Headline

भारतसँग न्युजिल्याण्ड फेरि सुपर ओभरमा पराजित

Published

on

न्युजिल्याण्डलाई एकपटक फेरि सुपर ओभरमा पराजित गर्दै भारतले पाँच म्याचको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रि श्रृंखलामा ४–० को अग्रता लिएको छ । भारतले यसअघि नै श्रृंखला कब्जा गरिसकेको भएपनि चौथो खेल निकै रोमाञ्चक बन्न पुगेको थियो ।

अन्तिम ओभरमा हातमा ७ विकेट रहेको स्थितिमा न्युजिल्याण्डलाई ७ रनमात्र चाहिएको स्थितिमा भारतले चार विकेट लिएपछि दुई टिमबीचको श्रंखलामा लगातार दोश्रो पटक खेल सुपर ओभरमा धकेलिएको थियो ।

जितका लागि १ सय ६६ रन पछ्याएको न्युजिल्याण्डबिरुद्ध शार्दुल ठाकुरले अन्तिम ओभर लिएर आएका थिए । उनले पहिलो बलमै रोस टेलरलाई २४ रनमा आउट गरे भने दोश्रो बलमा ड्यारेल मिचेलले चौका प्रहार गरेका थिए । तीन रन बाकी रहेको स्थितिमा ५७ रन बनाएर इनिङ्गस सम्हालेका टिम सेफर्ट रन आउट हुन पुगे ।

मिचेल स्यान्ट्नरले चौथो बलमा एक रन लिए भने पाचौं बलमा मिचेल पेभिलियन फर्कन पुगे । अन्तिम बलमा दुई रन चाहिदा स्याट्नरले दोश्रो रन लिन खोज्दा रनआउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो । न्युजिल्याण्डले २० ओभरमा ७ विकेटको क्षतिमा एक सय ६५ रन बनायो ।

सुपर ओभरमा सिफर्ट र मन्रोले एक–एक वटा चौका प्रहार गरेपछि भारतले १४ रनको लक्ष्य पाएको थियो । जवाफमा केएल राहुलले टिम साउदीको पहिलो दुई बलमै छक्का र चौका प्रहार गरेपछि भारत जित नजिक पुगेको थियो । तेश्रो बलमा राहुल पेभिलयन फर्केपनि कप्तान बिराट कोहलीले चौथो र पाचौं बलमा दुई रन र चौका प्रहार गर्दै भारतलाई जित दिलाए ।

यसअघि २२ रनमा ओपनर मार्टिन गप्टिललाई गुमाएको न्युजिल्याण्डलाई कोलिन मुन्रो र सिफर्टले ८४ रनको साझेदारी गर्दै सम्हालेका थिए । मुन्रोले ४७ बलमा ६ चौका र तीन छक्का प्रहार गर्दै ६४ रन बनाए । सिफर्टले ३९ बलमा चार चौका र तीन छक्का हिर्काएका थिए ।

मनिष पाण्डेले अद्र्धशतक प्रहार गरेपछि भारतले ८ विकेटको क्षतिमा एक सय ६५ रन बनाएको थियो । टप अर्डरमा लोकेश राहुलले केही आकर्षक शटहरु खेलेपनि मिडल अर्डर चल्न नसक्दा भारत एक समय कम योगफलमै समेट्ने देखिएको थियो ।

तर छैटौं नम्बरमा ब्याटिङ्ग गर्न आएका पाण्डेले ३६ बलमा अद्र्धशतक पुरा गर्दै चुनौतिपूर्ण योगफलतर्फ धकेलेका थिए । मनिषले तीन चौकाको मद्दतमा नटआउट ५० रन बनाए । ८८ रनमै ६ विकेट गुमाएको भारतीय इनिङ्गसलाई पाण्डेले शार्दुल ठाकुर (२०) सँग ४३ रनको साझेदारी गर्दै उकासेका थिए ।

राहुलले २६ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३९ रन बनाए । कसिलो बलिङ्ग गरेका इश सोधीले न्युजिल्याण्डका लागि चार ओभरमा मात्र २६ रन खर्चिएर तीन विकेट लिएका थिए । यस्तै हमिस बेनेटले पनि दुई विकेट हात पारे ।

Click to comment

Trending