Headline

टोगो राष्ट्रिय फुटबल टोलीलाई एम्बुस पारेर भएको त्यो गोलीबारी

Published

on

जनवरी ८, २०१० मा अफ्रिका कप अफ नेसन्सका लागि मात्र केही दिन बाकी थियो । एँगोलाको कबिन्डाले समुह बि का खेलहरु आयोजना गर्दै थियो भने त्यही नै प्रतियोगिताको पुर्व सन्ध्यामा डिफेन्डिङ्ग च्याम्पियन आइभोरि कोस्टका कप्तान डिडिएर ड्रोग्बालाई बिबिसि अफ्रिकन बर्ष खेलाडीको पुरस्कार दिने कार्यक्रम रहेको थियो ।

दिनहरु बित्दै जादा एक समय टोगो राष्ट्रिय फुटबल टोलीलाई लक्षित गर्दै आक्रमण गरिएको अपुष्ट समाचारहरु आउन थाले । बिवरणहरु खासै स्पष्ट नभएपनि केही गम्भिर भइसकेको भन्ने बुझिसकिन्थ्यो । घट्नाको गम्भिरताको बारे त कबिन्डा शहरमा टोगो टिम बसेको होटलमा पुगेपछि मात्र थाहा भयो ।

त्यति खेरका म्यानचेस्टर सिटी र टोगोका स्टार इमानुएल एडिबायोर घटनाको बिषयमा बताउन सक्ने उपयुक्त ब्यक्ति थिए । जब उनी जानकारी दिनलाई टेबलमा बसे टोगो टोलीका दुई व्यक्ति मारिने गरि भएको उक्त आक्रमण निकै नै भयावह रहेको भन्ने बुझियो । अन्य कैयौं टोगो राष्ट्रिय टोलीको टिमका सदस्यहरुको जिन्दगी उक्त आक्रमणपछि बोकेको चोटले परिवर्तन गर्न गइरहेको थियो ।

एडिबायोरसँग लिइएको अन्तर्वार्ता र टिमका अन्य सदस्यहरुबाट सुनिएपछि बिश्व जगतमै हेडलाइन बनेको उक्त आक्रमणलाई १० बर्षपछि सम्झदा कस्तो लाग्ने रहेछ त ? एक पटक पढौं त्यो दर्दनाक घटनका बारे ।

सन् २००८ को अफ्रिका कप अफ नेसन्समा छनोट हुन असफल रहेको टोगोको टोली त्यसको दुई बर्ष पछिको संस्करणमा छानिदा निकै उत्साहित देखिन्थ्यो । आफ्नो समुहमा टोगोले बिश्वकपमा राम्रो प्रभाव जमाइसकेका दुई ठूला टोलीहरु –– ड्रोग्बाको आइभोरि कोस्ट र माइकल एसिएनको घाना –– को पनि सामना गर्न गइरहेको थियो ।

गणतन्त्र कँगोको पोइन्ट नोएरेमा आफ्नो प्रशिक्षण शिविर राखेको टोगोले मात्र एक सय किलोमिटर पर रहेको कबिन्डामा आफ्ना समुह चरणका खेलहरु खेल्ने तय थियो । कबिन्डा अन्य एँगोलन शहरहरु भन्दा केही छुट्टै रहेको छ । निकै टाढा रहेको राजधानी लुवान्डासम्म हवाइजहाजको यात्रा गर्दै फेरि उत्तरतर्फ कबिन्डामा फर्किनुभन्दा टोली व्यवस्थापनले गाडीमै सानो यात्रा तय गर्नु उपयुक्त सम्झेको थियो । तर यो एउटा घातक निर्णय साबित हुन पुग्यो ।

एक रात अगाडी टोगोको टोली प्रशिक्षकहरुलाई मन नपर्दा नपर्दै बोर्डर सम्म घुम्न गएका थिए । भोली पल्ट गाडीमा यात्रा गर्दाको माहौल निकै रमाइलो थियो । खेलाडीहरु हास्दै थिए, आफुहरुबीच जोक गर्दै थिए भने भर्खर टोलीमा परेका युवा खेलाडीहरु भने आफ्नो करिअरकै उत्कृष्ट क्षणको पर्खाइमा आतुर थिए ।

