Headline

फेसबुक, इन्स्टाग्राममा नअटाएको नेपालको घरेलु फुटबल

Published

on

गौरव फुयाल, दशरथ रंगशाला

नेपाली फुटबलमा न्युरोड टिम, मच्छिन्द्र फुटबल क्लब, रानीपोखरी कर्नर टिमको खेलहरु हुँदा काठमाडौंको इन्द्र टोल, मखन, असन बजार शुन्य हुन्थे भन्दा शायद धेरैलाई अर्कै दुनियामा लान खोजेको लाग्छ होला । बिदेशी च्यानलहरुको आगमन र इन्टरनेटले मानिसलाई निल्नु अघिको यथार्थ नै यहि थियो । काठमाडौंको जनसंख्यालाई फुटबल मनोरञ्जनको सबैभन्दा उपयुक्त साधन हुने गथ्र्यो ।

र शहीद स्मारक ए डिभिजन लिगले लामो समय त्यो जनसंख्यालाई ब्यस्त राख्दथ्यो ।

लोकल लिग र फुटबलकोे रौनक यस्तो थियो की एकपटक काठमाडौंका पूर्व मेयर केशव स्थापितले नेपालको म्याराडोनाले चर्चित पुर्व राष्ट्रिय टोलीका स्ट्राइकर मणि शाहको नाममा काठमाडौंको कालधारामा “मणि गल्ली” भनेरै नाम राखिदिए ।  यो २०५० तिरको कुरा हो । मनाङ मस्याङ्गदीबाट ए डिभिजन लिग खेलेका मणि शाहले सन्यास नै लिइसकेका थिए । त्यहाका स्थानीयका लागि उनको नाममा गल्ली नामाकरण हुनु स्विकार्य थियो । अझै भनौ गर्वकै कुरा ।

२०६७ को ६ महिने लिग सम्म पनि दशरथ रंगशालामा लिगको रौनक देखिन्थ्योे । थ्री स्टार, नेपाल पुलिस, मनाङको खेलमा दर्शक रंगशाला पुग्ने गर्थे ।  तर त्यसपछिका बर्षहरुमा लिग हुनै पाएन । भए पनि झारो टार्ने किसिमका भए ।

भुकम्पले रंगशाला क्षतिग्रस्त भएपछि २०७५ मा एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फमा रेलिगेसनको प्रावधान नभएको लिग समर्थकहरुले चाल नै नपाई सकियो । फुटबल त्यही निरस भैसकेको थियो ।

२०११ देखी २०७६ को ए डिभिजन लिगसम्म आउँदा क्लबका मात्र हैनन नेपाली फुटबलकै समर्थकहरु घट्दै गएको छन । फुटबल प्रेमी घटेका हुन कि फुटबल समर्थक भन्ने कुरामा अखिल नेपाल फुटबल संघ अझै पनि अचेत छ । एन्फाले अहिले जारी लिगमा ठूलो प्रायोजकको रुपमा कतार एयरवेज पायो । लिगमा कतार एयरवेज सबैभन्दा ठूलो प्रायोजक हो । तर दर्शक शुन्य ।

दर्शक आकर्षित गर्न एन्फाले अनेक उपाय अपनाएको छ । भिआइपी प्याराफिटमा ५०० को टिकट काटेर खेल हेर्नेलाई नेपाली फुटबल टिमको जर्सी । साधारण प्याराफिटमा २०० को टिकट काट्नेलाई गिफ्ट भौचर र लिग सकिए पछि एकलाई राष्ट्रिय टोली सँगै गएर खेल हेर्ने मौका । तर यसले २० प्रतिशत पनि दर्शक तान्न सकेको छैन ।

दर्शकलाई उपहार अन्य लिगहरुमा पनि होला । नेपालको हकमा यो सबैभन्दा आकर्षक हो । यति गर्दा पनि दर्शक आउदैनन् भने अब के गर्ने त ?

फेसबुक र इन्स्टाग्राम सँगै हुर्केको मैले न्याण्डलाइन टेलिफोन नै इलेक्ट्रोनिक पसलमा मात्रै देखेको छु । मेरो घरमा ल्याण्डलाइन थियो होला । त्यो कता छ मलाई थाहै छैन । घरेलु फुटबलले भने मलाई पहिले देखि नै आकर्षित गरेको हो । तर अचम्म लाग्यो । यत्रो ठुलो लिग छ, यति राम्रो रंगशाला, तर दर्शक खै ?

लिगमा च्यासल युथ क्लब र ब्रिगेड बोइज क्लब भिड्दा म मिडिया बक्स बाट अलि टाढा साधारण प्याराफिटतर्फ लागे । रंगशालाको पश्चिम तिर रातो कुर्सी भएको ठाउँमा १००–२०० जना जति थिए । त्यो सानो भिडमा ७० नजिक पुगेका बिनय रानाभाट फुटबलको राम्रै समर्थक हो की जस्तो देखिए । म उनीसँगैको कुर्सी मा बसे र सोधेः “बुवा कस्तो लागि रहेको छ यो खेल ?”

