ए डिभिजन लिग

एनआरटीलाई चौथो स्थानमा उक्लने अवसर

Published

on

अघिल्लो सिजन अंक तालिकाको पछारमा रहेर यो पटक पहिले दुई अंक गुमाउदै शहीद स्मारक ए डिभिजन लिग शुरु गरेको एनआरटी बिहिबार चौथो स्थानमा फड्को मार्ने दाउमा रहेको छ ।

गत बर्ष रेलिगेसनको प्रावधान नरहेको लिगमा एनआरटी अन्तिम र मच्छिन्द्र पछारबाट दोश्रोमा रहेपछि दुवै टोलीले यो सिजन क्रमश दुई र एक अंक गुमाउदै लिग शुरु गरे । राजु काजी शाक्यको प्रशिक्षणमा रहेको एनआरटीले यो सिजन राम्रो शुरुवात नगरेपनि अहिले भने हरेक हिसाबले माथिल्लो स्थानमै लिग समाप्त गर्ने समिकरणमा छ ।

एनआरटीको ८ खेलबाट १२ अंक रहेको छ भने बिहिबार दशरथ रंगशालामा ब्रिगेड बोइज क्लबलाई हराएको खण्डमा थ्रि स्टारलाई पछाडी धकेल्दै चौथो स्थानमा उक्लनेछ । थ्रि स्टारको १४ अंक भएको छ भने प्रशिक्षक मेघराज केसीले उपाधिको दाबेदारीमा अब आफ्नो टिम नरहेको बताइसकेका छन् ।

एनआरटीले उपाधि जित्नको लागि लिगमा ठूलै उथल पुथल आउन परेपनि सकेसम्म शाक्यको नजर राम्रै स्थानमा सक्काउने हुनेछ । ब्रिगेडको ८ अंकसहित १० औं स्थानमा रहेपनि रेलिगेसनको खतरा भने टरिसकेको छैन ।

अनिल गुरुङ र बिजय गुरुङ दुई ठूला नाम रहेको ब्रिगेडलाई पनि जितको उत्तिकै आवश्यकता रहेको छ । दशरथ रंगशालामा बिहिबार हुने पहिलो खेलमा च्यासल युथ क्लबले फ्रेण्ड्स क्लबको सामना गर्नेछ । रेलिगेसनबाट आफूलाई टाढै राख्नको लागि टोलीलाई स्पष्ट जितको आवश्यकता रहेको छ । ११ औं स्थानमा रहेको फ्रेण्ड्सको ८ अंक रहेको छ भने ९ वौं स्थानको च्यासलको ९ अंक ।

तिब्र प्रतिस्पर्धा रहेको लिगको माथिल्लो हाफमा त्रिभुवन आर्मी क्लब २० अंक सहित पहिलो स्थानमा रहेको छ । समान १९ अंक रहेपनि मच्छिन्द्रले मनाङ मस्र्याङ्गदी क्लबलाई कार्डको आधारमा पछि पारेको छ । दुवै टोलीको गोल अन्तर पनि बराबर नै रहेको छ ।

Click to comment

Trending