एँगोलाको सिमा क्षेत्र प्रवेश गरेपछि उनीहरुलाई सुरक्षाकर्मीको दस्ताले जँगलको बाटोमा सुरक्षाका लागि साथ दिएको थियो । उक्त जँगल एँगोलाबाट आफूलाई स्वतन्त्र गराउने पर्ने माग गर्दै आइरहेको समुहको आधार क्षेत्र रहेको थियो । टोगो टोलीले आफ्नो आगमनको बारेमा खासै ध्यान दिएको पनि थिएन । उनीहरु केही बेरमै टिम बस भित्रै बसेर जिन्दगीको लागि संघर्ष गर्न गइरहेका थिए ।

टोगो टिमको सानो दस्ता बोर्डरबाट भित्र प्रवेश गर्दै जँगलतर्फ अघि बढ्यो । १० बर्ष अगाडीको त्यो क्षणको सम्ंझना गर्दै मिडफिल्डर जुनियर सेनाया अझै पनि तर्सने गर्छन् । “बोर्डर कट्ने बित्तिकै हामी एकदम रमाइलो गरिरहेका थियौं । १५ मिनेट जति भएपछि हामीले जँगलमा गोलीको आवाज सुन्यौं, हामी सबै हास्यौं र यसलाई लिएर ठट्टा पनि ग¥यौं । केही क्षणमै गोलीबारी तिब्र हुन थाल्यो,” सेनाया सम्झन्छन् ।

के भइरहेको छ भनेर बुझ्न बाकी नै हुँदा एक जना आक्रमणको शिकार भैसकेका थिए । एँगोलामा प्रवेश गरेको भिडियो खिचिरहेका मिडिया अफिसर स्टानिस्लास ओक्लुलाई गोली लागिसकेको थियो । उनी मारिने पहिलो ब्यक्ति भए । गोलकिपर कोद्जोभी ओबिलालेलाई पनि त्यो दर्दनाक घट्ना स्पष्ट रुपमा याद रहेको थियो । उनको जिन्दगी केही सेकेण्डमै परिवर्तन भैसकेको थियो । उनलाई पनि गोली लागेको थियो ।

“मैले मेसिन गनको आवाज सुने । मलाई लुक्न मन लाग्यो । मलाई किल्ला भएको सिटमा कसैले जर्बजस्ती बसाएको जस्तो लागेको थियो । त्यसपछि बल्ल मैले देखे । मेरो पेट र पछाडीबाट नराम्ररी रगत बगिरहेको थियो । म आत्तिन थाले । मलाई गोली लागेछ, मलाई मद्दत गर, मद्दत गर भनेर चिच्याए । म मेरो छोरी, छोरालाई हेर्न चाहन्थे । मलाई यहा मर्नु नै थिएन ।”

ओबिलाले ५४ बर्षीय सहायक प्रशिक्षक अमेलेटे अबालोले आफूलाई गोली लागेको भन्दै कराइरहेको सुनेका थिए । अबालोको पनि उक्त आक्रमणमा निधन भएको थियो । सैन्य तालिम लिएका एक खेलाडीले प्रतिकार गर्नका लागि हतियार मागेको पनि उनले सुनेको बताउछन् ।

आक्रमणको शुरुवातमै बस ड्राइभर मारियो अद्जुवा नराम्ररी घाइतेपछि टोगो टोली आक्रमणबाट भाग्न सकेको थिएन । टोगोको दस्ता त्यही रोकिएर बस्न बाध्य भयो भने सुरक्षकर्मी र आक्रमणकारीबीच भिषण गोलीबारी चलेको थियो । दोहोरो भिडन्त कति बेरसम्म चल्यो याद नभएपनि सबैजना कम्तिमा पनि आधा घण्टा सम्म जारी रहेको मान्छन् ।

आफ्नो जिन्दगीको सबैभन्दा तनावपूर्ण आधा घण्टाको बारेमा एडिबायोर बताउछन् । “यो कोही एक या दुई जना मान्छेले एक दुई पटक मात्र आक्रमण गरिहेका थिएनन् । हामी आधा घण्टा या शायद त्यो भन्दा बढी समय त्यस्तो स्थितिमा फसेका थियौं । यो मेरो लागि जिन्दगी सबैभन्दा खराब अनुभव थियो । त्यतिखेर सुरक्षाकर्मीहरु नभएको भए अहिले यसरी बोल्ने अवस्था नै आएको हुन्थेन होला,” उनले भने ।

Click to comment

Trending