उनले निधार खुम्च्यााउदै भनेः “ह्या कस्तो अल्छि लाग्दो खेल ।”

 

हेर्दा परिपक्व देखिने, फुटबलकै मायाले आउनु भयो कि भनेर सोचेको भएर मलाई अचम्म लाग्यो । अनि हास्दै सोधेः “कता बाट आउनु भएको ?” उनलाई आप्ठेरो लागेर होला “भाइ पत्रकार हो र?” भनेर सोधे ।

मलाई वार्तालाप गर्न अझै सजिलो भएपछि लिगबारे कुरा गर्दै जादा उनले भनेः “खेल हेर्न लायक हुनु पर्यो नि । अहिले बच्चाहरुले पनि मोबाइलमा रोनाल्डो र मेस्सीको खेल हेर्छन । अनि यहा आउदा अर्कै खेल देखिन्छ ।”

अहिलेको फुटबलको यथार्थ शायद त्यही नै होला । सामाजिक सञ्जालमा छोटो भिडियोमा हेर्दै आएको क्षण लिगको प्रत्येक मिनेटमा अपेक्षा गर्न सकिदैन । त्यो छोटो भिडियोको पुरै ९० मिनेटको खेल फरक हुन्छ । र अन्तर्राष्ट्रिय फुटबलमा देखिने खेल नेपाली घरेलु फुटबलमा कम मात्र हैन शायद देख्न पनि पाइदैन । त्यसैले नै यो घरेलु फटबल हो ।

च्यासलका सन्तोष साहुखलले ब्रिगेडबिरुद्ध प्रहार गर्दा डिफेण्डरले रोकेपछि “झण्डै गोल हानेको खैरो कपालले” भन्दै बिनय उफ्रिए । के गर्नु हुन्छ भनेर सोध्नै परेन । उनी त केही काम नभएर नै लिग हेर्न आएका रहेछन् । “फुर्सद भएरै आएको बाबु म त,” रे । उनको प्रतिक्रियाले झस्कायो । दर्शक कि त खाली समय भएर खेल हेर्न आउने रैछन्, अथवा काम नभएर ।

विनयले भने धेरै अगाडी नै घरेलु लिग हेरेका रहेछन् । २०३५ सालमा आरसिटीले जित्ने भएपछि जमलमा काकासँगै बस्ने गरेका उनले रंगशालामा पहिलो पटक लिग हेरेका थिए । त्यो उनको लागि फरक दुनिया थियो । अहिले उनको नातिले उनको लागि टिकट काटिदिएको रहेछ । रंगशालामा दर्शक आउने कारण मध्येको एक यो पनि रहेछ ।

“नेपाली फुटबल बिग्रेको कारण यो चिनेको मान्छेले साथीको साथीलाई रंगशाला छिराउनु पनि हो,” त्यो उनको आफ्नो बिश्लेषण थियो । उनको बिचारले नेपाली फुटबलमा टिकट संस्कृतीबारे कतै–कतै प्रकाश पार्छ ।

७४ औ मिनेटमा च्यासलका बिक्रम लिम्बुले वान भर्सेस वानमै चुक्दा उनी “नेपाली फुटबल राम्रै छ तर गोल नै हान्न सक्दैनन्” पनि भन्छन ।

नेपाली फुटबलमा लामो समय स्थापित हुदै गर्दा जापानमा केही समय फुटबल खेलेर फर्किएका साहुखलले ९२ औं मिनेटमा गोल गरेपछि च्यासलले जित्यो । साहुखलको त्यो १ सय १ औं गोल थियो । उनी इतिहास कायम गरेर अघि बढिसकेका थिए । उद्घोषकले गोल गर्ने ब्यक्ति भन्दै बिनयको “खैरो कपाल” को नाम लिएपछि उनि अचम्म पर्दै भन्न थालेः “ए यो त सन्तोष साहुखल पो रैछ । राम्रो खेल्ने भएछ ।”

२०३५ सालमा लिग हेरेको दाबी गरेका बिनयले यसबीच नेपाली फुटबल बारे कति ज्ञान राखे उनलाई सोधेर परिक्षा लिने कुरा भएन । उनी राष्ट्रिय टोलीले खेल्दा दर्शक देश प्रेमले आउछन् भनेर मान्छन् । “लिग फुटबलमा दर्शकको उपस्थितिले नेपाली राष्ट्रिय टोलीमा दिने योगदान” बिषयमा अर्को अन्तकृया गर्नु उचित नलागेर म फर्किए । तर उनको उपस्थितीले नेपाली फुटबलमा कसरी दर्शक आइरहेका छन् भन्ने बुझिन्छ ।

१३ औं दक्षिण एसियाली खेलकुदमा अण्डर २३ फुटबल भयो । दक्षिण एसियाली खेलकुदको फुटबल अब पहिलेको स्तरको छैन । यो क्षेत्रको खेलकुद महारथी भारतलाई यसको मतलब नै छैन । तैपनि नेपालले खेलिरहंदा भर्खरै पुर्ननिर्माण गरिएको रंगशालामा दर्शक खचाखच थिए ।

भुटानबिरुद्धको फाइनलमा त अझै त्रिपुरेश्वरको वल्र्ड ट्रेड सेन्टरको ठूलो स्क्रिनमा खेल प्रत्यक्ष प्रशारण हुँदा त्यो बाटो नै बन्द गर्नु परेको थियो । तर धेरै जसो दर्शक त्यो क्षण आफ्नो सामाजिक सञ्जालमा कैद गर्नका लागि मात्रै भएपनि उपस्थित भएका थिए ।

कतिलाई त फेसबुक र इन्स्टाग्रामको स्टोरी आउदा पहिले देखि नै दवाब थियो ।

नेपाली समाज नै देखावटी छ । त्यही कारणले आज देशकै ठूलो फुटबल प्रतियोगिता चल्दा पनि दशरथ रंगशाला खाली छ । कुनै कारणवस लिग हेर्दा ठूलै संख्यामा दर्शक उपस्थित हुँदा कसैले सामाजिक संजालमा स्टोरी राख्ने हो भने मात्र आउलान अब दर्शक ।

Click to comment

Trending