जोन्सन र फिलाडेल्फिया सेभेन्टीसिक्सर्सका एलेन आइभर्सनको पोस्टर टाँगिने गथ्र्यो । जोर्डन र जोन्सनले सन्यास लिइसकेपछि छोटो कदका बावजुद अद्वितीय ड्रिब्लिङ्ग क्षमता र खेल्ने शैलीले चर्चा कमाएका आइभर्सन ९० को अन्त्य र २००० को दशकको शुरुवातमा आइभर्सन लिभिङ्ग लिजेण्ड भैसकेका थिए ।

ती खेलाडीहरुको खेल कहिले नहेरेको हामी जोर्डनको चर्चाका कारण बुल्सको जर्सि किन्ने र टिम लोगोको ट्याटु बनाउने गथ्र्यौं । त्यसपछि चर्चा हुन थाल्यो कोबी ब्रायन्टको । आइभर्सनको चर्चा चलिरहदा २००० को दशकमा दुई खेलाडी खुबै छाए – सकिल (श्याक) ओ निल र कोबी ब्रायन्ट ।

७ फुट १ इञ्च अग्ला र एक सय २० केजीका श्याक र साढे ६ फुटका कोबी लेकर्सबाट खेल्ने गर्थे । श्याक आफ्नो उचाई र वजनले गर्दा चर्चामा थिए । उनी फ्रि शटमा चुक्ने गरेको मजाक अहिले पनि एनबिएमा उडाइन्छ । कोबी आफ्नो खेलले उत्कृष्ट थिए । म्याजिक जोन्सनपछि लेकर्सको बिरासत कसले सम्हाल्ने भन्ने थियो । श्याक वजनदार भएकाले त्यो गाह्रो थियो । कोबी सबैभन्दा एथ्लेटिक ।

कोबीले एकपछि अर्को गर्दै उत्कृष्ट प्रदर्शन गर्न थाले । नेपाली बास्केटबल बृत्तमा – बिशेषगरि नेपालमा यो खेल खेल्ने सिमित जनसंख्यामा – उनी छाइसकेका थिए । उनी राम्रो खेलाडी मात्र नभएर सबैभन्दा गाह्रो प्रतिस्पर्धीको रुपमा अघि आए । बुल्सको सेतो र रातो रँगलाई बिस्तारै काठमाडौंका धेरै जसो बास्केटबल कोर्टमा लेकर्सको पहेलो र बैजनी रँगको जर्सीले स्थानान्तरण गर्न थाल्यो ।

एसओएसको त्यो कोर्टबाट अन्य बास्केटबल कोर्टमा म्याच खेल्न जादा धेरैको जर्सीको पछाडी कोबी ब्रायन्ट देखिन थाले । यो काठमाडौंमा बास्केटललाई गम्भिर भएर खेल्ने हरेक कोर्टको कथा हो । सबै कोर्टको आफ्नै कथा होला । नेपालमा बास्केटबल सिक्दै गर्दा कोबी ब्रायन्ट बन्न चाहने अथवा उनलाई पछ्याउनेको संख्या ह्वात्तै बढ्न थालेको थियो ।

बास्केटबलमा उनी क्लच प्लेयर (मिलि सेकेण्डमा पनि खेल जिताउन सक्ने) को रुपमा स्थापित हुन पुगे । उनले लेकर्सका लागि पाँच पटक एनबिएको उपाधि जिते । सन् २००७–२००८ को सिजनमा एमभिपि पनि भए । यी सबै उपलब्धि हात पार्दा उनले बास्केटबलको एक पुस्तालाई नै थाम्न पुगे, नेपालमा पनि ।

कुनै पनि खेल खेलाडीको लिगेसीका कारण नै प्रख्यात हुने हो । कोबी त्यही लिगेसी लिएर हिडेका खेलाडी थिए जसले बास्केटबललाई संसारको प्रत्येक कोर्टमा लिएर गए । लेकर्समा आफ्नो करिअरको पुरै २० बर्ष बिताएका कारण पनि उनी धेरैका आदर्श हुन पुगे । कोबीको तिब्रता, रिङ्गमा गर्ने गरेको आक्रमण र जित्नै पर्ने आकांक्षा सबैको लागि प्रेरणाको स्रोत थियो ।

सन् २०१६ मा लेकर्सबाटै सन्यास लिदाको अन्तिम खेलमा उनले युटाह् ज्याजबिरुद्ध उनले ६० पोइन्ट स्कोर गरेका थिए । ब्ल्याक माम्बा नामले चिनिने गरेका कोबीले दर्शकलाई सम्बोधन गर्दा माम्बा आउट भनेर उद्घोष गरे । कोबी मन पराउने सबैका लागि त्यो राम्रो क्षण थिएन । बिरासत बोकेका कोबी हेलिकप्टर दुर्घट्नाका कारण संसारबाट बिदा हुन्छन् भन्ने कुरा अझै अकल्पनीय ।

Click to comment

Trending